www.tandavnews.com
Fact ~ In search of truth

माैसम अपडेट : केही दिन लगातारको झरी नहुने

नारायण ढुङ्गाना
काठमाडौँ, रासस ।

अबको केही दिन लगातारको झरी भने नहुने भएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ । छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा हुने मौसमविद्को भनाइ छ । यसबीचमा नेपालको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ ।

जल तथा मौसम विज्ञान विभागले अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँठाउँमा वर्षा भइरहेको जनाएको छ । तर बेलाबेलामा सामान्यदेखि चर्काे घाम पनि लाग्छ । अबको तीन दिन विगतमा जस्तो लगातारको झरी भने नहुने विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

Batas

उनका अनुसार यसअघि नै पर्याप्त पानी परेकाले जमिन गलेको हुँदा थोरै पानीले पनि धेरै क्षति गर्न सक्नेतर्फ भने सचेत हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा पहिराको जोखिम बढी हुन्छ । खण्डखण्डमा भारी वर्षा हुँदा केही ठाउँमा पहिरो खसेर जनधनको क्षति गराएको छ ।

उनले अहिले मनसुन न्यूनचापीय रेखा नेपालबाट दक्षिण सरे पनि नेपाल नजिक नै रहेको बताए । भोलि र पर्सी अझै केही नजिक आउने हुँदा तराईका क्षेत्रमा वर्षा थपिने सम्भावना छ । देशका अधिकांश क्षेत्रमा बेलाबेलामा घाम लाग्ने र मध्यमखालको वर्षा हुने अर्यालले जानकारी दिए । प्रदेश १, २, ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षको सम्भावना कायमै छ । आजभन्दा भोलि र पर्सी भने थोरै बढी वर्षा हुने भए पनि लगातारको झरी नहुने अर्यालले बताए । यसअघि असार २५ देखि ३० गते र साउन ४ देखि ६ गतेसम्म लगातार वर्षा भएको थियो । उक्त वर्षापछि आएको बाढी, पहिरो र डुवानले मुलुकका अधिकाँश क्षेत्र प्रभावित बनाएको थियो ।

यस्तै साउनको १२ देखि १६ सम्म पश्चिम क्षेत्रमा बढी वर्षा भयो, तर विगतको जस्तो लगातार वर्षा हुन पाएन । तैपनि केही स्थानमा पहिरो खसेर मानिसको मृत्यु भएको छ भने केही हराइरहेका छन् । उद्धारको काम जारी छ । अबको तीन दिन भने त्योभन्दा केही कम वर्षा हुने जनाइएको छ । केही ठाउँमा भारी वर्षा हुने अनुमान छ । “पहिलेको जस्तो लगातार रुपमा वर्षा हुने देखिँदैन, खण्डखण्डमा वर्षा हुन्छ”, अर्यालले भने , “छोटो समयमा केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ ।” आजको तुलनामा भोलि र पर्सी तराईको क्षेत्रका एक/दुई स्थानमा बढी वर्षा हुने जनाइएको छ ।

विगत १० वर्षको तुलनामा यस वर्ष पहिराले धेरै मानिसको ज्यान लिएको छ । भेलपहिरो खसेर बढी क्षति पु¥याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । प्राप्त विवरणअनुसार गत वैशाखयता पहिरोबाट १५६ जनाको मृत्यु भइसकेको छ भने ४५ जना बेपत्ता छन् । बाढीबाट छ जनाको मृत्यु १३ जना बेपत्ता भएका र चट्याङबाट ४७ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र चट्याङबाट वैशाखयता २०९ जनाको मृत्यु, ५८ बेपत्ता र २९९ जना घाइते रहेको प्राधिकरणले जनाएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३० पछि डेढ महिनाको अवधिमा पहिरोमा परेर मात्रै १५४ को मृत्यु भएको छ ।

प्राधिकरणका प्रमखु अनिल पोखरेलले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने, जोखिम कम गर्ने र विपद्का घटना भएमा क्षति कम गर्ने गरी आवश्यक समन्वयमा काम भइरहेको बताए । उनका अनुसार राहत र उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोलीसहित सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकाय सक्रिय रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.