www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

पोखरा ।

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाले गत वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

पढ्नुहोस् पुर्णपाठ :

Batas

गण्डकी प्रदेशका सांसदज्यूहरु, नगर सभासदज्यूहरु, सहरी योजना आयोगका उपाध्यक्षज्यू तथा सदस्यहरु,
राष्ट्रसेवक कर्मचारी एवं पत्रकार मित्रहरु
उपस्थित सम्पूर्ण महानुभावहरु ।

– नेपालको संविधानले व्यवस्था गरे बमोजिम विकास र सम्वृद्धिका लागि स्थानीय सरकारहरु सञ्चालनमा आई संघीय लोकतान्त्रिक गणतन्त्र पूर्ण संस्थागत हुनेतर्फ उन्मुख भएको छ । संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त र मर्म अनुसार संघीय सरकार गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतलाई आत्मसाथ गर्दै स्थानीय सरकार सञ्चालनको तीन वर्षे सिकाइ र भोगाइमार्फत् थप उर्जा संगाल्दै पोखरा महानगरपालिकाको सातौं नगरसभामा आ.व.२०७७÷२०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरव महशुस गरेको छु ।

– राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, र जनजीविका प्राप्तिको आन्दोलनका विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सहिदको सपना र मार्गदर्शन अनुरुपको विकासलाई सार्थक तुल्याउने यात्रामा हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षा यस घडीमा गर्न चाहान्छु ।

– विश्व अहिले कोरोना भाइरसबाट आक्रान्त छ । यसको कारणले विश्वमा ४ लाख ७२ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसको कारणले ज्यान गुमाउने नेपालीसहित सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित भई उपचाररत नगरवासी, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी लगायत सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कोरोना भाइरसबाट पोखरा महानगरलाई सुरक्षित राख्न महानगरले बलबुताले भ्याएसम्म प्रयास गरिरहेको छ । महानगरवासीले पनि नगरलाई सुरक्षित राख्न आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न आव्हान गर्दछु । साथै कोरोना रोकथाम, उपचार र नियन्त्रणमा महानगरलाई साथ दिनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । अग्रपंक्तीमा रहेर स्वास्थ्य सेवा प्रवाह गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गर्दछु ।

– पोखरा नगरका आफ्नै खाले विशिष्टता र विविधताहरु रहेका छन् । त्यस्तो विशिष्टता र विविधतालाई सन्तुलित ढंगले व्यवस्थापन गर्नुपर्दछ भन्ने मान्यता रही हामी हाम्रा अभियानलाई अगाडि बढाइरहेका छौं । पोखरा महानगरपालिकाको विशिष्ठिकृत भौगोलिक तथा सामाजिक संरचना अन्तर्गत सघन सहरी क्षेत्र, सहरोन्मुख क्षेत्र र ग्रामीण क्षेत्रमा फरक फरक प्रकारका आर्थिक, सामाजिक तथा साँस्कृतिक चरित्रहरु रहेका छन र विगत तीन वर्ष देखि नै महानगरपालिकाले यी नै विशिष्ठता अनुरुप विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

– विगत ३ वर्षका अनुभवहरुबाट सिक्दै यस आर्थिक वर्षमा सहरी योजना आयोग गठन गरेर महानगरपालिकाले दीर्घकालीन दृष्टि निर्माण गरी सो मा आधारित रहेर यस वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेका छौं ।

– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको कारण उत्पन्न असहज परिस्थितिले मानव समुदायको आवश्यकता र प्राथामिकतालाइ नै बदलिदिएकोछ । यस परिस्थितीबाट विश्वले छुटकरा पाउन थप समय लाग्ने सक्ने हुनाले यसका असरहरुलाई न्यूनीकरण गरेर जनजीवनलाई नियमित तुल्याउन नयाँ रणनीति अवलम्बन गर्नुपर्ने देखिएकाले हाम्रा विकासका लक्ष्य तथा प्राथामिकताहरुलाई समेत पुर्नपरिभाषित गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस महामारी पश्चात भएको लकडाउनको अवधि चैत ११ देखि जेठ ३२ गते सम्ममा महानगरमा मात्रै करिब रु.१६ अरब बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । यो क्षतिले महानगरपालिकाको आन्तरिक राजश्व संकलन, विकासका कार्यक्रमहरु र नियमित सेवा प्रवाहमा प्रतिकुल असर गरेको छ । यसर्थ विषम परिस्थितिको सामाना गर्दै यस महामारीका सम्भावित असरहरुलाई न्यूनीकरण गर्न र महानगरवासीहरुको जीवन रक्षा गर्दै विकास गतिविधिहरुलाई निरन्तरता दिने गरी योजना बनाइएको छ ।

– नेपालको संविधान २०७२ ले परिकल्पना गरेको समाजवाद उन्मुख समाज तथा दिगो विकास लक्ष्य २०३० ले निर्दृष्ट गरेको कोही पनि पछाडि नरहुन भन्ने लक्ष्यलाई साकार पार्ने आधार निर्माण गर्ने गरी विगत ३ वर्ष देखि अवलम्बन गरीएका नीतिहरुलाइ अझ थप परिमार्जन गरी यस आर्थिक वर्षमा प्रस्तुत गरिएको छ । यस सन्दर्भमा राष्ट्रिय योजना आयोगले तयार गरेको पन्ध्रौ पञ्च वर्षीय योजना, गण्डकी प्रदेश सरकारले तयार गरेको प्रथम पञ्चवर्षीय योजना, स्थानीय सरकार सञ्चालन ऐन २०७४, नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम, चालू आवधिक योजना, पोखरा महानगरको वस्तुगत अवस्था, विभिन्न राजनीतिक दल, संघ संस्था, प्रवुद्ध वर्ग तथा नागरिक समाजका प्रतिनिधिहरुको सुझावहरुका साथै कार्य अनुभवहरुलाई महत्वपूर्ण आधारको रुपमा लिएको छ ।

नगर सभासद्ज्यूहरू

पोखरा महानगरपालिकामा चालू आर्थिक वर्षमा सम्पादन भएका महत्वपूर्ण क्रियालाप र उपलब्धिहरूलाई बुँदागत रूपमा पेश गर्ने अनुमति चाहन्छु ।
१. पूर्वाधारतर्फ

– आर्थिक वर्ष २०७६/७७ मा पूर्वाधार विकासलाई प्राधमिकतामा राख्दै प्राथमिकताको आधारमा अगाडि बढाइएका सडकहरु आव २०७६÷७७ सम्पन्न गर्ने गरी रुः ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन भएको थियो । उक्त कार्यक्रम मार्फत बाह्र वटा एज्ञ सडकहरुमा ६० किमी बाटो ग्राबेल गरिएको छ । १३ किमी बाटो कालो पत्रे भएको छ । यसरी एज्ञ सडकहरुमा ६० प्रतिशत भौतिक प्रगति र ४८.६ प्रतिशत वित्तीय प्रगति भएको छ । समपुरक अनुदान बजेटबाट १० किमी ग्राबेल र ६ किमी कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । उक्त योजनाहरुको भौतिक प्रगति ४१ दशमवल चार तीन प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव पाँच पाँच प्रतिशत रहेको छ । आव २०७६÷७७ मा ८ वटा मोटरेबल पुलहरु मध्ये घोरकुना मोटरेबल, भोटीखोला मोटरेबल पुल, मोटरेबल पुल सम्पन्नको चरणमा पुगेका र अन्य चार वटा पुलहरुको भूमिगत संरचना तयार भएको छ । सिर्जना चोकस्थित आकाशे पुलको फाउन्डेसनको काम सम्पन्न भई स्टिल फ्रेब्रिकेसनको काम भइरहेको छ ।

– गत वर्षदेखि सञ्चालित उज्यालो पोखरा कार्यक्रमलाई निरन्तरता दिँदै सडक छेउछाउमा रहेका सोलार बत्तीलाई मर्मत गर्ने कार्य नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा गरी स्मार्ट सडक बत्तीको व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छ । साथै महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक लगायतका स्थानमा ट्राफिक लाइट व्यवस्थापनको लागि आवश्यक सर्भे डिजाइन सम्पन्न भइसकेको र महेन्द्रपुलमा ट्राफिक लाइट निर्माण कार्यको लागि बोलपत्र आव्हान गरिएको छ ।

