www.tandavnews.com
Fact ~ In search of truth

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन ।

माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरलगायतका साधनले पहिरो पन्छाइएको उनले जानकारी दिए । सोमबार दिनभर वर्षा र पहिरो खसिरहेपछि काम गर्न सकिएको थिएन । आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको थियो । पहिरो खसेको ठाउँ नारायणगढबाट ३१ दशमलव पाँच किलोमिटर मुग्लिनतर्फ पर्दछ ।

Batas

सो ठाउँ इच्छाकामना गाउँपालिका–६ हो । सो सडकको पहिरो खस्ने अन्य ठाउँ मर्मतसम्भार गरिएको भए पनि त्यस ठाउँमा काम गर्न शुरु गर्दागर्दै पहिरो खस्न थालेको हो । यसअघि पनि त्यही पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सो सडक अवरुद्ध हुँदा धेरै सवारीका साधन रोकिएका थिए । सडक एकतर्फी खुलेसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन् । राजधानी काठमाडौँतर्फ जाने सवारी भने अगाडि पृथ्वी राजमार्गमा पुगेर रोकिने भएका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.