www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाको सङ्क्रमण जटिल बन्दै

अशोक घिमिरे
काठमाडौँ, रासस ।

कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । खासगरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य शहरी क्षेत्रमा यसको सङ्क्रमण बढ्न थालेसँगै जनजीवनलाई भयभित तुल्याउन थालेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई नेपाली र एक भारतीय नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ निवासी ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आइतबार मृत्यु भएको हो । ती पुरुषमा ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यस्तै बाराको फेटा गाउँपालिका–३ का ६० वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । निमोनिया, मस्तिष्कघात तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी पर्साको वीरगञ्जमा बासोबास गर्दै आएका ६५ वर्षीय भारतीय नागरिकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा वीरगञ्जस्थित गण्डक अस्थायी अस्पतालमा निधन भएको हो । उनी मुटु तथा मधुमेहका बिरामी थिए । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । मन्त्रालयले उनीहरुको मृत्युप्रति समवेदना प्रकट गरेको छ ।

एक सय ३९ नयाँ सङ्क्रमित फेला, ६२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ५७२ पुगेको छ । आज सबैभन्दा बढी दैलेखमा २८ सङ्क्रमित फेला परेका छन् ।

यस्तै सप्तरीमा २१, पर्सामा १८, धनुषा र महोत्तरीमा १०/१०, बैतडीमा चार, ललितपुर, काठमाडौँ र कास्कीमा तीन÷तीन, पर्सा र सल्यानमा दुई÷दुई तथा सिरहा, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र सुर्खेतमा एक÷एक जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ७५४ पुगेको छ । जुन कूल सङ्क्रमितको ७३.५ प्रतिशत हो ।

हालसम्म प्रदेश नं १ बाट ७८९, प्रदेश नं २ बाट दुई हजार ९७२, बागमती प्रदेशबाट ५१७, गण्डकी प्रदेशबाट एक हजार २०४, प्रदेश नं ५ बाट तीन हजार ९१०, कर्णाली प्रदेशबाट एक हजार ६०८ र सुदूरपश्चिम प्रदेशबाट दुई हजार ७५४ जनाले कोरोना भाइरसलाई परास्त गरेका छन् । प्रदेश नं १ को सङ्खुवासभा, भोजपुर र पाँचथर, बागमती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १९५, प्रदेश नं २ मा एक हजार ९११, बागमती प्रदेशमा ४०२, गण्डकी प्रदेशमा २४४, प्रदेश नं ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ७४० छ । कोभिड–१९ सङ्क्रिमत १६ हजार ३७९ जना मुलुकका विभिन्न स्थानमा बनाइएको क्वारेन्टिनमा छन् ।

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ६४ लाख ३२ हजार ११० पुगेको छ । कोरोना भाइरसबाट छ लाख ५२ हजार ४३२ जनाले ज्यान गुमाएका छन् भने एक करोड पाँच लाख छ हजार ५५४ कोरोना जितेर डिस्चार्ज भएका छन् ।
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.