www.tandavnews.com
Fact ~ In search of truth

सडक ठाउँठाउँमा अवरुद्ध

गलेश्वर ।

गए रातिदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण उत्तरी म्याग्दी हुँदै मुस्ताङ जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीको नागढुङ्गा, दानाको ढुवारी खोला, गुइठे र हिस्तानको महभीरमा सडक अवरुद्ध भएको छ ।

Batas

लगातार वर्षा, भिरालो जमिन र कमजोर भूबनोटका कारण सडक माथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ ।

वर्षा नरोकिएसम्म अवरुद्ध सडक सञ्चालन गर्न नसकिने उनले बताए । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्मको भागलाई मानिएको छ । वर्षाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

बेनी–दरबाङ सडक बन्द

यसैबीच बेनी–दरबाङ सडकखण्डअन्तर्गत एक दर्जनभन्दा बढी ठाउँमा हिलो, बाढी र ठाडो खोलाका कारण सडक अवरुद्ध हुँदा यातायातका साधन बीच बाटोमा नै अलपत्र परेका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले वर्षासँगै सडक अवरुद्ध भएकाले पैदल र सवारीसाधन आवतजावतमा जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेका छन् । वर्षासँगै जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि गए रातिदेखि अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको अविरल वर्षका कारण पर्वतको जलजला गाउँपालिका–४ बारीबेनीमा झरेको ढुङ्गासहितको रेलोले मालबाहक ट्रकलाई क्षति पु¥याएको बारीबेनी प्रहरी चौकीले जनाएको छ ।

सडकखण्डअन्तर्गत जलजलादेखि मालढुङ्गासम्मका विभिन्न स्थानमा बाढी र पहिरोका कारण अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेका पनि वर्षा भइरहेकाले समस्या भएको प्रहरीको भनाइ रहेको छ । वर्षासँगै आएको बाढीले पर्वत बेनीको खानेपानीको पाइपमा समेत क्षति पु¥याएको छ ।

वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको जलजला गाउँपालिकाले जनाएको छ । डोजर बोलाएर सडक खुलाउनका लागि पहल भइरहेका भए पनि वर्षाले गर्दा समस्या भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वत बेनीमा नै अलपत्र परेका छन् ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.