www.tandavnews.com
Fact ~ In search of truth

नारायणीको बहाव ४४ वर्षको उच्च

नारायण अधिकारी
चितवन, रासस ।

नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।

यसबीचको अवधिमा सन् २०१८ को वर्षात्मा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले जानकारी दिए । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सन् १९७४ यताको सबैभन्दा बढी पानी परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो ।

Batas

जलस्रोतविज्ञ रायले भने , “४४ वर्षको अवधिमा नारायणी नदीमा पानीको बहाव आज बिहान सबैभन्दा उच्च भएको देखिन्छ ।” जल विज्ञान विभागका वरिष्ठ जलविज्ञ विक्रम श्रेष्ठ कोशी पनि नारायणी नदीले खतराको तह नाघेको बताउछन् । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह ७ दशमलव ३ मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।

जलविज्ञ श्रेष्ठले आज पाँचदेखि सात घण्टा पानीको बहाव यही अवस्थामा रहने बताए । भोलिबाट क्रमशः घट्दै जाने उनको भनाइ छ । पहिलेका वर्षहरुमा ढिलो गरी मनसुन सक्रिय हुने गरेको भए पनि यस वर्ष छिटो मनसुन शुरु भएको थियो । गएको जाडो मौसम र प्रि–मनसुनको समयमा औषतभन्दा बढी पानी परेका कारण नारायणी नदीका सहायक नदी, खोलाहरुमा पानीको बहाव बढ्न गएको छ । कतिपय ठाउँमा पहिरो गई नदी, खोला थुनिएर फुट्ने गर्दा पनि तिनमा एक्कासी पानीको मात्रा बढ्न गएको उनको भनाइ छ ।

नारायणी नदीमा मस्याङ्दी, त्रिशूली, सेतीजस्ता ठूला नदीहरु मिसिएका छन् । मुग्लिनमा त्रिशूलीमा मस्याङ्दी, गाईघाटमा त्रिशूलीमा सेती मिसिएको छ भने देवघाटमा त्रिशूलीमा कालीगण्डकी मिसिएर नारायणी नदी बनेको हो । यी ठूला नदीहरुमा प्रसस्त साना नदी र खोलाहरु मिसिएका छन् । नारायणीको शिर क्षेत्रमा कास्की, स्याङ्जा, गोरखा, लमजुङ, रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला रहेका छन् ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालका अनुसार गएको २४ घण्टामा कास्कीमा ११८ दशमलव ७ मिलिलिटर र गोर्खामा १४५ दशमलव ८ मिलिलिटर पानी मापन गरिएको थियो । त्यस क्षेत्रमा पानी बढी परेका कारण नारायणी नदीको बहाव उच्च भएको हो । नदी बढेसँगै यसको प्रत्यक्ष प्रभाव चितवन र नवलपरासी जिल्लामा पर्दछ । नारायणी नदी किनारका बस्तीमा पानी पसेपछि सोमबार साँझबाटै केही बस्तीलाई स्थानान्तरण गरिएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १६, २६ र २७ मा नारायणी नदीको पानी पसेपछि त्यहाँको बस्ती स्थानान्तरण गरिएको थियो । नारायणी नदीमा पछिल्ला वर्षहरुमा लगाइएको बाँधका कारण नदीको पानी बस्तीमा पस्नबाट धेरै हदसम्म जोगिएको स्थानीय बताउँछन् । नारायणीमा मिसिएको त्रिशूलीको बहाव उच्च भएर कटान गर्दा इच्छाकामनाको फिस्लिङमा दुई तले घरसहित तीन घर बगाएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.