www.tandavnews.com
Fact ~ In search of truth

देवघाटमा बोलबम मेला नहुने

रत्ननगर ।

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।

समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताए। “चितवन, नवलपुर र तनहुँको प्रसाशनसँगको छलफलबाट मेला नगर्ने निर्णय गरेका छौँ”, पौडेलले भने , “सबैभन्दा पहिला जीवन बचाउनुपर्छ, त्यसपछि धार्मिक क्रियाकलाप गर्ने हो ।” देवघाटमा करिब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । यो वर्ष साउन ५ गते पहिलो सोमबार परेको छ । “त्यसअघि नै मेला नआउन अपिल गर्दै भक्तजनसम्म सूचना प्रवाह गरिरहेका छौँ”, पौडेलले भने ।

साउने सोमबार दर्शानार्थीको भीड नै लाग्ने गर्दथ्यो । यही असार ७ गते परेको खण्डग्रास सूर्यग्रहणमा समेत देवघाटमा स्नानमा नआउन समितिले सार्वजनिक सूचना नै जारी ग¥योे । देवघाटमा स्वदेश तथा विदेशबाट स्नानका लागि तीर्थयात्री आउँथे । कोरोना भाइरसको सङ्क्रमण फैलिने जोखिमका कारण देवघाट प्रवेशमा समेत चैतयता निगरानी बढाइएको छ । बढीमा २५ जना सामाजिक दूरी कायम गरी तथा स्वास्थ्य सुरक्षासहित दाहसंस्कारमा सहभागी हुन पाइने गरी सार्वजनिक अपिल गर्दै आएको छ ।

Lama collectio News Middle

“भीडभाड रोक्न देवघाटका प्रवेशद्वारमा निगरानी बढाउने छौँ”, अध्यक्ष पौडेलले भने , “ठिमुरा, दासढुङ्गा, आपँटारीमा रोक लगाउनुपर्ने देखिएको छ ।” साउनका हरेक सोमबार ५० हजारभन्दा बढी तीर्थयात्री आउने गर्दथे । स्नान, पूजापाठ गरी फर्किन्थे । तर, अहिले सहज समय छैन । स्नानघाट व्यवस्थापन गर्ने, स्वयंसेवक खटाउनेजस्ता पूर्वतयारीसमेत छैन ।

समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले भीडभाड हुँदा सामाजिक दूरी कायम गर्न नसकिने भएकाले मेला हुन नसक्ने बताए । “देशभरबाट तीर्थालु आउने ठाउँ हो, कोही सङ्क्रमित आइदिए सङ्क्रमण फैलिन सक्छ”, उनले भने , “सङ्क्रमणबाट जोगाउनै मेला रोक्न लागेका हौँ ।”

सरकारले देशभर कुनै मेला महोत्सव आयोजना नगर्न निर्देशन नै जारी गरिसकेको छ । देवघाट क्षेत्रमा करिब १५० घरमा पूजा सामग्री पसल सञ्चालनमा छन् । मेलालाई लक्षित गरी सडक किनारमा झण्डै एक हजारले पूजा सामग्री बेच्न बस्ने गर्दथे । अहिले देवघाट सुनसान सरह छ, पसलमा व्यापार छैन ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip