www.tandavnews.com
Fact ~ In search of truth

गुल्मीमा पहिराेमा परी दुई जनाको मृत्यु

गुल्मी ।

अविरल वर्षासँगै आएको बाढी र पहिराका कारण जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता बनेका छन् । बिहीबार मध्यराति आएको पहिरामा परी इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

पहिरोमा परी इस्मा– १ अन्तर्गत निस्ती ढाँडफाँटकी सात वर्षीया अपिच्छा खत्रीको पनि मृत्यु भएको स्थानीय व्यवसायी ऋषिराम अर्यालले जानकारी दिए । पहिरामा परेर घाइते बनेकी बालिकाकी आमा ईश्वरीलाई स्थानीयवासीले आज बिहान ६ घण्टापछि जीवितै उद्धार गरेका थिए । ढाँडफाँटमा गए राति बस्ती माथिबाट पहिरो खसेको थियो । आमासँगै भाग्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव आज बिहान खोला किनारमा फेला परेको थियो ।

Batas

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटलसमेत बगाएको छ । होटलमा बास बसेका मुसिकोट नगरपालिका –२ का भागीरथ घिमिरे सम्पर्कविहीन रहेको स्थानीयवासी रामबहादुर केसीले बताए । पहिरामा परी बालिकाका हजुरबुवा ६३ वर्षीय टीकाबहादु र मृतक बालकका आमाबुवासमेत गम्भीर घाइते भएका छन् । गए राति १२ बजे बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित बनेको बताइएको छ ।

पानी परिरहेका कारण अहिले पनि पहिरो खस्नेक्रम जारी छ । पहिराले सडक अवरुद्ध बनेका कारण घाइतेको उद्धारमा समस्या परेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाएपछि आज बिहानै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.