– मुख्य सहरी सडकहरुको स्तर उन्नति गर्ने क्रममा पोखरा महानगरपालिका पूर्वाधार कार्यालय कास्की र सडक विभाग गरी रु. ४० करोड लागतमा अस्फाल्ट कंक्रिट गर्नका लागि टेन्डर प्रक्रिया सकिएर काम सुरु हुने चरणमा पुगेको छ । भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै प्राविधिक व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि महानगरपालिकाको आफ्नै गुणस्तर मापन प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । मेयर नमुना सडक निर्माण अन्तर्गत पोखरा वडा न १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ)ं सडक, वडा नम्बर १० को राममार्ग सडक निमार्ण भइरहेको छ । चालू आर्थिक वर्षमा १७ किमी कालोपत्र (पिच) ७० किमी ग्राभेल ९.११ किमी बाटो ढलान, १२ किमी बाटो स्तरोन्नति, ३ दशमलव ५ किमी नाला निमार्ण, ४१ दशमलव ५ किमी फुटट्राक निर्माण, ५ किमी ढल तथा नाली निर्माण र २ दशमलव ५ किमी खानेपानी पाइपलाइन विस्तार गरिएको छ ।

– वडा नम्बर १८ मा राष्ट्रिय विभूति तथा पार्कसहित खुल्ला व्यायमशाला निर्माण गरिएको छ । अन्य २ वटा वडामा पार्कसहित खुल्ला व्यायामशाला निर्माण गर्नुका साथै १७ वटा वडामा खुल्ला व्यायामशाला निर्माण गरिएको छ । लेक टु लेक, केभ टु केभ जोड्ने सडकको स्तरोन्नति गरिएको छ, फेवातालदेखि बेगनासताल सम्म सिधा बस सेवा सञ्चालन गरिएको छ । पोखरा सभागृह मर्मत सम्भार कार्य अगाडि बढाइएको छ ।

– सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधार निर्माण सराङकोट पर्यटन पूर्वाधार निर्माण, पातलो छाँगोमा सिसाकोपुल निर्माण लगायतका आयोजनाहरु सम्झौताको प्रक्रियामा रहेका छन् । पोखरा ३२ लामेआहालमा पोखरा क्षेत्रीय बसपार्क निर्माणको लागि प्रदेश सरकारसँग समन्वय गरिएको छ । ग्रामीण कृषि सडक स्तरोन्नति तथा अन्य सहरी सडक मर्मत सम्भार तथा विस्तार गरिएको छ ।

– सडक सबै पूर्वाधारको पनि पूर्वाधार हो । क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगर पोखराले सडक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको छ । महानगरका सबै ३३ वटै वडाहरुलाई एक आपसमा स्तरीय सडक सञ्जालबाट जोड्ने लक्ष्य राखियता पनि यस आर्थिक वर्षमा कोरोना महामारीको कारण लक्ष्य प्राप्ति हुन नसकेता पनि आगामी आर्थिक वर्षमा समेत सडक सञ्जाल कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ ।

२. भवन निर्माणतर्फ

– चालू आर्थिक वर्षमा ५ वटा सामुदायिक भवन निर्माण कार्य सम्पन्न गरिएको छ । १ गुम्बा, २ मन्दिर, २ शवदाह गृह, झोलुगे पुल २, पार्क २, राष्ट्रिय विभूति तथा सहिद पार्कमा शालिक निर्माण, ५ स्थानामा आधुनिक शांैचालय निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर २, ११, १२, ३०, ३२, १९ र २२ का वडा कार्यालय भवन निर्माण कार्य अगाडि बढाइएको छ । जस मध्ये वडा नम्बर ११, १२, २२, ३०,३२ सम्पन्न भइसकेको छ । वडा नम्बर २ को कार्यलयको भवन निर्माण ७० प्रतिशत सकिएको र वडा नम्बर १९ वडा कार्यलयको ५० प्रतिशत कार्य सकिएको छ । यस अन्तर्गत भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत भएको अनुमान छ ।

३. खानेपानी तर्फ

– पोखरा महानगरपालिका अन्र्तगत साविक लेखनाथबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन चालू आर्थिक वर्षमा लेखनाथ साना सहरी खानेपानी आयोजनाको नरशपुर, थुमाकोडाँडा, आरुपाटामा खानेपानीको ट्यांकी निर्माण कार्य सम्पन्न भएको छ । खानेपानीको लाइन समेत विस्तार गरी घर घरमा धारा जोड्ने र्काय भइरहेको छ । पोखरा २१ मा र ३३ सहलगानी खानेपानी आयोजना अगाडि बढाइएको छ । बेगनास सहलगानी खानेपानी आयोजना, लामागाउँ खानेपानी आयोजना अगाडि बढाइएको छ ।

– पोखरा महानगरपालिको बजार क्षेत्रमा प्रत्येक घर घरमा शुद्ध पानी वितरण गर्ने उद्देश्यका साथ संचालित ७ अर्ब रुपैयाको व्क्ष्ऋब् खानेपानी परियोजनाको काम अगाडि बढिरहेको छ । आरटियो रोड खानेपानी योजना, काहुँ खानेपानी योजना, सराङकोट खानेपानी योजना साथै वडा नम्बर २८,२४,३३,२१ र २५मा खानेपानी योजनाहरु संचालन भइरहेका छन् । महानगर भित्र ६ हजार ३ सय घरधुरीमा खानेपानीको समस्या रहेकाले आर्थिक वर्ष ७७/७८ मा महानगर भित्रका सम्पूर्ण घरहरुमा १ घर एक धाराको व्यवस्था गरी पूर्ण खानेपानीको सुविधायुक्त सहर घोषणा गरिने छ ।

४. ताल संरक्षण

– फेवाताल संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा सिल्टेसन ड्याम निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अँधेरी खोला सिल्टेसन ड्याम, घाटीछिना सिल्टेसन ड्याम र बेतेनी खोला सिल्टेसन ड्यामको निर्माण कार्य सकिएको छ । लौरुक सिल्टेसन ड्याम निर्माणाधीन अवस्थामा छ । यी ड्यामहरुले फेवाताल संरक्षणमा महत्वपूर्ण योगदान दिनेछन् । फेवाताल संरक्षणका लागि फेवातालमा बगेर आउने अन्य खोला तथा खोल्सीहरुमा ग्याबिन पर्खाल तथा चेक ड्यामको निर्माण कार्य भइरहेको छ ।

५. स्मार्ट सिटी

– स्मार्ट सिटी पूर्वाधार अन्तर्गत सबै वडा कार्यालयमा इन्टरनेट इन्ट्रानेट प्रणाली जडान गरी महानगर र वडाको सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै लगिएको र महाशाखा÷ शाखाहरुमा नेटवर्किङ गरी इ—गभर्नेसमा जोड दिइएको छ । पोखराका मुख्य चोकहरुमा सिसिटिभी क्यामरा जडान गरिनुका साथै मुख्य बजार क्षेत्रमा सिसिटिभी जडानको लागि सर्भे सम्पन्न गरिएको छ । बजार क्षेत्रमा फ्रि वाइफाइको व्यवस्था गरिएको छ । सम्पूर्ण वडाहरुमा इन्टरनेटको पहँुच पु¥याइ अनलाइन नक्सा पास सिस्टम लागू गरिएको छ ।

