www.tandavnews.com
Fact ~ In search of truth

कानुन लत्याउँदै वर्षाैँदेखि हेम्जाको घाटमा ‘थापा राज’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

सेती नदी किनारको छेवैको बाटोमा ट्रकहरु गुडिरहेका छन् । पानीको बहाव बाटोको डिलमै आइपुग्छ । उर्लिएका छालहरुसँग पैठाजोरी खेल्दै करिब डेढ सय मजदुर वालुवा निकाल्न व्यस्त छन् । छातीसम्म डुबाउने पानीको परवाह नगरि भिजेकै बालुवा ट्रकमा लोड भइरहेको देखिन्छ ।

Batas

तपाई पोखरा-२५ हेम्जाको सहस्रधारा घाट पुग्नुभयो भने देखिने दृश्य हो यो ।

नदीजन्य सामाग्री अवैध निकासी भइरहेको सूचना पाएपछि हामी शुक्रबार त्यहाँ पुगेका थियौं । पोखरा महानगर, जिल्ला समन्वय समिति लगायतका स्थानीय निकायको पत्र अध्ययन गरेपछि स्थलगत रिपोर्टिङका लागि पुग्नै पर्ने देखिएपछि हामी पुग्यौं ।

पुग्दै गर्दा देखिएको पहिलो दृश्यले हामीलाई छक्क पार्यो । ट्रकमा धमाधम लोड भइरहेको वालुवा देख्दा लाग्थ्यो यो अर्कै राज्य हो, जहाँ वालुवा बजार लागिरहेको छ । पोखरा २५ कै रामचन्द्र थापा नामका ब्यक्तिले आफ्नो जग्गा दाबी गर्दै घाट संचालन गरिरहेको जानकारी हामीलाई थियो । हामी रामचन्द्र थापालाई खोज्न थाल्यौं ।

हिँड्दै गर्दा छाता टाउकोमा अडाएर गर्मि छलिरहेका एक बृद्ध देखिए । उनैलाई रामचन्द्रबारे सोध्ने निर्णय गरियो । सोध्दा थाहा भो, रामचन्द्र थापा उनै रहेछन् ।

रामचन्द्र थापा

घाट रोक्न पत्र पुग्यो, थापाले टेरेनन्

सुरुमै प्रश्न गर्यौँ थापालाई ‘स्विकृति लिएर चलाउनु भएको हो ?’

‘अँ लिएको हो’ नगरपालिकाबाट स्विकृती लिएर चलाएको जवाफ उनले दिए । असार मसान्तसम्मको राजश्व तिरेको बताउँदै थापाले सबै जग्गा आफ्नो नीजि भएको समेत सुनाए । ‘यो खोलाको पनि मेरै जग्गा हो, आफ्नो जग्गाबाट किन ननिकाल्ने ?’ उनले भने ।

महानगरले घाट बन्द गर्न पत्र पठाएको छ नि ? किन बन्द नगर्नुभएको ? हाम्रो प्रश्नमा उनले भने ‘ पत्रसत्र मलाई थाहा छैन । आको पनि छैन । म कहाँ आइपुग्नु पर्यो नि । अब रोक्ने हो भने मेरो पैसा फिर्ता दिन पर्यो ।’
२०७३ बैशाख १४ गते जिल्ला समन्वय समितिको कार्यालयले पक्की कच्ची खोरी बनाएको, नदिको बहाव नै परिवर्तन गरिदिएको, क्षेत्राधिकार बाहिर कार्य भइरहेको भन्दै रामचन्द्र थापाकै नाममा पत्र काटेको छ ।

यस्तै पोखरा महानगरले २०७४ फागुन १५ गते विभिन्न निर्देशन दिँदै थापालाई पत्र काटेको छ । खोरी भत्काउने, ५० मिटर मापदण्ड पालना गरे, साँधसँधियारहरुको जग्गामा क्षती हुने गरि कार्य नगर्ने, लगायतका ६ बुँदा अक्षरंश पालना गर्न उल्लेख गरेको छ ।

यसरी पटक पटक पत्र काट्दै उनलाई खोरी तत्काल भत्काउन र मापदण्ड लागू गर्न भनिएपनि उनले निर्देशन अवज्ञा गर्दै आएका छन् । खोरी भत्काउने कुरा त परै जाओस्, उल्टो सिमेन्टेड खोरी बनाइएको छ ।

वालुवा जम्मा गर्न बनाइएको खोरी

त्यहि घाट संचालन गर्न थापाले ०७६ भदौ १८ गते महानगरका प्रमुख प्रशासकिय अधिकृतलाई निवेदन दिएका छन् । यसअघि ०७६ कै असार २९मा पोखरा २५का वडाध्यक्ष शोभाकर तिम्सिनाले घा संचलानकालागि महानगरलाई सिफारिश नै बनाएर पठाएका छन् ।

महानगरले राजश्व लिएर घाट संचालन गर्न पनि दियो । जबकी त्यहाँ कहिल्यै मापदण्ड अनुसार कार्य भइरहेको थिएन ।

मापदण्ड, खोरी लगायतको विषयलाई लिएर बन्द गर्न पुनः पत्र पनि काट्यो महानगरले । कुनैबेला सम्झौता रद्ध गर्न सकिने सम्झौता पत्रको बुँदालाई प्रयोग गर्दै महानगरले घाट रोक्न पत्र काट्यो । तर, एक दशकदेखि घाटमा रामराज्य चलाउँदै आइरहेका रामचन्द्र थापा पत्र बुझ्न गएनन्, बुझ्न मानेनन् ।

