www.tandavnews.com
Fact ~ In search of truth

हेलिकप्टरको आवाजसँगै खाद्यान्नको आस

हवाईमार्ग बाहेकको विकल्प छैन तर केन्द्र सरकार सुन्दैन

हेमन्त केसी
जाजरकोट, रासस ।

गत शुक्रबार पहिरोबाट थिलथिलो परेको बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा खाद्यान्न आपूर्ति नहुँदा समस्या हुँदै आएको छ । बारेकोटमा तीनपटक हेलिकप्टर पुगे पनि आवश्यक खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीलाई समस्या भएको हो । गैरखाद्य सामग्री मात्र ढुवानी भएपछि खाद्यान्न ढुवानीको आसमा बसेका ५०० विस्थापित सर्वसाधारण दुःखी भएका हुन् ।

बारेकोट सिनचौरका कालीबहादुर कामीले हेलिकप्टरले खानेकुरा ल्याउला भनेको कम्मल र त्रिपाल मात्र लिएर आएको बताए । “घर छाडेको आज हप्ता दिन बढी भइसक्यो, घरमा भएको केही चामल र पिठो ल्याएर अहिलेसम्म जेनतेन गुजरा चलायौँ । अब के खाने ? राहत आउला भन्ने आसमा थियौँ तर अहिलेसम्म राहत पाइएन”, उनले गुनासो सुनाउँदै भने , “त्रिपाल र कम्मलको पनि आवश्यकता छ तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा पेट भर्नु छ । बाँच्नका लागि पनि नखाइ भएन तर के खाने ? हेलिकप्टरको आवाज सुन्दा पनि केही खानेकुरा ल्याउँछ कि भनेर आशा जाग्छ ।” पहिरो गएयता तीनपटक हेलिकप्टर आइसकेको छ तर हेलिकप्टरले केही थान त्रिपाल, कम्मल र सात बोरा चामल मात्र त्यहाँ पु¥याएको छ ।

Batas

“गत असार २६ गतेदेखि स्थानीय कालिका प्राविमा बसेका छौँ । विद्यालयको छाना चुहिन्छ । खाने अन्न छैन, घरमा भएको अन्न पिस्ने घट्ट खोलामा आएको बाढीले बगायो, के खाएर बाँच्ने हो”, कामीको भनाइ छ । बाढीपहिरोको त्रासले एक हजार ५५ परिवार विस्थापित भएर स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् तर धेरै परिवारसँग खाद्यान्न सकिँदै गएको छ । बारेकोटमा किनेर खाने खाद्यान्न पनि पाइँदैन ।

खाद्यान्न नपाइएपछि विस्थापित भोकभोकै पर्न थालेको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताइन् । बारेकोटमा उत्पादित अन्नले वर्ष दिनमा छ महिना मात्र खान पुग्छ । यातायात असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्रका खाद्य पसल छैनन् । मानिस खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन् तर खाद्य डिपो महिना दिनदेखि रित्तै हुँदा समस्या भएको हो । बर्सेनि खाद्य सङ्कट भइरहने बारेकाटका करिब २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिबेला रित्तै छ ।

बारेकोटमा खाद्य सङ्कट दिनहुँ चुलिँदै गएको छ तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ । बारेकोटको खाद्य सङ्कट टार्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चालु आर्थिक वर्षमा थपसहित तीन हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ तर आर्थिक वर्ष सकिँदा पनि चामल ढुवानीको जिम्मा लिएका एनबी विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले दुई हजार ४४२ क्विन्टल मात्र चामल ढुवानी गरेका छन् । एक हजार ५८ क्विन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य सङ्कट परेको हो ।

“गाउँमा खाद्यान्नको अभाव छ, ठेकेदारले चामल ढुवानी गर्दैनन् । गाउँमा उत्पादन भएको अन्न सकियो, पसल छैनन् । डिपो रित्तै छ, के किनेर खाने ?” विस्थापित बारेकोट–४ का देवराज बोहोराले भने । विस्थापित परिवार विपन्न वर्गका छन् । लकडाउनकै कारण धेरै मानिस गाउँ फर्किएका छन् । रोजगारीका अवसर छैनन्, त्यही माथि पहिरोले बारेकोटका विभिन्न गाउँ तथा बस्ती छियाछिया परेका छन् । मानिस कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन् । बर्षा रोकिएको छैन । विस्थापित सबै परिवार राहतकै पर्खाइमा छन्, तर अहिलेसम्म कतैबाट सहयोग भएको छैन ।

“बारेकोटका जिरी, तल्लोजिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, कोट्लीलगायतका गाउँमा केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ । गाउँपालिका एक्लैले विपद्को सामना गर्न सक्ने अवस्था छैन । विस्थापितलाई खानबस्नका लागि निकै समस्या छ”, उपाध्यक्ष शाहीले भनिन् । यातायात र सञ्चार सम्पर्कबाट बिच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ । राहत सामग्रीका लागि हवाईमार्ग बाहेकको विकल्प छैन तर केन्द्र सरकार सुन्दैन । बारेकोटको एक गाउँबाट अर्को गाउँ जान र एक वडाबाट अर्को वडा जान कम्तीमा छ घण्टा लाग्ने भएकाले पनि तथ्याङ्क सङ्कलनमा समस्या भएको उनले पीडा सुनाइन् ।

पानी निरन्तर परिरहेकाले जमीन भासिने र पहिरो जाने क्रम नरोकिँदा पहिरो जाने डरले घर छाडेका स्थानीयवासी विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल हालेर बसिरहेका छन् । धेरैजसो विस्थापित स्थानीय विद्यालयमा बसिरहेका छन् । उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन् तर त्रिपाल नहुँदा कोरोनालगायतको जोखिम मोलेरै सयाँैको सङ्ख्यामा कोेचिएर बस्न विवश भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले भने ।

गत असार २५ मा बारेकोट–४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता भएका छन् । त्यस्तै बारेकोट–६ धुमाखोलाले बगाउँदा बेपत्ता दुई जना पनि अझै फेला पर्न सकेका छैनन् ।
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.