६. न्याय सम्पादन
– नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तहको न्यायिक अधिकार एवं दायित्वको संवैधानिक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै स्थानीय विवादको स्थानीय स्तरमा नै समाधान गर्ने गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्था अनुरुप पोखरा महानगरपालिका न्यायिक समितिले आफ्नो क्षेत्राधिकार भित्र रही पोखरा महानगरपालिका न्यायिक समितिमा परेका २३ वटा उजुरी मध्ये २ वटा उजुरीको दरपिठ भएको छ । ११ वटाको न्यायिक निरुपण भइसककेको छ । मेलमिलापमा गएको जम्मा उजुरी निवेदन १० वटा मध्ये ५ वटा मेलमिलाप भएको एक मेलमिलाप हुन नसकेको भनी प्रतिवेदन प्राप्त भएको र बाँकी ४ वटा उजुरीहरुको मेलमिलाप प्रक्रियामा रहेको छ । त्यसै गरी न्यायिक समितिको निर्णयबाट बन्दाबन्दीको समयमा नागरिकहरुको न्यायमा पहुँच र सहजता होस भन्ने उद्देश्यले अनलाइन उजुरी लिने कार्य भएकोमा अनलाइन मार्फत् दर्ता भएको उजुरी संख्या २ वटा रहेका छन जुन न्यायिक निरुपणको प्रक्रियमा छन् ।

– स्थानीय तहका लागि न्यायिक समितिको अभ्यास र यस बारेमा नागरिकलाई सूचित गर्ने हेतुले जानकारी पर्चा प्रकाशन गरी वितरण गरिएको छ । स्थानीय स्तरमा नै विवादको समाधान गर्न र मेलमिलाप प्रक्रिया मार्फत दिगो सम्बन्ध स्थापित गर्न मेलमिलापको माध्यमलाई प्राथमिकता राखिएको छ । महानगरपालिकामा १७४ जना मेलमिलापकर्ता सूचिकृत भएका छन । गत आ.व.०७५÷०७६ मा १० वटा वडामा वडा मेलमिलाप केन्द्र स्थापना भएकोमा यस आर्थिक वर्षमा १९ वटा वडामा वडा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । हाल सम्म जम्मा २९ वटा वडामा वडा मेलमिलाप केन्द्र स्थापना भइसकेको छ । आगामी आवमा यसलाई निरन्तरता दिने नीति लिइनेछ ।

७. हामी बनाउँछौ हाम्रो महानगर

– यस आर्थिक वर्षमा कोरोनाको कारण हामी बनाउँछौ हाम्रो महानगर कार्यक्रम सञ्चालन कठिनाइ भयो । आगामी वर्ष टोल बस्तीमा सञ्चालन हुने विकास निर्माणको कार्यहरुमा महानगर र टोलबासीको ५०/५० प्रतिशतको साझेदारीमा योजना अगाडि बढाउने नीति लिइएको छ ।

८. हाम्रो प्रयास, अन्तर्राष्ट्रिय सहर निर्माणको अभ्यास

– यस आर्थिक वर्षमा शान्तिनगरचोकदेखि हल्लनचोकसम्मको बस्तीलाई रंगिन क्लस्टरमा विस्तार कार्य अगाडि बढेको छ । महानगरपालिकाको भवन आचारसंहिता तयार भएको छ । चोक तथा आइल्यान्डलाई सौन्दर्यकरण गर्नुका साथै व्यवस्थित अपांगमैत्री फुटपाथ बनाउने कार्य प्रारम्भ भई सम्पन्नको चरणमा रहेको छ । महानगरपालिका क्षेत्र भित्र निर्माण गरिएका मुख्य तथा कनेक्टिङ सडकको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याइएको छ ।

९. उपप्रमुखसँग महिला

– महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज निर्माण गर्न सम्भव छैन् । यसै तथ्यलाई मध्यनगर गर्दै पोखरा महानगरले उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरुको क्षमता अभिवृद्धि गराउँदै आर्थिक रुपमा सवल र सक्षम बनाउँदै उद्यमशिलताको विकास गराउन कार्यक्रम सञ्चालन भएको छ । यस अन्तर्गत आर्थिक वर्ष २०७६÷७७ मा तीन करोड बजेट व्यवस्था गरिएकोमा ३३ वडाबाट कार्यक्रम माग गरी सहकारी, समूहहरु, व्यक्तिगत गरी १ सय २१ जनासँग सम्झौता गरिएको थियो । चालू आवमा कृषि, पशु, सिलाइ केन्द्र र दैनिक खाद्य सामग्री वितरण गर्ने व्यवसायीहरुलाई प्राथमिकतामा राखेर ७४ जनालाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत लगानी गरिएको छ । आगामी आर्थिक वर्षमा यस कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

१०. सामाजिक सुरक्षा

– ज्येष्ठ नागरिक, एकल महिला र दलित नागरिकहरुलाई परिचयपत्र वितरण गरी सामाजिक सुरक्षा सम्बन्धी कार्यलाई सरलीकरण गरिएको छ । जीविकोपार्जनमा सहयोगी बन्ने आयमूलक तथा सीपमूलक कार्यक्रम वडा वडामा सञ्चालन गरिएको छ । प्रदेश सरकारसँगको समन्वयमा महानगरपालिकाले महिला सुरक्षित आवासगृह सञ्चालन ल्याएको छ । वेवारिसे, अभिभावक विहीन, हिंसा पीडित, सडक र श्रमिक बालबालिकाहरुको उद्धार गरी राहत पुर्नस्थापना केन्द्रमा व्यवस्थापन गरिएको छ । विभिन्न वर्गका अपांगता भएका १ सय ६५ जनालाई परिचयपत्र वितरण गरिएको छ । बाल अधिकार सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । बाल क्लब गठन, वडा स्तरीय बाल सञ्जाल र महानगर स्तरीय बाल सञ्जाल गठन गरिएको छ । बालबालिकाको नेतृत्व तथा क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको छ । बाल उद्धार कोष स्थापना गरिएको छ । महानगर भित्र सञ्चालित विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग सम्मन्वय गरी सामाजिक विकास अन्तर्गत विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको छ । हिम्सा पीडित, वेवारिसे र मानसिक अवस्था ठिक नभएका महिलाहरुलाई उद्धार र पुर्नस्थापना गरिएको छ । आव २०७७÷०७८ मा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।

११. शिक्षा

– महानगर शिक्षा नियमावली निर्माण गरी महानगरपालिकाबाटै माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकामा शिक्षा परिषद् गठन गरी पोखरा महानगरपालिको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अध्ययन दल निर्माण गरी अध्ययन प्रतिवेदन तयार पारिएको छ । सोही प्रतिवेदनले दिएको सुझावहरुलाई कार्यान्वन गरी शैक्षिक गतिविधि अगाडि बढाइएको छ ।

– बालमैत्री शिक्षाको अवधारणा अनुरुप धुलोमुक्त कक्षा सञ्चालनका लागि विद्यालयहरुमा ह्वाइटबोर्ड वितरण र बालमैत्री शिक्षण पद्धतिको अवलम्बन गरिएको छ । महानगर भित्र रहेको सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोमुक्त बनाइएको छ । गण्डकी बहु प्राविधिक शिक्षालयको स्थापना गरिएको छ । यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ र अटो मोबाइल इन्जिनियरिङमा कक्षा सञ्चालन गरिने छ । पोखरा महानगरपालिका वडा नम्बर २९ स्थित जनप्रकाश मावि सँग गण्डकी बहु प्राविधिक शिक्षालय सञ्चालन गर्न सम्झौता गरिएको छ । सोही वडामा जग्गा व्यवस्थापन गरी शिक्षालयको स्थायी संरचना निमार्ण गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । गण्डकी बहु प्राविधिक शिक्षालयको सञ्चालक समिति गंठन गरी सञ्चालनार्थ आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरिएको छ । सहरी योजना आयोग अन्तर्गत तालिम केन्द्र स्थापना गरी बालबिकास केन्द्र र भ्ऋम् शिक्षिका सशत्तीकरण तालिम सञ्चालन गरिएको थियो । कक्षा ५ र ८ को परीक्षा प्रणालीलाई सुधार गरी शैक्षिक गतिविधिहरुमा गुणस्तर वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

