www.tandavnews.com
Fact ~ In search of truth

सरकारलाई संक्रामक रोग ऐन २०२० लाग्छ कि लाग्दैन ?

डियर सरकार !

एक आक्रोशित युवतीबाट विनम्र अभिवादन ।

पत्र म एक्लै लेख्दै छु । सम्झिनुस् , शब्द/आवाज लाखौं युवाको हो । आशा छ यसलाई तपाईं समय दिनु हुनेछ ।

Batas

सरकारको प्रतिवेदनको पानामा मात्रै हामीले कार्यप्रगति सुन्न पायौँ । सिंहदरबार बाहिरको कारुणीक महौलले प्रतिवेदनलाई गिज्याइरहँदा पनि सरकारले कार्यशैली प्रभावकारी बनाएन । फलतः युवाहरु सडकमा उत्रिए । वषौँदेखि निसास्सीएको निराशालाई यो बेलाको गैर जिम्मेवारीपनले खुलेरै विरुद्धमा उत्रन बाध्य पार्यो । आँकलन गर्न सक्दिनँ, यसले कुन रुप लिन्छ । हिंसात्मक क्रान्तिमा म विश्वास त गर्दिनँ तर, राज्य पनि गान्धीवादी क्रान्तिमा विश्वास गर्दैन ।

हेल्लो सरकार !

बस् अब म भित्र एक आक्रोश, रिस, निराशा मात्र छ । भनिन्छ – अपेक्षा अनुसार फल नपाए निराशा जाग्छ । निराशाबाटै क्रान्तिको सुरुआत हुन्छ ।  डियर सरकार ! यो देशको एक नागरिक भएर अपेक्षा राख्नु के मेरो गल्ति हो ? के अब म भित्र निराशा मात्रै जाग्छ ?

विश्व यतिबेला महामारीसँग जुधिरहेको छ र हामीलाई थाहा छ नेपाल पनि यसबाट अछुतो छैन । दिनानुदिन संक्रमितको संख्या बढ्ने क्रम जारी छ । यतिबेला नेतृत्व तहमा बसेकाको क्षमता मुल्यांकन गर्ने र नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने समय हो । नेपाललाई संक्रमण बाट बचाउन कोसिस नै नगरको भनेर पूर्वाग्रही त हुदिनँ । तर, तयारी बिनाको प्रयासले सफलता होइन, दुर्घटनातर्फ डोर्‍याउँछ ।

लकडाउन घोषणा गर्दा, आदेशलाई मान्दै घरभित्रै लुकेर पनि बस्यौं । त्यतिबेला हामीभित्र हाउगुजी थियो । सरकारले केही गर्छ कि भन्ने आशा थियो, विश्वास थियो । तर, लामो समय कोठाभित्रै थुनिएर निस्सासिएपछि डर शक्तिमा बद्लियो र हामी सडकमा आउन बाध्य भयौं । हामी भित्रको डर हटाउन प्रयास गरिएन । लकडाउनको अवधि थपिइरहँदा, यता डर पनि थपिइरह्यो ।

सरकार हाम्रो हो र हाम्रो स्वास्थ्यप्रति गम्भीर छ भन्ने विश्वास थियो । तर, होइन रहेछ । ऊ त आफ्नै सत्ताको लडाइँमा व्यस्त रहेछ ।

पेट भर्न शहर पसेकाहरुलाई बेरोजगारीले भोकै बनायो । उनीहरु घाम, पानी, हावाहुरीको समेत ख्याल नगरी हप्तौ दिन हिँडेर आफ्नो माटोमा पुगे । चप्पल घिसार्दै तातो अलकत्रमा हिँड्न बाध्यहरुलाई सरकारले ‘सरकार छ है’ भन्ने आभास सम्म दिलाइदिनु पथ्र्यो ।

औषधी खरिदमा भ्रष्टाचार, परिक्षणमा ढिलाई, अव्यवस्थित क्वारेन्टाइन् र आफ्नै माटो टेक्न नपाएका मजदुरहरु हामीले सह्यौँ ।

गणना स्वयं आफैले गरिरहेको छ सरकार । अहिले देशमा संक्रमितको संख्या बढिरहेको छ , यसमा सरकारकै गल्ती छ भन्दिनँ । कोरोनाले आक्रान्त छिमेकी देशबाट आफ्ना नागरिकलाई उद्धार गरिरहँदा,संक्रमितको संख्या बढ्नु स्वभाविक हो ।

तर, यहाँ गल्ती भइरहेको छ सरकार । क्वारेन्टाइन , कोभिड अस्पताल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको उचित व्यवस्थापन नगरेर नागरिकको स्वास्थ्य माथिको खेलाची छरपष्ट छ । यो गम्भीर गल्ती हो । सुरक्षाका लागि बसिने क्वारेन्टाइन स्थल बधशाला होइन ।

