www.tandavnews.com
Fact ~ In search of truth

लाचार महानगर प्रशासन, गलत गर्ने कर्मचारीलाई सुटुक्क उन्मुक्ती !

पोखरा
ताण्डव न्यूज ।

पछिल्ला केही महिनायता पोखरा महानगरमा राजश्वमा अनियमितता घटनाहरू सार्वजनिक भइरहेका छन् । कम राजश्व लिएको, राजश्वमा घटबढ भएको, लिनुपर्ने राजश्व नलिइएको लगायतको कर्तुतहरूको लिस्ट नै बनिरहँदा पुनः अर्को कर्तुत बाहिरिएको छ । महानगर प्रशासनले गल्ती गर्नेलाई कारवाही नगरी उल्टो गल्ती पत्ता लगाउने कर्मचारीलाई अप्ठ्यारोमा पारेका छन् ।

घटना हो, पोखरा–१३ वडा कार्यालयको । उक्त कार्यालयका कर्मचारी खरिदार दिपेन्द्रप्रसाद मरासिनीले जनताले तिरेको राजस्व खल्तीमा खन्याएको थाहा भएपछि महानगरमा कारवाहीका लागि सिफारिस भएको थियो ।
मरासिनीले २ जना सेवाग्रहीबाट २३ हजार ७ सय ९५ रुपैयाँ घर नक्सापास वापतको राजस्व लिएका थिए । २०७६ फागुन १२ गतेको मितिमा हस्तलिखित रसिदमा सो राजस्व लिएपनि सफ्टवेयरमा एक हजार ३० रुपैयाँ मात्रै इन्ट्री भएको थियो ।

Batas

वडामा रहेको सेवा केन्द्रलाई सो अपचलनबारे थाहा भएपछि मरासिनीले ०७७ असार १६ गते राजस्वको बाँकी रकम इन्ट्री गरेका छन् ।

सो सेवा केन्द्रका प्रमुख हुन् , अशोककुमार सुनार । सुनारले यसबारे महानगरमा कारवाहीका लागि सिफारिस गरेका थिए । तर महानगरले मरासिनीलाई उन्मुक्ति दिन बाटो खोजिरहँदा कारवाही सिफारिस गर्ने सुनार महानगर कार्यालयमा तानिएका छन् ।

पुनः स्पष्टिकरण मागेका छौँ : पौडेल

पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले यसबारे स्पष्टिकरण मागिएको बताए । ‘यसबारे स्पष्टिकरण मागिएको थियो । चित्त बुझ्दो स्पष्टिकरण नआएपछि पुनः मागिएको छ ।’ उनले भने, ‘उहाँले सर्भर नचलेका कारण हातैले रसिद काटेको भनेर भन्नुभएको छ । सेवाग्राहीले सर्भर नचलेको कुरा नबुझ्ने र काम हुनुपर्ने बताएपछि हतारमा हातैले काटेको र पछि सर्भरमा राखेको बताउनुभएको छ ।’

पुनः स्पष्टिकरण मागिएको जनाउँदै उनले भने ‘लकडाउनको कारण पनि केही पछि सर्भरमा दाखिला गरेको उहाँको तर्क छ । बदनियतले यस्तो गरेको होइन भन्नुभएको छ । पुनः स्पष्टिकरण माग गरेका छौँ । चित्त बुझ्दो आएन भने कानुनअनुसार कारवाही गर्छौँ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.