– कोभिड १९ को कारण सिर्जित परिस्थितिले शिक्षामा पारेको प्रभावलाइ न्यूनीकरण गर्न महानगरको पहलमा पोखरा शैक्षिक अभियान अन्तर्गत टेलिभिजन कार्यक्रम उत्पादन गरी प्रसारण गरिएको छ । शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्न र यस विषम परिस्थितिमा शैक्षिक गतिविधिहरुलाई सहज रुपमा सञ्चालन गर्न शैक्षिक सरोकारवालाहरुसँग निरन्तर परामर्श र सहजीकरण गरिएको छ । शैक्षिक सरोकारवालाहरुसँगको साझेदारीलाई थप प्रभावकारी बनाइनेछ ।

१२. कृषितर्फ

– पोखरा महानगरपालिकामा यस वर्ष ४ वटा किसान बजार पोखरा १६ र १९ ठूलीपोखरी, पोखरा १३, काहुँखोला तथा पोखरा १७ बिरौटामा, पोखरा २२ रतिपोखरीमा कृषि उपज संकलन केन्द्र निर्माण कार्य सम्पन्न गरी स्थानीय कृषि उत्पादन बिक्री वितरण भएको छ । पोखरा महानगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघको साझेदारीमा आधुनिक कृषि उपज खरिद बिक्री केन्द्र पोखरा २७ तालचोकामा निर्माण सम्पन्न भई कस्टम हायरिंग केन्द्र समेतको कृषक तथा उपभोक्ताले सेवा लिन पाउने गरी आवश्यक व्यवस्था गरिएको छ ।

– बाली सुरक्षण तथा बिमा कार्यक्रम अन्तर्गत यस वर्ष पोखरा महानगरपालिकाले बिमामा प्रोत्साहनको लागि किसानले तिर्नुपर्ने बिमा प्रिमियम रकममा ५० प्रतिशत अनुदान र समूह सहकारीको लागि ७५ प्रतिशत अनुदानको व्यवस्था गर्नुका साथै युवा व्यवसायीका बीच एक हप्ता एक दिन, खेतबारीमा एक छिन कार्यक्रम सञ्चालन भएको छ । कृषिमा यान्त्रीकरणतर्फ कृषक फर्म, समूह, सहकारीको मागको आधारमा आधुनिक उपकरण वितरण गर्नुका साथै जेठो बूढो धान संरक्षणका लागि १० टन पोख्रेली जेठोबूढो धानको बीउ वितरण गरिएको छ । ६० वटा स्थायी प्लास्टिक घर निर्माण र ४ सय ५० वटा अस्थायी प्लास्टिक घर निर्माण गरेर बेमौसमी तरकारी खेती प्रवद्र्धन गरी तरकारी आयातलाई न्यूनीकरण गर्ने कार्य गरिएको छ । मेयर प्रविधि मैत्री कृषि परियोजना सञ्चालन गरी किसानलाई आर्थिक सहयोग गरिएको छ

१३. वातावरण, जलवायु परिवर्तन तथा जोखिम व्यवस्थापन

– घाटगद्दीहरुको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन, चौतारी एवं पोखरी संरक्षण, पार्क व्यवस्थापन र भूक्षय नियन्त्रण सम्बन्धी कार्य गरिएको छ । फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सिल्टेसन ड्याम निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । दिपाङतालमा पर्यावरण तथा संरक्षण, कश्यप ताल संरक्षणको कार्यक्रम संचालन गरिएको छ । फेवा फेरो निर्माणका लागि अध्ययन गर्नुका साथै वडा न २९ मा रहेको खुइलेडाँडा पर्यटकीय गन्तव्य व्यवस्थापन कार्य अगाडि बढेको छ । राष्ट्रिय विभूति तथा सहिद पार्क संरक्षण तथा व्यवस्थापन, केआइ सिंह पुल सेती गर्ज, कश्यप धाम संरक्षण,रवीन्द्र बाटिका ,रवीन्द्र स्मृति पार्क संरक्षणका साथै नदिपुर, पालिखेचोक, विकल्प ग्रिन पार्क लगायतको पार्क निर्माण गर्नुका साथै पोखरा २५ र पोखरा ३० मा व्यवस्थित दाह संस्कार स्थल निर्माणको कार्य सम्पन्न भएका छन भने गाइघाटमा अत्याधुनिक दाहसंस्कार स्थल निर्माण कार्य अगाडि बढेको छ ।

१८. स्वास्थ्य तर्फ

– महानगरका वडामा संचालित आधारभूत स्वास्थ्य केन्द्र मार्फत सबैका लागि स्वास्थ्य कार्यक्रम अगाडि बढाइएको छ । आर्थिक वर्षको सुरुवातमा डेंगु रोग न्यूनीकरणका लागि र आर्थिक वर्षको अन्त्य तिर कोरोना भाइरसको महामारीको संक्रमण फैलन नदिनका लागि महानगर प्रयासरत रहनुका साथै यस आवमा आमा सुरक्षित कार्यक्रम अन्तर्गत सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकहरुलाई घुम्ती स्वास्थ्य शिविर मार्फत् वडास्तरमै निशुल्क स्वास्थ्य जाँच एवं उपचारको विशेष व्यवस्थालाई निरन्तरता दिँदै समुदायस्तरमै महिलाहरुको विशेष स्वास्थ्य समस्या जस्तैः पाठेघरको समस्या, स्तन क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्याको स्क्रिनिंग तथा उपचारको लागि रिफर गर्ने गरिएको छ । निशुल्क औषधी तथा स्वास्थ्य सामग्रीको नियमित आपूर्तिको सुनिश्चितता गरिएको छ । गर्भवती एवं सुत्केरी महिला तथा शिशुहरुको पोषण प्रवद्र्धन एवं खोप सेवालाई थप प्रभावकारी बनाउनुका साथै सुत्केरी पोषण राहत कार्यक्रम सञ्चालन गरिएको छ । कोभिड १९ को संक्रमण फैलन नदिनका लागि क्वारेन्टाइन व्यवस्थापन गर्नुका साथै परीक्षण कार्य अगाडि बढाइएको छ । लामाचौर र राखी स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा पुग्नुका साथै हेम्जा र कास्कीकोटमा अत्याधुनिक स्वास्थ्य चौकी निर्माण प्रक्रिया अगाडि बढाइएको छ भने अन्य स्थानमा स्वास्थ्य चौकी निर्माणको कार्य अगाडि बढाइएको छ ।

कोभिड १९ नियन्त्रणमा पोखरा महानगरपालिकाको प्रयास

– विश्व नै यतिबेला अकल्पिनिय महामारी रोग कोरोना (कोभिड १९) भाईरसको प्रकोपले आक्रान्त भएको व्यहोरा यहाहरु सबैलाई जानकारी नै रहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि संघीय सरकारले २०७६ चैत्र ११ गते देखि लकडाउन घोषणा गरे लगत्तै कोरोना भाईरसको प्रकोप नियन्त्रण गरी नागरिकहरुको जिवन रक्षा गर्ने प्रमुख दायीत्व स्थानीय सरकारको तथ्यलाई आत्मसात गरि पोखरा महानगरपालिकाले तत्कालै २०७६ चैत १० गते कारोना संक्रमण नियन्त्रणको प्रयास थालनी गरेको थियो ।

– कोभिड १९ संक्रमणको प्रकोप बढ्न सक्ने सम्भावनलाई दृष्टिगत गरी क्वारेन्टाईनको व्यवस्थापन गर्न आवश्यक भएकाले निम्न स्थानमा क्वारेन्टाइन संचालन गरेका छौं ।

१. लेकसिटि अस्पताल
२. कृषि तालिम केन्द्र, रेशम खेती आवास भवन,मालेपाटन
३. बाराही मा.वि. वडा नं. ५
४. जनप्रिय मा.वि. वडा नं. ८
५. शिवशक्ति मा.वि. वडा नं. ११
६. बलभद्र मा.वि. वडा नं. १४
७. इन्द्रराज्यलक्ष्मी मा.वि. लामाचौर वडा नं. १९
८. जनप्रकाश मा.वि. वडा नं. २९
९. त्रिभुवन शान्ति मा.वि. वडा नं. ३०
१०.. पद्म नर्सिड होम, नदीपुर

