www.tandavnews.com
Fact ~ In search of truth

मध्यपहाडी लोकमार्गको टाउको दुखाइ बन्यो ‘बोक्से’

खेमराज गौतम
गलकोट, रासस ।

जिल्लाको ‘लाइफलाइन’ मध्यपहाडी लोकमार्गको बागलुङ–बूर्तिवाङ सडक पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । बागलुङ नगरपालिका–३ स्थित बोक्सेगैरामा मङ्गलबार बिहान खसेको पहिरोले अवरुद्ध बनेको लोकमार्ग बेलुका एकतर्फी सञ्चालनमा आएको थियो । भौगोलिक हिसाबले निकै जटिल तथा बलौटे माटोका कारण समस्याग्रस्त बोक्से बुधबार बिहानैदेखि पुनः अवरुद्ध भयो । दिनभर लोकमार्गले पहिरो खुलाउने काम गरे पनि असफल भयो ।

बोक्सेगैरामा वर्षौँदेखि पहिरो खस्ने, सडक हिलाम्य हुने र गाडी फस्ने समस्या छ । यसका बारेमा दैनिकजसो यात्रुले सुधार र स्तोरन्नतिका लागि पहल र दबाब दिइरहे पनि केही सुधार हुनसकेका छैन । यसबाट जिल्ला सदरमुकाम आसपासका नागरिकले मात्र होइन दूर मानिएका ढोरपाटन, निसिखोला र तमानखोलाका पक्की सडकमा सरर यात्रा गर्दै आएका नागरिकले समेत ठूलो सास्ती पाइरहेका छन् ।

Batas

पहिरो खुलाउनका लागि दिनभर पहल र प्रयास जारी राखिए पनि लगातारको वर्षाले पहिरो नरोकिएको र स्थानीयवासीबाट पहिरोको माटो फाल्ने कार्यमा अवरोध भएपछि समस्या भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए । “हामीले आवश्यक औजार र प्राविधिक खटाएका छौँ, पहिरो पन्छाउँदा सडकमुनिका बस्ती जोखिममा पर्ने गुनासो आएको छ”, थापाले भने “तत्कालै पहिरो हटाउन समस्या छ, पहिरोको माटो अन्तै लगेर फाल्न त दुई तीन दिन लाग्ला ।”

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको लोकमार्ग बर्सातका कारण बाढी पहिरोले कतै भासिने र कतै कालोपत्र उक्किने र पुरिने गर्दा सवारी आवागमन असहज बनेको गलकोट नगरपालिका–७ मल्मका याम सुनारले गुनासो गरे । सवारी हिलोमा फसेर सास्ती त भएकै थियो त्यसमाथि पटक–पटक अवरुद्ध हुँदा समस्या सिर्जना भएको छ ।

बोक्से मात्र हैन काठेखोला, गलकोट, बडिगाड, ढोरपाटन र निसिखोलाका विभिन्न स्थानमा पहिरो खस्ने गरेको छ । लोकमार्ग अवरुद्ध हुनासाथ एकतर्फी खुलाउने नीतिका साथ तत्कालै पहल भए पनि बोक्सेमा ठूलो समस्या आएको आयोजनाको भनाइ छ । बोक्सेको पहिरोले सडकमुनिका तीन घर पहिरोको उच्च जोखिममा परेको छ ।

सडक माथिबाट आएको पहिरो पन्छाएर सडक तल फाल्दा घर नै पुरिने थालेकाले पहिरोको माटो अन्यत्र लगेर फाल्नुपर्ने स्थानीयवासी गीता रेग्मीले बताइन् । “लोकमार्ग सञ्चालन नहोस् भन्ने हाम्रो चाहना होइन तर पहिरोको दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक छ”, रेग्मीले भनिन् , “लोकमार्ग पन्छाउने निहुँमा घरमाथि माटो फाल्दा झनै समस्या भएको हो ।” पहिरो पन्छाउँदा घरको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ । लोकमार्ग सडक खण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको स्थानीयवासीको आरोप छ ।

बाढीको त्रासले जाग्राम बस्दै माझी बस्ती

अविरल वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रका बस्ती उच्च जोखिममा परेका छन् । बागलुङ तथा पर्वत जिल्लाको आसपासमा रहेका कालीगण्डकी किनारका माझी बस्ती पनि बाढीको उच्च जोखिममा परेका छन् । केही दिनदेखिको निरन्तर वर्षाले नदीहरूमा पानीको बहाव बढेको छ ।

कालीगण्डकी बहेको बागलुङ तथा पर्वत जिल्लाको तटीय क्षेत्रका माझी बस्तीका बासिन्दा नदीको बहाव बढेसँगै जाग्राम बस्न थालेका छन् । मालढुङ्गामा रहेको कालीगण्डकी किनारका माझी बस्ती बाढीको उच्च जोखिममा परेका कारण उच्च सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ ।

हिउँद र बर्खाको समयमा क्रसर सञ्चालक तथा बालुवा उठाउने ठेकेदारहरुले मनोमानी ढङ्गले डोजर चलाएर बालुवा झिक्ने गर्दा अहिले आफूहरुको बस्ती जोखिममा परेको माझी बस्तीका स्थानीय धनीकला थापाको गुनासो छ ।

“बाह्रैमास क्रसर व्यवसायीले कालीगण्डकी नदीमा ठूला औजारको सहायताले बालुवा निकाल्छन्, बर्खा लाग्यो भने बाढी जति हाम्रो घरमा आउँछ”, उनले भनिन् , “सरकारले पनि रोक्दैन, घर बगाउँछ कि भन्ने चिन्ताले रात दिन सताउने गरेको छ ।” धनिकला थापाले भने जस्तै हिउँद र बर्सातको समय कालीगण्डकीमा बालुवा झिक्नेको भीड देखिन्छ ।

यसतर्फ पर्वत तथा बागलुङ दुवै जिल्लाका प्रशासन मौन देखिन्छन् । पानी पर्दा बस्तीनै बगाउने डरले बेला बेलामा नदीको बहाव कति छ भनेर हेरिरहने र जाग्राम बस्ने गरेको स्थानीयवासी प्रकाश माझीको भनाइ छ । “साना–साना बच्चा छन्, रातभर पानी प¥यो भने उनीहरुलाई पनि सुत्न नदिई जाग्राम बस्ने गर्छौँ”, उनले भनिन् “बस्ती तल बाढी र बस्ती माथिबाट पहिरो आउने चिन्ताले बढी सताउने गरेको छ ।” हरेक वर्ष नदी किनारका बस्ती डुबानमा पर्नाका कारण जथाभावी नदीको दोहन गर्नु नै भएको स्थानीयवासी माझी समुदायको गुनासो रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.