www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौं जाने राजमार्ग अझै खुलेको छैन, शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा ल्याउने तयारी

चितवन ।

राजधानी काठमाडौँसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारबाट पूर्णरुपमा अवरुद्ध छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इ कृष्णराज अधिकारीका अनुसार मौवाखोलामा बुधबार बिहान खोला मूलधारमा पठाएर जालीको पर्खाल लगाउन थालिएको छ । विङवाल अर्थात पखेटे पर्खाल लगाउने काम राति अबेरसम्म गरिएको थियो । दिनभर ४२ जना मजदूरले पर्खाल लगाउने काम गरेका थिए । दिउँसोको समयमा नेपाली सेनाले पनि सहयोग गरेको उनले जानकारी दिए । आज बिहान सबेरैदेखि कामलाई निरन्तरता दिइएको छ ।

Batas

नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर पर्खाल लगाउने काम भइरहेको छ । दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ । कार्यालय प्रमुख अधिकारीले भने , “थप पानीले समस्या नवनाएमा शुक्रबार दिउँसोसम्ममा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउँछौँ ।” सो सडकखण्डको मुग्लिनबाट नौबिसेसम्म २०० भन्दा बढी पहिरा खसेका थिए । ती पहिरो पन्छाउने र मर्मतसम्भार गर्ने काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए । राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग भएकाले सबैको ध्यान, चासो र सहयोग जुटेकै कारण कामले तीव्रता पाएको छ ।

ठाउँठाउँमा एकतर्फी सडक खुलाइएको छ । ती ठाउँमा मालबाहक ट्रक अव्यवस्थित ढङ्गले पार्किङ हुँदा काममा अप्ठ्यारो भएको उनले बताए । यता नारायणग–मुग्लिन सडकखण्डको चारकिलो र १६ किलोमा सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक विभागले हालका लागि राजधानी काठमाडौँ जान त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ । धेरै दिनसम्म राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक र मालबाहक सवारी प्रभावित बनेका छन् । यही साउन ४ गतेबाट देशैभर अविरल वर्षा भइरहेकोमा बुधबार दिउँसोबाट यस क्षेत्रमा वर्षा कम हुँदै आएको छ ।
–––

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.