उल्लेख भएका मध्ये पदम नर्सिङ होम नदीपुरलाई महिला क्वारेन्टाईनको रुपमा संचालन गरिएको छ ।

क्वारेन्टाईन स्थापना पश्चात ४६३ जना क्वारेन्टाईनमा बसेका बसेका थिए । यस अवधिमा ४६६ जनाको पि.सि.आर. परीक्षण गरिएकोमा १६ जनाको पोजेटिभ रिपोर्ट आई आइसोलेसनमा गएको, २६८ जना परीक्षण पछि घर फिर्ता गएको र १८७ जना क्वारेन्टाईनमा रहेको व्यहोरा जानकारी गराउन चाहान्छु ।

राहत वितरण सम्बन्धी कार्य

– कोभिड १९ को प्रकोपको कारण घोषणा भएको लकडाउनको कारण रोजगारी गुमाउन पुगेका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न परिवारलाई राहत उपलव्ध गराउन महानगरपलिकाले कोभिड १९ प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।

१९. पशु सेवातर्फ

– पोखरा महानगरपालिकाले संचालन गरेका १० पशुसेवा केन्द्र मार्फत पशु सम्बन्धी ३७ औषधी निशुल्क वितरण गर्ने कार्य निरन्तरता दिइएको छ । व्यवसायिक रुपमा दर्ता भएका सबै पशु फर्महरुलाई निश्चित अनुदानको व्यवस्था गरिएको छ । बाँझो जग्गालाई उपयोग गर्न १ हजार ७ सय ५३ रोपनी बाँझो जग्गामा उन्नतघाँस लगाए वापतप्रति रोपनी रु. ३ हजार अनुदान वितरण गर्ने व्यवस्था मिलाइएको छ । रेबिज र खोरेत खोप रोकथामका लागि निशुल्क खोप अभियान संचालन गरिएको छ । स्थानिथ तहमा पशुपालन प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदानको प्रबन्ध गराउनुका साथै छाडा चौपायाको ब्यवस्थापन गरिएको छ ।

अतिथिगण तथा नगर सभासद् मित्रहरू

अब म, यसै आर्थिक वर्षदेखि महानगरपालिकाले अवलम्बन गर्ने विकासका निर्देशक सिद्धान्तहरु, लक्ष्य, उद्देश्य एवं रणनीतिहरु प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

पोखरा महानगरपालिकालाई ‘समुन्नत पर्यटकीय पोखरा’ सोचलाई व्यवहारमा रुपान्तरण गर्न लागि उल्लेखीत मार्ग निर्देशित सिद्धान्तहरु विकास गरिने छ ।

१. नागरिकको मौलिक हककोे संरक्षण, सामाजिक सुरक्षा एवं आत्म सम्मानको सुनिश्चित गर्ने ।
२. नागरिकहरुलाइ संगठित गर्दै सहभागितामूलक तवरले स्थानीय स्तरमा पूँजी निर्माण गरी ज्ञान, सिप र प्रविधिमा आधारित हरित अर्थतन्त्रको विकास गर्ने ।
३. विकास साझेदारहरुसँग सहकार्य गर्दै वातावरणीय सन्तुलन, जैविक विविधता, प्राकृतिक स्रोतहरु, सामाजिक तथा सांस्कृतिक स्रोतहरुको संरक्षणसहितको दिगो, समावेशी र उत्थानशील भौतिक पूर्वाधारहरु निर्माण गर्ने ।
६. पारदर्शिता, जवाफदेहिता, सदाचारसहितको सार्वजनीक प्रशासन, सुसूचित नागरिकसहितको सहभागितामूलक पद्धति प्रवद्र्धन गर्दै सामाजिक न्याय तथा सुशासन सुनिश्चित गरिने छ ।
७. दिगो विकासको लक्ष्य स्थानीयकरण गरी सामाजिक न्याय सहितको समाजवाद उन्मुख समाज निर्माणको आधार तयार गर्ने ।

पोखरा महानगरपालिकाले अवलम्बन गरेका ७ वुँदे मार्ग निर्देशक सिद्धान्तमा आधारित रहेर ‘नीला तालहरु, समृद्ध संस्कृति, सुरक्षित सहर ः वैज्ञानीक दृष्टिकोण, उत्थानशील तथा समावेशी भौतिक पूर्वाधार’ विकासका नीतिहरु तय गरिएको छ ।

१. आर्थिक आधुनिकरण, सहकारी तथा निजी क्षेत्रको सवलीकरण
२. जनशक्ति विकास तथा ज्ञानमा आधारित जैविक तथा हरित अर्थतन्त्र सहितको दिगो विकास
३. सुशासन तथा संस्थागत संरचना सहितको सामाजिक विकास
४. सन्तुलित पर्यावरण, समावेशी तथा उत्थानशील पूर्वाधार
उपरोक्त नीतिहरुसँगै निम्न लिखित अन्तरसम्बन्धित क्षेत्रहरुलाई ध्यान दिइने छ ।
१. लैगिंक तथा जातीय समानतासहितको सहभागिता
२. विज्ञान, प्रविधि, सूचना तथा सञ्चार
३. जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण तथा उत्थानशिलता
४. संघ तथा प्रदेशका नीति तथा कार्यक्रमहरुसँग समन्वय
५. दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण

पोखरा महानगरपालिकामा कार्यरत विकास साझेदारहरु
यस आर्थिक वर्षमा योजनाको कार्यान्वयनका लागि पोखरा महानगरपालिका भित्र निम्न लिखित सरोकारवालाहरुको भूमिका महत्वपूर्ण रहनेछ । उपलब्ध स्रोत र साधनहरुको उच्चतम उपयोग गर्दै व्यवस्थापनमा दक्षता हासिल गरी आम नागरिकको समन्नतिको चाहना परिपूर्ति गर्न महानगर प्रतिबद्ध छ । यसका लागि महानगरले आगामी २५ वर्षको दीर्घकालीन सोच ‘समुन्नत पर्यटकीय पोखरा’ तय गरी सोही अनुरुप रणनीतिक योजना तर्जुमा गरेर कार्यान्वयनमा ल्याइने छ । यस नीति तथा कार्यक्रमको कार्यान्वयनमा उल्लेखित सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने छ ।

१. राजनीतिक दलहरु

नीति तथा कार्याक्रमको कार्यान्वयनको लागि सबै राजनीतिक दलहरुको भूमिका अपरिहार्य छ । महानगरपालिका सबै राजनीतिक दलको सहयोगको अपेक्षा गर्दछ । यी कार्यक्रमहरुको बारेमा नगरपालिकवासीहरुलाई सुसूचित गराउन, उनीहरुको सकारात्मक धारणा निर्माण गर्न कार्यक्रमहरुको कार्यान्वयनको लागि जनसहभागिता वृद्धि गर्न र स्रोत परिचालनमा महत्वपूर्ण भूमिका रहनेछ ।
२. सहकारी संस्थाहरु
अर्थतन्त्रको महत्वपूर्ण खम्बा मानिएको सहकारी क्षेत्रले स्थानीय स्तरमा पुँजी संकलन र परिचालन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । महानगरपालिकाले महानगरवासी र सहकारीको सहकार्यमा उद्यम विकास, रोजगार सिर्जना र आयआर्जनको लागि कार्यक्रम सञ्चालन गर्नेछ ।
३. समुदायमा आधारित संगठनहरु
महानगरले अवलम्बन गरेका सामाजिक अभियान तथा नागरिक लक्षित कार्यक्रमहरु कार्यान्वयन गर्न एवं अनुगमन गर्न समुदायमा आधारित संगठनहरुको भूमिकालाई सक्रिय बनाइने छ ।
४. गैरसरकारी संस्थाहरु तथा आयोजनाहरु
जनचेतना, क्षमता अभिवृद्धि तथा अभियानहरु सञ्चालनका लागि गैरसरकारी संघ संस्थाहरुसँग साझेदारी एवं सहकार्य गरिनेछ ।
५. निजी क्षेत्र
व्यवसायिक समाजिक उत्तरदायित्व अन्तर्गत निजी तथा व्यापारीक प्रतिष्ठानहरुसँग सहकार्य गरेर जनचेतना तथा क्षमता अभिवृद्धि, पुस्तकालय, सूचनाकेन्द्र, प्रतीक्षालय, सामुदायिक भवन जस्ता कार्यक्रमहरु सञ्चालन गर्न सहकार्य तथा साझेदारी गरिनेछ ।

