www.tandavnews.com
Fact ~ In search of truth

दमौली-डुम्रे खण्ड दुईतर्फी सञ्चालन

दमौली ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ । अविरल परेको वर्षासँगै यही साउन ६ गते भासिएको सडक मर्मत गरिएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय तनहुँले भासिएको सडक मर्मत गरेर पुरानै अवस्थामा फर्काएपछि राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । डिभिजन सडक कार्यालयले शनिबारदेखि सडक मर्मतको काम थालेको थियो । उक्त खण्ड शनिबार रातिदेखि एकतर्फी सञ्चालन भएको थियो । सडक भासिएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग बनाइए पनिसवारी साधन फस्न थालेका थिए । वैकल्पिक मार्गमै पटकपटक सवारी साधन फस्न थालेपछि शनिबार बिहानैदेखि राजमार्ग बन्द गरेर मर्मत शुरु गरिएको थियो ।

Batas

दुर्घटनामा कमी

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रे–मुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष ०७६÷७७ का अवधिमा जिल्लामा ४४ जनाले सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

गत आव ०७५÷७६ मा जिल्लामा सवारी दुर्घटनामा परी ६१ जनाले ज्यान गुमाएका थिए । अघिल्लो आवका तुलनामा यस वर्ष सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार गतभन्दा अघिल्लो आवमा १०६ सवारी दुर्घटना भएको थियो भने गत आवमा ८८ सवारी दुर्घटना भएका छन् ।

त्यस्तै आव ०७४÷७५ मा ११२ दुर्घटनामा ६५ जनाले ज्यान गुमाएका थिए । ट्राफिक प्रहरीको तथ्याङ्कले पछिल्लो तीन वर्षका अवधिमा सवारी दुर्घटनामा कमी आएको देखिएको छ । आव ०७६÷७७ मा ३० पुरुष, ११ महिला, दुई बालक र एक बालकले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा परी ६७ जना गम्भीर घाइते र ८९ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीका क्रममा आठ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । गत चैतदेखि असार मसान्तसम्म मात्रै १० सवारीसाधन दुर्घटना भएकामा सात पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी प्रमुख रानाभाटका अनुसार चैतमा चार, वैशाखमा एक, जेठमा तीन र असारमा एक जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । त्यस्तै गत वर्ष साउन, भदौ, असोज र कात्तिकमा पाँचपाँच, मङ्सिरमा एक, पुसमा सात, माघमा तीन र फागुनमा चार जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । कार्यालयका अनुसार ३१ मोटरसाइकल, १२ ट्रक, दुई टिप्पर, १६ बस, एक माइक्रो, १५ जिप र १० ट्याक्टर दुर्घटनामा परेका छन् । दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम नरोकिएको ट्राफिक प्रमुख रानाभाटले बताए ।

शुक्लागण्डकी नगरपालिकास्थित कोत्रे, गाछेपानी, म्याग्दे गाउँपालिकास्थित अकला, गुणादी, व्यास नगरपालिकास्थित कमलाबारी, घाँसीकुवा, बन्दीपुर गाउँपालिकास्थित नाहाला, विमलनगर, आँबुखैरेनी गाउँपालिकास्थित पावरहाउस, एक्लेफाँट बढी दुर्घटना हुने ठाउँ हुन् । दुर्घटना न्यूनीकरणका लागि कार्यालयले त्यस्ता ठाउँमा सचेतना बोर्ड र कन्भेक्स ऐना राखेको छ । तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापरवाही जस्ता कारणले सवारी दुर्घटना वृद्धि भएको ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.