www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी : हेलिकप्टर चड्ने होडबाजीले ढुवानी प्रभावित, पहिरो पीडितको राहत सदरमुकाममा थन्कियो

सन्तोष गौतम
म्याग्दी, रासस ।

म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकाका पहिरो प्रभावितका लागि सङ्कलित राहत सामग्री सदरमुकाम बेनीमा थन्किएको छ । पहिरो गएको एक हप्तासम्म पनि पर्याप्त राहत सामग्री ढुवानी हुन नसक्दा पीडितको दैनिकी कष्टकर बनेको छ ।

पहिरोबाट आफन्त, घरबास, बस्तुभाउ र जग्गाजमिन गुमाएका पीडितको तथ्याङ्क सङ्कलन, वर्गीकरण र बसोबास व्यवस्थापनमा ढिलाइ भएको छ । राहत वितरण व्यवस्थित नहुँदा एकरुपता हुन सकेको छैन । दैनिकजसो हेलिकप्टर उडे पनि खाद्यान्न, लत्ताकपडा, खानेपानीको पाइपलगायत सामग्री ढुवानी नभएकाले पहिरो पीडित समस्यामा परेका मालिका–७ बाइन्दफाँटका खिमन जुग्जालीले बताए ।

Batas

पहिरोले घर भत्काएपछि बिमका विभिन्न ठाउँका ६२ परिवारका २८४ जना बसेको मालिका आधारभूतको अस्थायी शिविरमा खाद्यान्न, लत्ताकपडा, सरसफाइ र खानेपानीको अभाव छ । दैनिकजसो हेलिकप्टर उडे पनि अति आवश्यक राहत सामग्री नपाएको बिमका पहिरो पीडित राजमान दर्जीले बताए ।

बिमको दुले, तल्लो गाउँ र नौरुमा गत शुक्रबार बिहानको पहिरोले आठ जनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए । हेलिकप्टरमा आउनेले धौलागिरि गाउँपालिकाको मराङ र शिवाङमा मात्र पुगेर विभेदपूर्ण व्यवहार गरेको बिमका पहिरो पीडितले गुनासो गरेका छन् । मुख्यमन्त्री र मन्त्री आएको सेनाको हेलिकप्टरमा बिहीबार बेनीबाट राहत सामग्री पठाउन सङ्घीय सांसद भूपेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले तयारी गरेका थिए । मन्त्रीहरु पीडितसँगको कुराकानी र स्थलगत निरीक्षण गर्ने खाली समयमा हेलिकप्टरबाट बेनीबाट बाइन्दफाँट, आरबाङ, राम्चे, शिवाङ र धारापानीमा राहत सामग्री पठाउन अर्थुङ्गेस्थित ब्यारेकमा सामान लगेर राखिएको थियो ।

“सडक अवरुद्ध भएका कारणले स्थलगतरुपमा तत्कालै अतिआवश्यक सामान हेलिकप्टरबाट पठाउन तयारी गरेका थियौँ”, प्रजिअ ढकालले भने  “सामान ढुवानी नगरी सेनाको हेलिकप्टर फर्कियो । हाम्रो मेहनत खेर गयो । बेनीमा सामान भएर पनि पीडितसमक्ष पु¥याउन नसक्दा दुःखित भएका छौँ ।” दैनिकजसो हेलिकप्टर चडेर पहिरो प्रभावित क्षेत्रमा जाने होडबाजीले राहत सामग्री ढुवानी प्रभावित भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित पहिरोबाट अति प्रभावित बिम, मराङ, ताकम र देवीस्थान जोड्ने सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ । दर्जनाँै ठाउँमा पहिरो गएकाले पहिरोमा बेपत्ताको खोजीमा सुरक्षाकर्मीसमेत एक दिनपछि पुगेका थिए ।

सडक नभएकै कारण दाताले पीडितका लागि दिएको राहत सामग्री बेनीको जिसस भवनमा बनाइएको गोदाममा थन्किएको प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाले बताए । धेरै जना एकै ठाउँमा बसेका र बसोबास व्यवस्थित नभएको तथा खानेपानी आयोजनामा क्षति पुगेका कारणले दूषित पानीका कारण लाग्ने रोगको जोखिम छ । धवलागिरी गाउपालिका–६ मराङको कल्लेनी, दमका, राम्चे र रिखामा १९ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएका कल्लेनीका दुई जना अझै बेपत्ता छन् । मराङका ७२ घरमा पूर्ण क्षति हुँदा ५१५ जना विस्थापित भएका छन् । पहिरोबाट घरबास गुमाएका र जोखिममा रहेकालाई सामुदायिक विद्यालयमा राखिएको छ ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले समन्वयमा कमजोरी हुँदा बेनीबाट बिहीबार पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न नसकेको स्वीकार गरिन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सेनाको हेलिकप्टरलाई एक पटक मात्र उडान गर्न सिफारिस गरेकाले चाहेर पनि सामग्री लैजान नसकेको बताइन् । आज हेलि मगाएर ढुवानी गर्न पहल गरेको मन्त्री पुनले बताइन् । राहत र पहिरो पीडितको व्यवस्थापनको कामलाई सहजा बनाउन दरवाङदेखि ताकम हुँदै मुना र बिम हुँदै मराङ जोड्ने मर्मतको लागि जिल्ला समन्वय समितिले रु एक करोड विनियोजन गरेको प्रमुख देवेन्द्र केसीले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.