६. प्रदेश सरकार
महानगरपालिकाले अवलम्बन गरेका रणनीति र कार्यक्रमहरु सञ्चालन गर्न तथा प्रदेश सरकारका कार्यक्रमहरु कार्यान्वयन गर्न सहकार्य तथा समन्वय गरिनेछ ।
७. संघीय सरकार
राष्ट्रिय महत्वका कार्यक्रमहरु सञ्चालनको लागि तथा महानगरपालिक भित्र संघीय सरकारको सहयोग प्राप्त हुने आयोजनाहरु कार्यान्वयन गर्न संघीय सरकारसँग सहकार्य गरिनेछ ।
८. विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठान
महानगरेको नीति तथा कार्यक्रमले निर्दृष्ट गरेका कार्यक्रमहरु प्रभावकारी बनाउन विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानसँग सहकार्य गरिनेछ ।
९. सञ्चार संस्थाहरु
पत्रकार कल्याण कोषलाई आगामी वर्ष पनि निरन्तरता दिइने छ । नीति तथा कार्यक्रम र योजनाहरु छनोट देखी सम्पन्न हुँदासम्म उपभोक्ताहरुलाई सुसूचित गराउन र आम नागरिकमा सूचनाको हक प्रत्याभुति गराउन सञ्चार माध्यामहरुको भूमिका प्रभावकारी बनाइनेछ ।
१०. अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरु
महानगरपालिक भित्र सामाजिक अभियानका कार्यक्रमहरु सञ्चालन गर्न, ठूला परियोजना सञ्चालन गर्न र विभिन्न विषयका अनुसन्धानात्मक परियोजना सञ्चालन गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरुसँग साझेदारी तथा सहकार्य गरिनेछ ।
अब म, पोखरा महानगरपालिकको आव २०७७÷०७८ को निम्ति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति चाहान्तु ।
विषयगत क्षेत्रको
१ः हरित आर्थिक विकास
उपलब्ध आर्थिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक तथा मानवीय स्रोतको सदुपयोग गर्दै प्रतिव्यक्ति आय वृद्धि, आर्थिक समानता, वातावरणीय सन्तुलन सहित द्रुत तथा दिगो विकासको माध्यमबाट समृद्ध समाजको निर्माण गर्न लक्ष्य लिइनेछ । यसका लागि निम्न क्षेत्रगत नीति अवलम्बन गरिने छ ।
क. कृषि तथा पशु विकास
संस्थागत विकास, कृषक क्षमता अभिवृद्धि, प्रविधीको सदुपयोग, भूमिको व्यवस्थापन, भूमि बैकको स्थापना, योजनावद्ध व्यवसायिक उत्पादन प्रणाली, बाली तथा पशु बिमा, सुलभ ऋण, बाली सुरक्षा, पशु सुरक्षा, स्थानीय रैथाने बालीहरुको विस्तार, कृषक वर्गीकरण जस्ता कार्यक्रम सञ्चालन गरी खाद्य सुरक्षा तथा पोषण सुनिश्चित गरिने छ । उत्पादित बस्तुहरुको ब्रान्डिङसहित बजार सुनिश्चिता, उद्यमविकास तथा कृषि तथा पशु पालनको विस्तार गरी आयआर्जन तथा रोजगारीका अवसरहरु सिर्जना गरेर हरित अर्थतन्त्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गरिने छ ।
वन, वातावरण, जलवायु परिवर्तन तथा विपद व्यवस्थापन
– सामुदायिक वन उपभोक्त समूह, प्रदेश तथा संघीय सरकार, शैक्षिक प्रतिष्ठानहरु तथा प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्रमा कार्यरत संघ संस्थाहरुसँग समन्वय गरी, राष्ट्रिय वन, सामुदायिक वन, धार्मिक वन, संरक्षित क्षेत्र, पारिवारिक निजी वन, ताल तलैया, खोला, नदीनाला र जलाधार क्षेत्रहरुको व्यवस्थापनमा विशेष जोड दिइने छ । संस्थागत क्षमता विकास गर्दै जलस्रोत, जैविक विविधता संरक्षण एवं सम्वद्र्धन गर्दै सहरी वन विकासको अवधारणालाई कार्यान्वयन गरेर महानगरपाकिालाई हरित सहरको रुपमा विकास गरी पर्यापर्यटनको सम्वद्र्धन गर्दै वातावरणीय सन्तुलन सहितको दिगो विकास रणनीति अवलम्बन गरिने छ । खुल्ला तथा सार्वजनिक क्षेत्र संरक्षण गर्नुका साथै पार्कहरुको व्यवस्थापनमा जोड दिइनेछ ।
– महानगर भित्र जलवायु परिवर्तनका असरहरुसँग जुध्नको लागि जलवायु अनुकुलन तथा न्यूनीकरण योजना निर्माण गरी लागु गरिनेछ ।
– सबै प्रकारका विपदहरुको व्यवस्थापनको व्यवस्थपानको लागि प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन योजना निर्माण गरी लागु गरिनेछ ।

पर्यटन तथा सँस्कृति
– महानगरपालिकाको प्राकृतिक सौन्दर्यको सम्वद्र्धन र विकास गर्दै सामाजिक तथा साँस्कृतिक सम्पदा एवं संस्थाहरुको विकास एवम् संरक्षण गर्दै सामाजिक तथा वातावरणीय उत्तरदायित्व सहितको पर्यटन व्यवसाय प्रवद्र्धन गरिने छ । कोभिड १९ को कारणले उत्पन्न बन्दाबन्दीले समग्र पर्यटन क्षेत्रमा परेको प्रतिकुल असरबाट मुक्त बनाएर पुन सञ्चालन गर्न जोड दिइने छ ।
– महानगर भित्र रहेका ताल तलैया तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै कास्की जिल्ला भित्र एग्रो टुरिजम विस्तार गरिँदै लगिने छ ।
– हाम्रो चाहना पर्यटन मैत्री निर्माण संरचनालाई अभियानको रुपमा निरन्तरता दिँदै फेवातालमा मिसिएको ढल डाइभर्सन गरिनेछ ।
– सामुदायिक वनसँगको सहकार्यमा खुल्ला क्षेत्र संरक्षण तथा पर्यटीय गन्तव्य बनाउने नीति अवलम्बन गरिनेछ ।

