www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पहिरोको बितण्डा, मृत्यु हुनेको संख्या सात पुग्यो

पोखरा
ताण्डव न्यूज ।

वर्षासँगै आएको पहिरोले घर पुरिँदा कास्कीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार पोखरा महानगरपालिकाका विभिन्न ४ ठाउँमा आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको हो ।

गएराती साढे २ बजेको समयमा आएको पहिरोले घर पुर्दा पोखरा महानगरपालिका १८ सराङकोटको गोठादीमा एउटै घरमा रहेका ५ जनाको मृत्यु भएको छ । स्थानीय टङ्कबहादुर थापाको घर पुरिँदा सोही घरका सदस्य र पाहुना भई आएका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा ५० वर्षीय टङ्कबहादुर थापा, उनकी ४५ बर्सिया श्रीमती सोममाया थापा, ११ बर्सिया ईशीका थापा, मृतक टङ्कको दाइको नाति ६ वर्षीय सुवान थापा र ८ वर्षीय शीतल श्रेष्ठ रहेका छन् ।

Batas

घाइते हुनेहरूमा टङ्कबहादुरकी २२ बर्सिया छोरी पिंकी, १८ बर्सिया आशा, पिंकीकी ५ बर्सिया छोरी पीरिशा, तनहुँको दमौली घर भएकी मृतक सोममायाकी बहिनी २८ बर्सिया सरस्वती श्रेष्ठ, सरस्वतीका १० वर्षीय छोरा सन्देश, टङ्कबहादुरको छिमेकी १९ वर्षीय अनीश तामाङ, १९ बर्सिया रशि थापा र १९ बर्सिया रश्मी थापा छन् ।

घाइतेहरूलाई मणिपाल शिक्षण अस्पतालमा र केहीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि लगिएको छ । उनीहरुको टाउको, हातखुट्टा, छाती लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको बताइएको छ । घाइते सबैको अवस्था मध्यम छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । दुई जनाले भने पहिरो आएको थाहा पाएपछि भागेर ज्यान बचाउन सफल भएका थिए ।

यस्तै, कास्कीकै पोखरा महानगरपालिका २५ हेम्जामा गएको पहिरोमा परी एक ७० बर्सिया महिलाको मृत्यु भएको छ । स्थानीय रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा उनकी आमा भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको पनि कास्की प्रहरीका प्रवक्ता डिएसपी हमालले बताए ।

पोखरा महानगरपालिका २६ स्थित पैतेको डाँडामा आएको पहिरोमा परी १ पुरुषको मृत्यु भएको छ । गएराती आएको पहिरोले घर पुर्दा अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको हो । सुनारको ब्लकले बनाएको २ कोठे घरलाई पुरेको खबर पाउनासाथ राती नै प्रहरी घटनास्थलमा पुगेको थियो । डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा दुर्गाबहादुरकी श्रीमती, १ छोरा र १ छोरीलाई सकुशल उद्धार गर्न सफल भएको थियो । बेपत्ता रहेका दुर्गाबहादुर भने शुक्रवार बिहान मृत भेटिएका हुन् ।

घरमा पहिरो झरेपछि पोखरा महानगरपालिका १८ छोरेपाटनको सिमलटुँडामा ३ जना घाइते भएका छन् । स्थानीय चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका हुन् । उनीहरुको नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.