www.tandavnews.com
Fact ~ In search of truth

महानगरका कर्मचारीको नियतमाथी प्रश्न ! ग्राभेल करको ५ लाख ६८ हजार खै ?

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानगरपालिकामा रामघाट र कवाडी ठेक्का प्रकरण सेलाउन नपाउदै ग्राभेल उत्खनन् तथा निकासी करमा गडबडी भएको पाइएको छ ।  पोखरा–२३ मा निर्माणधीन पुलको ग्रावेल निकासी काण्डमा नयाँ तथ्य फेला परेको छ । पुल निर्माण गर्ने जिम्मा पाएको निलगिरी नेश्नल जोइन्ट भेन्चरले पुलको काम त समयमा पुरा गर्न सकेन, खहरे खोलाबाट ग्राभेल निकासी कार्यमा पनि गलत गरेको पाइएको छ ।

पोखरा महानगरपालिकाको चरम लापरवाहीको कारण ठेकेदार बसन्त लामाले तिर्नुपर्ने कर भन्दा ५ लाख ६८ हजार रुपैँया कम रकम दिएका छन् । त्यति मात्र होइन बसन्तले महानगरपलिकाबाट पाएको स्वीकृती पत्रमा उल्लेख भएको ग्राभेलको परिणाम भन्दा धेरै ग्राभेल खोलाबाट उठाएको अनुगमन समितिले ताण्डव न्यूजसँग बतायो ।  ठेकेदार लामाले पुल बनाउने काममा भन्दा ग्राभेलमा ध्यान दिएको भनेर स्थानीयले पटक–पटक महानगरपालिकालाई जानकारी गराएका थिए ।

Batas

लामाले २०७७ जेष्ठ २० गतेदेखी २०७७ असार २ गते अर्थात १४ दिनको लागि ग्राभेल निकाल्ने अनुमती पाएका थिए । पत्र अनुसार १४ दिनमा १००० घ.मि ग्राभेल निकाल्ने अनुमती लिन लामाले १ घ.मिको १ सय ४२ को दरले गर्दा १ हजार घ.मिको १ लाख ४२ हजार मात्र कर तिरे । तर ग्राभेल प्रति घ.मिको ७ सय १० को दरले कर तिर्नु पर्ने हो । जस अनुसार ७ लाख १० हजार रुपैया लामाले कर बुझाउनु पर्ने थियो । महानगरपालिकाको कर्मचारीको लापरवाहीले हो या नियतवश हो यसमा ५ लाख ६८ हजार रकम घाटा लाग्यो । स्रोतका अनुसार यसरीनै मिलाएर कर्मचारीले रकम खाने गरेको आरोप छ ।

त्यति मात्र होइन लामाले महानगरपलिकाबाट पाएको स्वीकृती पत्रमा उल्लेख भएको ग्राभेलको परिणाम भन्दा १ सय २७ घ.मि ग्राभेल बढि उठाएको अनुगमन समितिले पत्ता लगाएका छन् । ‘लामाले करमा त कसरी सेटिङ मिलाएर ५ लाख बढि रकम पाएका भन्ने कुरा पछि आउला,’ महानगरका एक कर्मचारीले भने, ‘त्यति मात्र होइन लामाले १००० घ.मि ग्राभेल उठाउने स्वीकृती पाएका थिए तर ११२७ घ.मि ग्राभेल त खोलमा छेउमै थुपारेको छ । बाहिर झन धेरै लगेका थिए, त्यसको त हिसाबकिताब छैन ।’

हुन पनि ठेकेदार लामाले ग्राभेल उठाउन १४ दिनको लागि स्वीकृती पत्र पाएपनि २ वटा डोजरले उत्खनन् गरी ७ वटामा ग्राभेल निकासी गरेको गुनासो आएपछि महानगरपालिकाले स्वीकृती पाएको ५ दिनमै रोक्न लगायो । महानगरकै प्राविधिकका अनुसार यदि २ वटा डोजर प्रयोग गरिन्छ भने १००० घ.मि ग्राभेल उत्खन्न गर्न २ दिन पनि लाग्दैन् । प्राविधिककै भनाईलाई आधार मान्ने हो भने निकाल्नु पर्ने परिणाम भन्दा दोब्बर बढि ग्राभेल उत्खन्न गरी निकास गरिएको छ ।