म आफू पनि मिडिया क्षेत्रमा लागेको हुनाले कैयौं भूइँमान्छेको दुख नजिकबाट देख्न पाएँ । लामो भोक यात्रामा निस्किएका यात्री भेटें । रोजीरोटी गुमेका मजदुर भेटें । पैदल यात्रामा निस्केका गर्भवती महिलाहरुको बाध्यता पनि नियालें ।

ठिक हो कोही सडकमा निस्कन्छ भने सरकारले निकालेको होइन । तर, यसको जिम्मेवार स्वयं सरकार हो । सरकारको अदूरदर्शी नीति र कार्यशैलीको नतिजा हो ।

क्वारेन्टिन व्यवस्थापन कमजोर भयो भनेर गुनासो आइरहँदा समाचार म आफैले बनाएकी छु टाढा जानु परेन । असैह्य भयो क्वारेन्टिनमा राखेको व्यक्ति मृत, क्वारेनटिनमा महिला माथी यौन दुर्ववहार जस्ता समाचारले ।
विश्व स्वास्थ्य संगठनले आरडिटी परीक्षण विश्वसनीय छैन भनिरहँदा सरकारलाई आरडीटी कै माया छ ।आरडिटी गरेर घर पठाइएकामा धमाधम कोरोना पोजेटिभ नतिजा आइरहेको छ । सरकारलाई संक्रामक रोग ऐन २०२० लाग्छ छ कि लाग्दैन ?

क्वारेन्टाइन यति अव्यवस्थित छ कि, त्यहाँ आत्महत्या हुन्छ । त्यहाँ बलात्कार हुन्छ । त्यहाँ हिंसा हुन्छ । त्यहाँ जातीय भेदभाव हुन्छ । यी सबै कुरा म भित्र क्याक्टस बाँच्छ अनि म आक्रोशित हुने कि नहुने सरकार ?
म मान्छु यो समय सडकमा उत्रेर सरकारको विरोध गर्नु उचित हैन, तर यो समय मलाई सडकमा उतारेर विरोध गर्न बाध्य बनाउने को ? निसंकोच, सरकार नै हो ।

कोरोना र भ्रष्टाचारको महाव्याधिले ग्रस्त सत्तालाई देखेर यतिबेला हरेक युवामा आक्रोशको ज्वाला तरंगित छ ।

यो लडाइँ राज्यको कार्यशैलीप्रति असन्तुष्ट युवाहरुको ‘सामाजिक सञ्जाल टु सडक’ कनेक्सन हो । कहाँ, किन, कसरी ? प्रश्नमा अल्झिरहनुभन्दा पनि अब यो सरकार सच्चिनुपर्छ र सडकमा उत्रिएका युवाको मागलाई उचित ढंगले सम्बोधन गर्नुपर्छ ।

युवाको माग जायज छ । यस प्रती सरकार गम्भिर हुन जरुरी छ । यत्रा घटना घटिसकेपछि पनि लापरबाहीकै कारण अझै जघन्य घटना घट्ने पर्खाइमा हो र ? सरकारले संसद भवनमा बेसारे मन्त्र पढाइरहँदा यहाँ कसैले बिनाकारण ज्यान गुमाउन बाध्य हुनपर्यो । बडो अचम्म छ, जनता यहाँ उपचार नपाएर मरिरहेका छन् । सरकार सिंहदरबारमा कुर्सी घुमाउँदै बेसार पानी पिउनुस जस्तो बेफ्वाकको टुक्का हालेर बस्छ । बडो ताजुब लाग्छ सरकार ।

सरकार, बेसार पानीको कमाल देखाएर रामु सदाकी आमाको उजाडिएको कोख भरिदैँन , बलात्कार भएकी महिलाको इज्जत फर्किदैंन ।

यो विरोध र प्रर्दशनमा हजारौंको भिडमा १÷२ फरक आस्थाका उभिनु कुनै नौलो कुरा होइन । तर, त्यही वहानामा चर्किएको आवाजलाई दमन गर्न खोज्ने दुचेष्टा कसैगरी नगर्नू है सरकार !

डियर युवा !

आऊ अब त केही बोलौं । यो राज्यको बर्बरता विरुद्ध । यो सरकारको कार्यशैलीप्रति, केही त बोलौं ।  हामी नबोले भोलिको पुस्ताले धिक्कार्ने छ हामीलाई । हामीले नै भोगेको यही समस्या भोली पुनरावृत्ति हुनेछ ।  यो समयलाई बदल्न सक्ने भनेकैं तिमी हामी हो । तिम्रो हाम्रो काँधमै छ भविष्यको जिम्मेवारी ।  आऊ अब त केही बोलौं…

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.