वडाध्यक्ष तिम्सिनाले थापाले पत्र बुझ्न नमानेको पुष्टि गरे । यसबारे महानगरलाई रिपोर्टिङ गरिसकेको उनले बताएका छन् । ताण्डव न्यूजसँग कुरा गर्दै उनले भने ‘बन्द गर्ने भनेर पत्र आएको हो । हामिले भनेर मानेन भनेर महानगरलाई भनेको हो । पत्र बुझ्न मानेनन् भनेर महानगरलाई जानकारी गराएको हो । समात्नी पक्रनी अधिकार छैन, हेर्ने मात्रै हो । उपल्लो निकायले अनुगमन गर्न पर्ने हो नी त ।’

वडाध्यक्षकै भनाइले पनि घाट अवैध संचालन भइरहेको पुष्टि हुन्छ ।

रामचन्द्रकै ‘रामराज्य’

सहस्रधारा घाट वैध रुपमा होस या अवैध रुपमा किन नहोस्, रामचन्द्र थापाले एक दशकदेखी संचालन गर्दै आएका छन् । वैध रुपमा पाए ठिकै छ नत्र अवैध रुपमा चलाउन उनले मजुदरहरुलाई हात लिएका छन् । रोजगार दिने नाममा उनले स्थानीयलाई र कानुनलाई लत्याउदै घाट संचालन गरिरहेका छन् ।

आफ्नो जग्गा खोलामै पर्छ भन्दै थापाले अन्य व्यक्तिलाई त्यहाँ प्रवेश गर्न दिदैनन्, न त प्रशासनलाई नै टेर्छन् ।

महानगर र वडा कार्यालयले किन अवैध रुपमा घाट संचालन गर्दा किन प्रहरी प्रशासन लागएर रोक्न सक्दैन भन्ने प्रश्न उठेको छ । महानगरपालिकाले पनि राम्रोसँग भूमिका निर्वाह गरेको देखिदैन् । बन्द गर्ने पत्र पठाउने मात्र काम गर्ने अनि फेरी संचालन गर्न पनि पत्र पठाउने गरेको पाइएको छ ।

सम्झौता विपररित कार्य गरेको देखिएको भन्दै पटकपटक रोक लगाइएपनि आजसम्म निर्वाध रुपमा थापाले घाट संचालन गरिरहेका छन् ।

जग्गा निजी नै भएपनि त्यहाँका सामग्री भने निजी हुँदैनन् । नदी वा खोलाको ३० मिटर वरपरबाट कुनै पनि नदी/खोला जन्य सामाग्री उत्खनन् गर्न कानुनले वर्जित छ ।

एक टिपको ३७ सय

त्यहाँबाट निकालिएको एक टिप वालुवाख वापत ट्रकवालाले रामचन्द्र थापालाई ३७ सय बुझाउँछन् । दिनमा धेरै हुँदा डेढ सय टिप हुँदो रहेछ । यसैलाई हिसाब गर्दा एकै दिनमा रामचन्द्रले ५ लाख ५५ हजार बुझ्दा रहेछन् । मजुदरले एक टिप बालुवा भरेको १७ सय पाउँछन् ।

गुन्डागर्दी शैलिमा आएका ति ‘मास्क म्यान’

ठेकेदार थापासँग कुराकानी गरेर हामी घाटको भिडियो लिन केही समय के भुलेका थियौँ, एक्कासी एक युवा गुन्डागर्दी शैलीमा त्यहाँ आईपुगे । उनले आउन नपाउदै ‘हाम्रो दाई’ अर्थात ठेकेदारलाई थर्काउने ? भन्दै माहौलनै बिगार्न खोजे । स्रोतका अनुसार घाटाबाटै पालिएका गुन्डा मध्येका एक हुन् ति युवा । भिडियो खिचिरहेको दृश्य देखेर हुनुपर्छ उनि पहिल्यै मास्क र चस्माले अनुसार छोपेर आएका थिए ।

‘मास्क म्यान’

तत्काल रामचन्द्र थापालाई ‘हामीले थर्काएको हो र ? तपाइलाई’ भनेर ति मास्क म्यान कै अघि सोध्यौँ, थापाले ‘होइन कसैले थर्काएको छैन भने ।’

यति भनिसक्दा पनि ति ‘मास्क म्यान’ कड्की रहे । थापाले रोक्न खाज्दा पनि उनको जोश थामिएन । चर्को गर्मिमा टोपी समेत लगाएका ति ‘मास्क म्यान’ले उग्रता छचल्काइरहे । परिचय खुलाउन आग्रह गर्दा उनले मानेनन् ।

सडकमा तरर..पानी चुहाउँदै वालुवा सरर…

ट्रकबाट चुहिएको वालुवाको पानी

ट्राफिक नियम अनुसार आलो वालुवा कुनै पनि सवारी साधनले बोक्न पाउदैनन् । वैध रुपमा उठाएको बालुवा पनि ओभानो हुनु पर्छ । तर त्यो घाटबाट निकालिएको वालुवा ट्रक र ट्रिपरले पानीको धारा लाउँदै घाटबाट लामाचौर हुदै माल निकासी गर्ने गरेका छन् ।

‘घाट बन्द गर्नुपर्छ’ : कर अधिकृत शर्मा

पोखरा महानगरका कर अधिकृत शिव शर्माले कानुनतः उक्त घाट बन्द गर्नुपर्ने बताए । अवैध रुपमा घाट संचालन गरेको प्रष्ट्याउँदै उनले भने ‘ वडा प्रहरी कार्यालय बगरमा पनि पत्र दिएका छौं । अब रामचन्द्रलाई पठाएको पत्र बुझेनन् भन्ने सूचना आयो । काम गरिराको छ । एकदमै अटेरी तरिकाले गरिराछन् । साविकदेखि नै अवैध रुपमा काम गरिराको घाट हो ।’

सम्बन्धीत भिडियो

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.