www.tandavnews.com
Fact ~ In search of truth

पर्वत : दुर्लुङ्गका दश घर तत्काल स्थानान्तरण गर्न सुझाव

पर्वत ।

पर्वतको दुर्लुङ्गमा डेढ महिनापहिले गएको पहिराको आसपासका १० घरलाई तत्काल सुरक्षित स्थानमा स्तान्तरण गर्न भूगर्भविद्ले सिफारिस गरेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले प्रतिवेदन सार्वजनिक गर्दै पहिरो गएको ठाउँ नजीक रहेका १० घर अत्यन्त जोखिमा रहेका कारण तत्काल स्थानान्तरण गर्न सिफारिस गरेको हो । गत जेठ ३१ गते राति गएको पहिरोमा परी पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ्गको ढकालबारीमा नौ जनाको ज्यान गएको थियो ।

भूगर्भविद्को टोलीले पहिरो जानुको कारण र त्यस क्षेत्रको जमीनको आगामी अवस्थाबारे प्रतिवेदन बुझाएको छ । “पहिरोको वर्तमान अवस्था र निकट भविष्यमा हुने वर्षालाई समेत आङ्कलन गरी पहिरो आसपासका १० घर तत्कालका लागि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ”, अध्ययनको नेतृत्व गरेका भूगर्वविद् शिवकुमार बाँस्कोटाले भने , “पहिरो बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इन्जिनीयरिङ पद्धति अवलम्बन गर्न सकिने पनि प्रस्ताव गरिएको छ ।”

Batas

अध्ययनले पहिरो जाँदाको दिन करीब ३ घण्टासम्म लगातार मुसलधारे वर्षाको कारण भिरालो जमीनमा पहिरो उत्पत्ति भई सतहको माटो र रूखबिरुवासमेत बगेको तथा केही तलको समथर स्थानमा छोटो समय थुनिएको थियो । एक्कासि पहिरो विस्फोट हुँदा तल्लो तटीय क्षेत्रको समथर भूभागमा रहेको बस्ती बगाएर ल्याएको गेग्रान थुप्रिई दुई घरमा क्षति पुग्नाका साथै आसपासका १० घर उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा काफलबोट/काउलेका सात घर र खेत सहितको जमीन अस्थिर भई तलतिर बिस्तारै सर्ने क्रममा रहँदा घरहरु ढल्केको तथा चर्केको अवस्थामा पाइएकाले त्यो ठाउँको बस्तीलाई पनि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ ।

ढकालबारीदेखि नुवारखोलासम्म ठूलो भूभाग पनि लामो समयदेखि तलतिर सरेको पाइएको भूगर्भविद् बाँस्कोटाले बताए । उक्त स्थानमा रहेका घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र उक्त क्षेत्रभित्र रहेका पानीका मूलको व्यवस्थित निकास दिन पनि सुझाव दिइएको छ । सडक निर्माणका क्रममा जमीन काटिँदा, काटिएको माटो अव्यवस्थित तवरले फ्याकिँदा तथा साइड ड्रेन ९नालीहरु० व्यवस्थित नहुँदा कोटगाउँ, गैराथोक र घोगेनी क्षेत्रका केही घरहरुमा जोखिम बढेको देखिएकाले त्यस्ता कार्यहरु गर्दा आवश्यक प्राविधिक अध्ययन तथा सर्वेक्षण गरी बस्ती सुरक्षित हुने हिसाबले गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।

भूगर्भविद्को रिपोर्टका आधारमा पहिराबाट पूर्ण क्षति भएका दुई तथा आसपासका १० घर, काफलबोट र काउलेका सात घर र ढकालबारीदेखि नुवारखोलासम्म रहेका घरहरु सुरक्षित स्थानमा सार्न शहरी विकास मन्त्रालयमार्फत काम हुनेछ । त्यसैगरी, पहिरालाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायोइन्जिनीयरिङको कामलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत थप अध्ययन गरी अघि बढाइने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.