www.tandavnews.com
Fact ~ In search of truth

सञ्चालनको तयारीमा सौराहाका होटल

भरतपुर ।

चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् ।

आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । र्यालीमा १७ सहभागी थिए ।

Batas

सौराहामा क्षेत्रीय होटल सङ्घको तर्फबाट टिसर्ट प्रदान गर्दै सङ्घका अध्यक्ष दीपक भट्टराईले साइकलयात्रीलाई बिदाइ गरेका हुन् । कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए । उनले भने , “अब हामी सौराहा खुला गर्दैछौँ भन्ने सन्देश दिन थालेका छौँ, त्यसका लागि तयारी पनि गरिरहेका छौँ ।” उनले व्यवसायी खुशी हुने अवस्था नरहे पनि होटल खोल्नुको विकल्प नभएको बताए । उनले होटल सञ्चालनका लागि सरसफाइ गर्न थालिएको भन्दै आवश्यक सावधानीका उपायहरु अपनाइने जानकारी दिए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र स्वास्थय चेतनासमेत जगाउने उद्देश्यले गरिएको साइकलयात्रा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए ।

उनले साइकलबाटै पर्यटकीय क्षेत्रहरुमा पुग्न सकिने स्थलको प्रचार गरी साइकलबाटै भ्रमण गर्ने सकिने वातावरण तयार पार्नुपर्ने बताए । सौराहादेखि कसरासम्मको साइकलयात्रापश्चात अब छिट्टै नै सौराहादेखि लोथरसम्मको साइकलयात्राको कार्यक्रम रहेको उनले जानकारी दिए ।

यस्तै क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले पछिल्लो समय साइकल चलाउनेको सङ्ख्या बढ्दै गइरहेको भन्दै साइकलमार्फत नै आन्तरिक पर्यटन प्रवद्र्धनमा लागिपरेको बताए। सौराहामा ११० होटल सञ्चालनमा छन् । चार महिनादेखि सबै ठप्प छन् ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.