सहकारी, उद्योग, वााणिज्य तथा आपूर्ति,
– हाल सञ्चालनमा रहेका सहकारीहरुको सवलीकरण गरी स्थानीय स्तरमा संकलित पुँजीलाई उत्पादन तथा उद्यम विकासमा परिचालन गर्न महानगर, सहकारी तथा नगरावासीहरुको संयुक्त लगानीमा महानगरस्तरीय विशिष्ठीकृत संघ तथा वडा स्तरमा उद्योगहरु सञ्चालन गर्ने र आगामी वर्ष सहकारी वैकको स्थापना संभाव्यता अध्ययन गर्न अध्ययन कार्यदलको गठन गरिनेछ । सहकारी शाखालाई सवलीकरण गरी उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रसँग अन्तरसम्बन्धित गरिने छ । सबै नागरीकहरुलाई सहकारीमा आवद्ध गर्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– महानगरपालिकामा सञ्चालित व्यवसायहरुको सुरक्षा तथा विकास गर्न, व्यवसायी र समुदायको सम्बन्ध सुमधुर बनाएर सुरक्षित व्यावसायिक वातावरण निर्माण गर्न व्यवसायहरुको अभिलेखीकरण गर्न प्रोत्साहन गरिनेछ ।
– कोभिड १९ ले सिर्जना गरेको प्रतिकुल अवस्थाको सामना गर्न युवाहरुलाइ नयाँ व्यवसाय सुरु गर्न नव उद्यम प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– कोभिड १९ ले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परिहेको प्रतिकुल असरलाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन हुने वातावरण निर्माण गर्न आवश्यक पहल गरिनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि—
– सबै तह र तप्काका नागरिकको शिक्षा पहुच सुनिश्चित गर्न यस महानगरपालिकको बहुप्राविधिक शिक्षालयलाई स्तरोन्नति गरिने छ । सामुदायिक विद्यालयहरुलाई क्रमशः प्राविधिक विद्यालयमा स्तरोन्नति गर्ने, बाल विकास केन्द्र, आधारभूत विद्यालय, माध्यामिक विद्यालय, सामुदायिक सिकाई केन्द्रहरुको स्तरोन्नति गर्दै प्राविधिक र सैद्धान्तिक शिक्षाको अनुपात ८०ः२० पु¥याउने लक्ष्य लिइएको छ । शिक्षा परिषद्को प्रतिवेदले गरेका सिफारिसहरुलाई आगामी वर्ष देखि क्रमश लागू गरिने छ ।
– शिक्षा परिषद् र वडा शिक्षा समितिहरुलाइ सवलीकरण गरी विद्यालय अनुगमनलाई प्रभावकारी बनाइने छ ।
– स्थानीय अर्थतन्त्र र बजारको माग अनुसारको दक्ष जनशक्ति विकास गर्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।
– महानगरपालिकाद्धारा सञ्चालित तालिमकेन्द्रमा सिपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिने छ । महानगरभित्रका सञ्चालित विश्वविद्यालय, क्याम्पस तथा अध्ययन केन्द्रसँगको सहकार्यमा अनुसन्धान कार्यक्रम अगाडि बढाइनेछ । विज्ञान तथा प्रविधि अध्ययन थप व्यवस्थित बनाउँदै महानगर विज्ञान सम्मेलन आयोजना गर्दै लगिने छ ।
– कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन गर्न नसकिएको अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक शिक्षा पद्धतिको विकास गर्दै लगिनेछ ।
– प्राविधिक जनशक्ति उत्पादन तथा व्यवस्थापनको लागि सीप विकासका कार्यक्रम अगाडि बढाइ सिप तथा ज्ञानको आधारमा रोजगारी कार्यक्रम सञ्चालन गरिनेछ ।
– महानगरपालिकाद्धारा सञ्चालित अनुसन्धान केन्द्रमार्फत अध्ययन अनुसन्धानका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
– महानगरस्थित शैक्षिक संघ संस्था तथा प्रतिष्ठानहरुसँग सहकार्य गरी शैक्षिक तथा वौद्धिक गतिविधिहरुलाई बढवा दिइने छ ।
खेलकुद
– खेलकुदको विकास गर्न विद्यमान खेलकुद कानुनलाई समय सापेक्ष बनाइने छ । महानगरीय खेलकुद विकास समिति गठन गरिने छ । पोखरा महानगरलाई खेलकुद सहरका रुपमा विकास गर्न नेपाल सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहन तथा सहजीकरण गरिने छ । एक वडा एक खेल मैदानलाई निरन्तरता दिइने छ । महानगरको प्रतिनिधित्व गर्ने खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गरिने छ ।
– स्वास्थ्यका लागि व्यायाम कार्यक्रमलाई अभियानको रुपमै टोल टोलमा सञ्चालन गरिनेछ ।
स्वास्थ्य तथा पोषण
– गुणस्तरीय स्वास्थ्य सेवामा महानगरवासीहरुको पहुँच सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाइने छ । भौतिक संरचनाहरुको विकास, दक्ष जनशक्ति व्यवस्थापन, प्रयोगशाला तथा उपकरणहरुको व्यवस्था गरी महानगरस्थित स्वास्थ्य सेवा प्रदायक संघ संस्थाहरुसँग समन्वय एवं सहकार्य गरिने छ । सहरी आधारभूत स्वास्थ्य केन्द्रहरुद्धारा गुणस्तरीय सेवा उपलब्ध गराई सामाजिक न्यायसहितको जवाफदेही स्वास्थ्य सेवा प्रणालीको विकास गरी स्वस्थ्य समाजको निर्माणमा जोड दिइनेछ ।
– कोभिड १९ लाई सम्वोधन गर्न हाल सञ्चालित कार्यक्रमहरुको निरन्तरता गर्दै थप विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– निजी क्षेत्रहरुबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको गुणस्तरलाई नियमित रुपमा अनुगमन गरी थप जिम्मेवार र जवाफदेही बनाइने छ ।
– कोरोना संक्रमणसँग जुध्न महानगर भित्र प्रदेश सरकारको समन्वयमा विशिष्टकृत अस्पताल स्थापना एवं सञ्चानलको नीति लिइनेछ ।
– वडा वडामा घुम्ती स्वास्थ्य क्लिनिकको मार्फत सबैको लागि स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइनेछ । विषयगत स्वास्थ्य कार्यक्रम वडा स्तरमा सञ्चालनको व्यवस्था मिलाइनेछ ।

पूर्वाधार विकास
– विद्यमान भौतिक पूर्वाधारहरुको मर्मतसम्भार, संरक्षण तथा स्तरोन्नति गर्दै, अब बन्ने भौतिक पूर्वाधारहरुलाई दिगो गुणस्तरीय, समावेशी, उत्थानशील र वातावरण एवं संस्कृति मैत्री बनाउँदै दिगो तथा समावेशी विकासको आधारशिला तयार गरिने छ ।
– पोखरा महानगरक्षेत्र भित्र एकीकृत यातायात व्यवस्थापन नीति लिँदै क्षेत्रीय बसपार्क निर्माण कार्यमा जोड दिइनेछ । पोखरामा बन्दै गरेको पर्यटक बसपार्क निर्माण कार्यलाई सम्पन्न गर्न समन्वय गर्दै पृथ्वीचोकमा सिटी बस टर्मिनल निर्माण गरिनेछ ।
– पोखरालाई पर्यटकीय तथा व्यापारीक केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै लगिनेछ । आवश्यकता अनुसार सडक स्तरउन्नति गर्दै ट्राफिक लाइट, पार्किङ तथा सर्भिस स्टेसन, चार्जिङ स्टेसन, पैदल मार्ग निर्माण गर्दै लगिनेछ ।
– पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल समयमै सञ्चालन गर्न आवश्यक सहयोग गर्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइड र बेगनास क्षेत्र जोड्नको लागि फास्टट्रयाक निर्माण गरिनेछ । विश्व बैंकको सहकार्यमा तालचोक बेगनास सडकलाई नमुना सडकको रुपमा विकास गरिने छ ।
– गाउँसहर जोड्ने पहुँच सडक निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने नीति लिँदै मुख्य सहरी क्षेत्रमा ओभरहेड र सबवे संरचना निर्माण गरिँदै लगिनेछ ।
– ‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडक नमुना मार्गको रुपमा अगाडि बढाउदै लगिनेछ । पोखरा सभागृहको मर्मत सम्भार कार्यलाई तत्काल अगाडि बढाइने छ । अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणको लागि सम्भाव्यता अध्ययन गरी काम अगाडि बढाइनेछ
– मेयर नमुना पूर्वाधार योजना कार्यक्रमलाइ निरन्तरता दिदै महानगरभित्रका सडकलाई २ वर्ष भित्रमा नमुना सडकको रुपमा विकास गरिने छ ।
लोकतन्त्र, शुशासन तथा संस्थागत विकास
– महानगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाहरुलाई सबै नागरीकहरुको लागि समान प्रक्रियाको सुनिश्चिता गरिने छ । सेवा प्रदायकहरुलाई सेवाग्राहीहरुप्रति उच्च सम्मान र गुणस्तरीय सेवा प्रवाह गर्न जनउत्तरदायी प्रशासनमा जोड दिइने छ ।
– महानगर अन्तर्गतका सबै क्रियाकलापहरुलाइ समेटेर नियमित रुपमा सार्वजानिक सुनुवाइ तथा सामाजिक परीक्षणलाई निरन्तरता दिइनेछ ।
– महानगरपालिकाको वडाहरुको गरिबी नक्सांकन तथा पारिवारिक विवरण संकलनको काम अगाडि बढाइनेछ ।
– सार्वजनिक सरकारी सम्पत्ति, राजस्व, घरनक्सा, पञ्जिकरण लगायतका विवरणको डिजिटल अभिलेख राख्ने कामलाई निरन्तरता दिइने छ ।
कर तथा राजश्व प्रशासन
– राजश्व प्रशासनको क्षमता अभिवृद्धि गरी करको दायर र कर पालना अभिवृद्धि गरिने छ । कोरोना भाइसरको कारणले सिर्जिन विषम परिस्थितिmाई सम्बोधन गर्न आवश्यक व्यवस्था गरिने छ ।
– अन्डर ग्राउन्ड पार्किङसहित भवन निर्माण गर्नेहरुको हकमा एक तल्लासम्मको राजस्व मिनाहा गर्ने व्यवस्था मिलाइनेछ ।

