www.tandavnews.com
Fact ~ In search of truth

गुल्मी : भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग

तम्घास । 

जिल्लाका विभिन्न क्षेत्रमा खसेको पहिराले ठूलो धनजनको क्षति पु¥याएकाले पीडितले भौगोलिक अध्ययन गर्न माग गरेका छन् । पहिराले ग्रामीण क्षेत्रका सडकमा क्षति पु¥याउँदा कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएको तथा बस्ती नै बस्न नमिल्ने गरी जमीन भासिएकाले सो क्षेत्रको भूगोल अध्ययन गरी बस्न मिल्ने नमिल्ने माग गरिएको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ७ वेदुखर्कमा असार ६ गते खसेको पहिराले १५ घर विस्थापित भएका छन् । सोही स्थानमा अझै पाँच घर पहिराको उच्च जोखिममा छन् । त्यसरी विस्थापित तथा जोखिममा रहेका परिवारले आफूहरु बस्दै आएको बस्ती बासस्थानका लागि उपयुक्त भए वा नभएको बुझ्न भौगोलिक अध्ययन गर्नुपर्ने माग गरेका छन् ।

Batas

सदरमुकाम तम्घासमा यही असार ४ गतेदेखि ठूलो वर्षा भइरहेको थियो । वेदुखर्कका ४२ वर्षीय तुल्सीराम कुँवरले असार ५ गते साँझ घरमाथिबाट जमीनको केही भाग चर्किएको देखे । असार ६ गते बिहान हेर्दा उक्त भाग करीब एक मिटर तल झरिसकेको थियो । लगातार वर्षा भइरहेकाले घरभन्दा दायाँबायाँ र तलपट्टि पनि पहिरो गएको थियो । घर पहिरोको जोखिममा परेपछि कुँवरको चार जनाको परिवार उसैदिनदेखि छिमेकीका घरमा कोठा लिएर बस्न थालेको छ ।

कुँवरको नजीकै तीन सडक छन् । एउटा घरको आँगनबाट नै तम्घास–सन्धिखर्क जाने, अर्को घरभन्दा करीब ५० मिटर तलबाट तम्घासदेखि नयाँगाउँ–पिपलधारा हुँदै ढोरपाटन जोड्ने र अर्को घरभन्दा करीब १० मिटर माथिबाट अर्जुन डाँडा जोड्ने सडक छन् । पहिराले तम्घास –सन्धिखर्क जोड्ने र तम्घास–नयाँगाउँ जाने सडक अवरुद्ध बनाएको थियो । दुवै सडक मानव बस्तीका हिसाबले जोखिमयुक्त छन् । वर्षायाममा पनि ठूलाठूला यन्त्र प्रयोग गरेर विनाअध्ययन बाटो मर्मत भइरहेको छ । यसले गर्दा जोखिम वद्धि हुँदै गएको छ ।

कुँवरले आफू मात्र नभएर सिङ्गो बस्ती नै विस्थापित भएकाले उक्त ठाउँमा बस्ती बस्न मिल्ने/नमिल्नेबारे भौगोलिक अध्ययन गर्नुपर्ने बताए । वर्षायाममा यस्तै समस्या देखिने भएकाले राज्यले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

सोहीँ ठाउँका पोमनारायण सुवेदीले पनि घरभन्दा माथिको पहाड नै फुटेर झरेकाले आफूहरु विस्थापित हुनुपरेको बताए । उनको घरभन्दा करीब २० मिटरमाथि अर्जुन डाँडा जोड्ने सडक पर्छ । चालु आर्थिक वर्षमा पनि उक्त सडक स्तरोन्नतिका लागि रु ५० लाख विनियोजन भएको छ । समयको ख्याल नै नगरी यन्त्र प्रयोग गर्दा बस्ती नै जोखिममा पर्नेगरी जमीन फुटेको छ । ‘सरकारी कार्यालय र ठेकेदारको लापरवाहीले गर्दा धेरै ठाउँबाट जमीन फुटेको छ’, उनले भने , ‘अब त बस्ती बस्न उपयुक्त छ या छैन भन्नेबारे निर्णय गर्न अध्ययन गर्नुपर्छ ।’

रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए । आफूहरुले वेदुखर्कको पहिरो र विस्थापितको अवस्था अनुगमन गरेर वैकल्पिक व्यवस्थाबारे योजना बनाउने भुसालको भनाइ छ ।

उनले वेदुखर्कका पहिरो पीडित बस्तीबारे आफू गम्भिर भएको बताउँदै विस्थापि परिवारलाई तत्कालका लागि खाद्य पदार्थ समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गरे । बस्ती बसेको जमीन कमजोर बन्दै गएकाले अध्ययनका लागि भूगर्भविद् ल्याउन आफूले पहल गर्ने नगर प्रमुख भुसालले आश्वासन दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.