एक सय ४२ रुपैयाँका दरले तिरिएको करको रसिद

ठेकेदार लामाले आफुले पाएको जिम्मेवारी भन्दा पनि ग्राभेल उठाउन बढि ध्यान दिएको गुनासो आएपछि सबै घटना सार्वजनिक भएको हो । ठेकेदारले पूर्वधार विकास कार्यालय गण्डकीबाट २०७५ साल फागुन १९ गते सम्झौता गरेर २०७७ साल जेष्ठ १९ गते सम्पन्न गर्नु पर्ने थियो तर काम ५० प्रतिशत मात्र भएको छ ।

 

‘ठेकेदारले थप रकम दाखिला गर्नु पर्ने हुन्छ’

किरण प्रसाद कोइराला
अन्तरिक व्यवस्थापन (भन्डार तथा अपूर्ति) शाखा प्रमुख , पोखरा महानगरपालिका

हाम्रो प्राविधिक शाखालाई थाहा नभएको हुनाले त्रुटि भएको हो । राजस्व परामर्श समितिले तोकेको दर र अर्थिक ऐनले तोकेको विषय फरक प¥यो । अर्थिक ऐन अनुसार प्रति घ.मि १४२ रुपैँया तोकेको थियो, परामर्श समिति निर्णय गरेर ७१० तोकेको रहेछ । प्राविधिक शाखाकालाई थाहा नहुँदा त्रुटि भएको भन्ने हामीकहाँ जानकारी आएको छ । हामीले अर्थिक ऐन भन्दा पनि राजस्व परामर्श समितिले गरेको निर्णय मान्नुपर्छ । हाम्रो प्राविधिक शाखाका कर्मचारीलाई त्यो विषयमा जानकारी नै रहेन छ । कर तिर्दा परामर्श समितिले भनेकै दर ७१० प्रति घ.मिकै आधारमा तिर्नु पर्ने हो जुन कुराको जानकारी प्राविधिक शाखाका कर्मचारीलाई भएन् । महानगरको निर्देशन बमोजिम ठेकेदार लामाले सबै रकम दाखिला गर्नु पर्छ । सबै रकम दाखिला हुन्छ । ग्राभेल निकासीको विषयमा अनुगमन भएको छ, प्रतिवेदन पनि तयार भएको छ ।

 

निकासी गरेको छैन, भ्याली भित्रै राखेको मात्रै हो : ठेकेदार लामा

बसन्त लामा

महानगरका कर्मचारीले नै राजश्वमा टेक्निकल फल्ट भएको स्विकारीरहँदा ठेकेदार लामा भने गल्ती नभएको बताउँछन् । ‘हामिले क्रसर राखेर निकालियो भने ७ सय १० रुपैयाँ हो । खोलाबाट निस्केको हुन्छ नि, ढुंगा माटो बालुवा मिक्स भएकोलाई १ सय ४२ रुपैयाँ नै हो । उहाँहरुले भनेको रेट होइन ’ उनले भने ।

राजश्व परामर्श समितिले ७ सय १० रुपैयाँ तोकेको छ नि ? भन्ने प्रश्नमा लामाले भने ‘त्यो के समिति हो मलाईै थाहा भएन । तर ७ सय १० होइन ।’

उत्खनन् भएको क्षेत्रबाट सामाग्री निकासी गरेको पाइएपनि उनले निकासी नगरेको बताए । अनुगमनका क्रममा तोकेको भन्दा बढी सामाग्री उत्खनन् गरेको अनुगमन समितिले नै भनिरहँदा ठेकेदार लामाले भने बढी उत्खनन् नगरेको बताएका छन् । ठेकेदार लामा भन्छन् ‘ उहाँहरुले हेर्नुभाछ, नाप्नुभाछ । अहिले पनि सामान त्यहिँ छ । त्यहिँ हेरे हुन्छ । माल निकासी गरेको छैन । मैले केहि गरेको छैन ।’

त्यहाँको सामाग्री बागलुङ बसपार्क, लेखनाथ लगायतका क्षेत्रमा निकासी पनि गर्नुभएको छ नि ? हाम्रो प्रश्नमा लामाले भने ‘निकासी गरेको छैन । यहिँ भ्याली भित्रै राखेको मात्रै हो ।’

सम्बन्धीत भिडियाे

सम्बन्धीत न्यूज

कहिले बन्छ पोखरा-२३मा पुल ?

पुलको काम ठप्प : ग्राभेलमा अझै चलखेल, महानगरपालिकाको अनुगमन

सभापति कोइरालाको ‘कमाण्ड’ भएन, ठेकेदारले टेरेनन्

पोखरा महानगरापालिकाका अधिकृत कोइरालालाई कसले गर्ने कारवाही ?

ताण्डव न्यूज प्रभाव : पाेखरा-२३ मा लकडाउन खुलेको तीन महिनामा पुल बन्ने

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.