खानेपानी तथा सरसफाइ
– मापदण्ड अनुसार नक्शा पास सम्पन्नताको प्रमाणपत्र लिइसकेका सबै घरधुरीहरुमा स्वच्छ पिउने पानी उपलब्ध गराइनेछ । एक घर एक धारा खानेपानि आयोजनालाइ यस आर्थिक वर्षमा समेत निरन्तरता दिइनेछ ।
– घरबाट उत्पादित फोहोरहरुलाई कुहिने, पुन प्रयोग हुने र अनिवार्य रुपमा बिर्सजन गर्नै पर्ने गरी तीन प्रकारका फोहोरमा वर्गिकरण गरी संकलन गर्ने र तदनुरुप महानगरपालिकाले व्यवस्थापन गर्ने नीति लिइने छ ।
– सार्वजानिक स्थलका फोहोरलाई समयमा नै उचित व्यवस्थापन गरिनेछ ।
– फोहोर मैलालाई व्यवस्थापन गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुका साथै ब्यवस्थित ल्याण्ड फिल्ड साइट संचालनको आवश्यक
– जनघनत्व धेरै भएका र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएका स्थानहरुमा स्वच्छ पिउने पानी, शौंचालय तथा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाइने छ ।

मानव संसाधन
– महिलाहरुको व्यत्तित्व विकासको लागि आवश्यक पर्ने नीतिगत सुधार, सामाजिक मूल्य र मान्यताहरुमा रुपान्तरण, आर्थिक विकासका अवसरहरुमा सहभागिता, अधिकारमा दाबी गरेर उपयोग गर्न सक्षम बनाउन कार्यक्रमहरु सञ्चान गरिनेछ ।
– कोभिड १९ का कारण प्रभावित महिलाहरुको लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– युवाहरुमा अन्तरनिहीत क्षमताहरुको प्रष्फुटन गराएर सकारात्मक समाजको निर्माण गर्न लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– महानगरपालिकालाई बालमैत्री नगरको रुपमा विकास गर्न आवश्यक पर्ने नीतिगत व्यवस्था तथा पूर्वाधार संरचनाहरुको विकास गरिनेछ ।
– ज्येष्ठ नागरीकहरुको मान सम्मान र सुरक्षाको प्रत्याभूति गर्दै वहाँहरुको सिकाइ र अनुभवहरुलाई समाज विकासको लागि सदुपयोगका गर्दै स्वास्थ्य तथा सुरक्षा प्रवद्र्धनका लागि कार्यक्रमहरु सञ्चालन गर्दै ज्येष्ठ नागरीक निशुल्क यातायातको ब्यवस्था गरिनेछ ।
– अपांगता भएका व्यक्तिहरुको आत्मसम्मानको सुरक्षाको सुनिश्चित गर्दै महानगरपालिकालाई अपाँगमैत्री महानगरको रुपमा विकास गर्नुका साथै अपांगता भएका व्यतिmलाइ निशुल्क यातायातको ब्यवस्था गरिनेछ ।
– कारोनाका कारण रोजगारी गुमाएका नागरिकका लागि रोजगारी बिशेष कार्यक्रम संचालन गर्नुका साथै कोरोना संक्रमण फैलिन नदिनका लागि बिशेष सावधानि अपनाइ जनस्वास्थ्य सुरक्षाका कार्यक्रम संचालन गरिनेछ ।
– महानगर भित्र सबै प्रकारका छुवाछुत तथा विभेदहरुको अन्त्य गरि समावेशी र सम्मानित समाजको प्रवद्र्धन गरिनेछ ।
– अल्पसंख्यकहरुको हक हितको संरक्षण गर्दै विकास प्रक्रियामा सहभागिताको सुनिश्चितता गरिनेछ ।

न्यायिक समिति
– न्यायिक समिति मार्फत् प्रदान गरिने सेवालाई मेलमिलाप तथा मध्यस्तताको माध्यमबाट थप प्रभावकारी र सर्वसुलभ बनाइने छ ।
– लैंगिक समानता तथा हिंसामा परेका महिलाको सहायता लागि कानुनी परामर्श तथा सहायता कक्षलाई थप व्यवस्थित र सुलभ बनाइने छ ।
सामाजिक सुरक्षा
– एकल महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, टुहुरा, सिमान्तकृत र लोपोन्मुख समुदायका लागि यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहुलियत प्रदान गर्न आवश्यक पहल गरिने छ । सामाजिक सुरक्षा सहायता थप कार्यलाइ निरन्तरता दिदै लगिनेछ ।
– हरेक वर्ष विश्व ज्येष्ठ नागरिक दिवस (अक्टुबर १) मा महानगरका सबै भन्दा ज्येष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिता को सम्मान प्रदान गरिने छ ।
– पत्रकार सामाजिक सुरक्षाका लागि पत्रकार उपचार कोष संचालनलाई निरन्तरता प्रदान गरिनेछ ।

डिजिटल तथा कलर क्लस्टर निर्माण
– महानगरले संचालन गरेको रंगिन क्लस्टर निर्माण गरी नमुना बनाउने कार्यलाइ निरन्तरता दिइनेछ ।
– वडा कार्यालय तथा विद्यालयमा सिसिक्यामेरा जडान गर्नुका साथै मुख्य सहरी क्षेत्रमा समेत सिसि क्यामरा विस्तार गर्दै सुरक्षित पोखरा निर्माणको अभियानलाइ निरन्तरता दिइनेछ ।

उपप्रमुखसँग महिला कार्यक्रम
– ‘समृद्घि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान व्यवहार’ को नारालाई आत्मसाथ गर्दै महानगर क्षेत्रभित्र महिला सशक्तीकरण र उद्यमशीलता विकासको लागि उपप्रमुखसँग महिला कार्यक्रमलाई कोरोनाबाट रोजगारी गुमेका महिलालाइ स्वरोजगार बनाउनका लागि संचालनमा ल्याइनेछ ।

भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र विकास
– विद्यालयमा स्थानीय भाषामा कक्षा सञ्चालनको लागि आवश्यक पाठ्यक्रम तर्जुमा,स्थानिय भाषा ब्याकरण तयारी गरी लागू गर्न सुरुवात गरिनेछ ।
– पोखरा महानगरपालिका वडा नम्बर २७ अर्चेलस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने कार्यलाइ निरन्तरता दिइनेछ ।
अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरु, सभासदज्युहरु, नगरस्थित क्रियाशील राजनीतिक दलहरु, नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरु, कर्मचारी मित्रहरुलाई पुनः धन्यवाद दिन चाहन्छु । पोखराको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार,गण्डकि प्रदेश सरकार दातृ निकाय, सहयोगी संघ संस्था तथा निकायहरु, निजी क्षेत्र प्रति म, पोखरा महानगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रुपमा प्राप्त हुने नै छ भन्ने विश्वास गर्दछु । धन्यवाद ।

जय पोखरा नगरबासी ।
जय पोखरा महानगरपालिका ।।
मानबादुर जिसी
प्रमुख

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.