www.tandavnews.com
Fact ~ In search of truth

सुविधा विधेयक विधायन समितिमा

पोखरा ।

गण्डकी प्रदेशसभाको आजको बैठकले गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ ।

आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राखेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मत स्वीकृत गरेको हो । यसअघि विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य धनञ्जय दवाडीले स्थानीय तहका कामको प्रभावकारिताका लागि त्यहाँ खटिरहेका जनप्रतिनिधिका लागि आधारभूत सेवासुविधा आवश्यक भएको बताए ।

Batas

अर्का सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण सङ्कटग्रस्त विद्यमान समयमा सो विधेयक ल्याउने उपयुक्त समय नभएको बताए । विधेयक २०७४ को ऐनलाई परिमार्जन गरेर अत्यधिक सेवासुविधा थप गरी ल्याइएको बताउँदै उनले यसमा आफूहरूको असहमति रहेको जानकारी दिए । विधेयक मर्यादाक्रमको विपरीत आएको पनि उहाँले बताउनुभयो । छलफलमा मीनप्रसाद गुरुङ, मेखलाल श्रेष्ठ र हरिशरण आचार्यले पनि बोलेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिलामन्त्री चुमानले जनप्रतिनिधिले निर्वाह गरेको भूमिकाका आधारमा सेवासुविधा उपलब्ध गराउन विधेयक ल्याइएको बताए । विधेयकका सम्बन्धमा विधायन समितिमा थप छलफल गरिने जनाउँदै मन्त्री चुमानले समय सान्दर्भिक र वस्तुवादी बनाएर विधेयक पारित गरिने बताए । प्रदेशसभाको अर्को बैठक यही असार २३ गते अपराह्न १.०० बजे बस्नेछ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.