www.tandavnews.com
Fact ~ In search of truth

दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि

पर्वत ।

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये छ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उहाँकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा जलाइएको हो ।

त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका छ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा सयाँैको सङ्ख्यामा पुगेका नागरिक भावविह्वल बनेका थिए ।

Batas

तुलबहादुर दम्पत्तीलाई छोरा अम्मरबहादुर थापाले दागबत्ती दिएका थिए । पहिरोमा आफ्नो छोरा सम्राट र विविशालाई गुमाएका उनीमाथि छोराछोरीलाई पनि दागबत्ती दिनुपर्ने बाध्यता आइपर्यो । भक्कानिँदै एकैपटक जन्मदिने बाबुआमा र आफैँले जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा उनको मन सम्हालिएको थिएन । कमला विक र उनकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिएका थिए ।

त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षीय दिर्पा थापा र १७ वर्षीय विवेक थापाको बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ । दिर्पा लकडाउनपछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् ।

हराएका जेनिशको खोजीकार्य वर्षाले प्रभावित

पहिरोले पुरिएका नौमध्ये १३ वर्षीय जेनिश विक अझै पनि भेटिएका छैनन् । शनिबार रातिदेखि नै खोजी गरिए पनि उनी अझै फेला नपरेका हुन् । आइतबार दिनभर खोजी भएको थियो भने सोमबार बिहानैदेखि खोजीकार्य थालिएको भए पनि निरन्तरको वर्षाले प्रभावित बनेको छ ।

दिनभर गाउँका सबै बासिन्दा मृतकको शव दाहसंस्कार गर्नका लागि मोदीवेणी घाटतर्फ लागे पनि सुरक्षाकर्मीले साँझ अबेरसम्म खोजी गरेको थियो । आज बिहानबाट पुनः खोजी गर्न शुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दिनभरि खोजीकार्यमा सुरक्षा निकाय जुटिरहेको भए पनि वर्षाले समस्या बनाएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

शनिबार राति ८ बजे आएको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो । थापा परिवारका छ र विक परिवारका तीन जनाको परिवार पुरिएको थियो । थापा परिवारका छ जनाकै शव फेला परेको छ भने विक परिवारका बालक अहिलेसम्म भेटिएका छैनन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.