www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ । गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो ।

जग्गाको भौतिक पूर्वाधार, ग्रामीण सडक, सिँचाइ, विद्युत्, खानेपानी, शीत भण्डार आदि प्राविधिक सहायताका साथै मल, बीउ, बिजन र बजार प्रवद्र्धनमा गाउँपालिकाले पहल गर्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए । उनका अनुसार बाँझो जमीन निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाई कृषि सुविधाबाट वञ्चित गरिने छ । गाउँपालिकाले कम्तीमा पाँच रोपनी वा सोभन्दा बढी जग्गामा मौसमअनुसार एकै प्रकारको खेती गर्ने कृषकलाई व्यावसायिक कृषकका रूपमा पहिचान गर्ने उनले जानकारी दिए ।

Batas

उनले गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाइने र यसको प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेन्टमा कोदाको परिकार मेनुमा राख्न अनिवार्य गरिने उल्लेख गरे । कोदो खेतीको प्रवद्र्धनका लागि गाउँपालिकाले विगत वर्षदेखि कोदो महोत्सव गर्दै आएको छ ।

गाउँपालिकाको कृषि स्रोतमा आधारित रैथाने बाली, जडीबुटी र फलफूल लगायतका कृषि उपजको उद्योग स्थापना गर्न निजी क्षेत्रलाइ आकर्षण गर्ने नीति लिएको छ । गाउँपालिका भित्रका कृषि समूह, विभिन्न मोडलका कृषि फर्मका कार्यक्रमलाई सम्बन्धित सरोकारवालासँग समन्वय गरी व्यावसायिक कृषिका रूपमा विकास गरिने योजना छ ।

गाउँपालिका भित्रका निश्चित स्थानमा आलु उत्पादन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उहाँले कौसी खेती, करेसाबारी, घरबगैँचामा तथा पोषणयुक्त बाली लगाउन प्रोत्साहन गरिने बताए ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.