www.tandavnews.com
Fact ~ In search of truth

राजश्वको दायरा फराकिलो बनाइने : मन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आन्तरिक आम्दानी वृद्धि गर्न करको दायरामा वृद्धि गरिने बताएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट तथा कार्यक्रमका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले व्यवसाय गर्नेले राज्यका कुनै न कुनै निकायमा दर्ता हुनुपर्नेमा जोड दिए ।

सरकारले बजेटमा आन्तरिक राजश्व रु चार अर्ब ६० करोड ८५ लाख सङ्कलन गर्ने लक्ष्य लिएको र राजश्वको दायरा फराकिलो बनाइने उनले जानकारी दिए।

Batas

“हरेक व्यवसाय गर्नेहरु राज्यका निकायहरुमा दर्ता हुनैपर्दछ, व्यक्तिको आम्दानीको हरेक स्रोतबारे राज्यलाई जानकारी हुनुपर्दछ, आम्दानी गरेपछि राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व हुन्छ ।” उनले भने ।

उनले चालू आवमा रु तीन अर्ब २५ करोड आन्तरिक आय अनुमान गरिएकामा हालसम्म ६१ प्रतिशत राजश्व सङ्कलन भएको र जारी बन्दाबन्दीका कारणले लक्ष्य प्राप्ति हुन नसकेको पत्रकारसम्मेलनमा बताए । “जनशक्ति , संरचना तथा सरकारी अङ्ग नभएकाले बजेट खर्च नहुने अवस्था अन्त्य भएको छ । आगामी बजेट कार्यान्वयन हुन्छ । ”उनले भने ।

उनले कोभिड–१९ को महामारीले पारेको असरका आधारमा क्षेत्रगत पुर्नरुत्थानका लागि व्यवसाय जीवन रक्षा कोष स्थापना गरी रु एक अर्ब बजेट विनियोजन गरिएको र शिथिल भएको अर्थतन्त्रलाई पुनःस्थापनाको लागि प्रयोग गर्ने गरी सरोकारवालासँग छलफल गरी मापदण्ड बनाइने जानकारी दिए ।

कोरोना नियन्त्रणका लागि बजेट न्यून भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले रु दुई अर्ब भन्दा बढी रकम विनियोजन गरिएको र प्रत्येक स्थानीय तहलेसमेत बजेट छुट्याउने भएकाले हालको अवस्थामा अभाव नहुने स्पष्ट पारे ।

उनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने र अहिलेको अवस्थामा ५० प्रतिशत आर्थिक गतिविधि खोलेर अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए ।

स्थायीत्वसँगै लक्ष्य प्राप्तिका लागि नयाँ कार्यक्रम थप गर्नुभन्दा पनि पुराना कार्यक्रमलाई निरन्तरता र सम्पन्न गर्नेतर्फ बजेटमा प्राथमिकता दिइएको उनले उल्लेख गरे । सरकारले पहिलोपटक प्रदेशभित्रका सञ्चार माध्यमका लागि लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गरेको जानकारी दिँदै उनले सूचना विभागको मापदण्डका आधारमा वितरण गरिने योजना रहेको बताए ।

सरकारले सोमबार आर्थिक वर्ष २०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट प्रदेशसभा बैठकमा पेश गरेको थियो । प्रस्तुत बजेटमा चालू खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार तथा पूँजीगतर्फ रु १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन गरिएको छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.