www.tandavnews.com
Fact ~ In search of truth

कास्कीले चिनेको अनुहार : क्षेत्री र पाल मध्ये एक प्रहरी प्रमुख

पोखरा
ताण्डव न्यूज ।

यही असार महिना नसकिदै देशले नयाँ प्रहरी प्रमुख प्रहरी महानिरीक्षक पाउदैछ । को प्रहरी प्रमुख आउला ? भनेर आम जनतालाई त्यति धेरै चासो रहँदैन । तर अहिले कुन प्रहरी अधिकृतले देश हाक्ला भनेर धेरै जसो पोखरेलीहरुले भने निकै चासो लिएका छन् । चासो लिनुको एक मात्र कारण के हो भने, अहिलेका एआईजीद्धय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल दुवैले एसपी हँुदा कास्कीको जिम्मा सम्हालेका थिए ।

दुवै प्रहरी अधिकृतलाई पोखरेलीहरुले नजिकबाट चिन्ने अवसर पाएका थिए । कस्केली जनताको लागि दुवै प्रहरी अधिकृत नोटिसेबल एसपीको लिस्टमा छन् । तत्कालिन समयमा एसपी भएर शैलेश थापाले २०६९ वैशाख ८ देखि २०६९ माघ १९ गतेसम्म कास्की प्रहरीको कमाण्ड गरे भने पालले २०७१ माघ २८ देखि २०७२ फागुन ९ गतेसम्म कास्की हाकेका थिए ।

Batas

कास्की आउँदा शैलेश स्वच्छ छवि भएका प्रहरी अधिकृतको रुपमा परिचित थिए र सोही अनुसार जिम्मा सम्हाले पनि । नरम स्वभावका शैलेशले आफु मातहातका कर्मचारीसँग पनि नरम भएर बोल्थे । अनुशासित र स्वच्छ छवि भएको प्रहरी अधिकृतको रुपमा उनलाई आज पनि कास्कीका जनताले सम्झन्छन् ।

पाललाई राम्रो कमाण्ड र अडान भएको प्रहरी अधिकृतको रुपमा कास्कीका जनताले चिन्छन् । २०६६ साल असोज ७ गते पोखरा आएका तत्कालिन एसपी रमेशप्रसाद खरेलले २०६७ वैशाख १० गतेसम्म कास्कीको कमाण्ड सम्हाल्दा जसरी गुण्डागर्दी विरुद्ध खरो उत्रिए त्यसैगरी पालले पनि गुण्डागर्दी गर्नेलाई तह लगाए । एसपीको रुपमा पाल कास्की आउँदा पोखरा र लेखनाथमा फेरी गुण्डागर्दी मौलाएको थियो ।

विशेष गरि जग्गा दलाली, घाट गिट्टी बालुवाको कारोबारमा गुण्डाराज नै सुरु भएको थियो । पालले आउने वित्तिकै पोखरामा रहेका पार्टी निकटका गुण्डालाई तह लगाए । उनलाई राजनीतिक दवाव आएपनि आफ्नो अडान छोडेनन् । तत्कालिन एमाले र कांग्रेस पार्टीका गुण्डाहरुलाई पक्राउ गर्दा पाल कास्की धेरै टिक्दैन भन्ने हल्ला चलेको थियो तर उनी आफ्नो अडानसँगै १४ महिना कास्की प्रहरी प्रमु्खको रुपमा रहे ।

कास्कीमा आफ्नो राम्रो पहिचान बनाएका दुवै प्रहरी अधिकृत मध्ये एकले यही असार २४ गते पछि प्रहरी प्रमुखको जिम्मेवारी पाउँदैछन् । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली असार २४ गते सेवा निवृत्त हुँदैछन् । यस पटक समयमै नयाँ नेतृत्व आउने पक्का छ । ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ । उनले यसअघिका आइजी झंै कार्यकाल लम्ब्याउने पक्षमा नरहेको भन्ने सन्देश समेत दिएका छन् ।

दुई एआईजी क्षेत्री र पालले २०४९ साल वैशाख १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । एउटै ब्याजे उनीहरु इन्स्पेक्टरबाट डिएसपी हुँदै अहिले एआईजीसम्म आइपुग्दा सँगसँगै बढुवा हुन सफल भए ।  अब भने यि मध्ये एकले प्रमुख भएर प्रहरी संगठन हाक्ने छन् भने एक जनाले आईजीमै चित्त बुझाउनु पर्ने छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.