www.tandavnews.com
Fact ~ In search of truth

कोरोना परीक्षणको शुल्क पाँच सयले घट्यो

काठमाडौं ।

शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब पाँच सयले घटाएको हो ।

विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबले कोरोना परीक्षण शुल्क चार हजार पाँच सय रुपैयाँ बाट घटाएर चार हजार रुपैयाँ कायम गरिएको जनाएको छ । प्रारम्भिक परीक्षणको नतिजाअनुसार चार हजारमै कोरोना परीक्षण गरी खर्च व्यवस्थापन गर्न सकिने देखिएपछि शुल्क घटाइएको प्रयोगशालाका प्रमुख विके भण्डारीले जानकारी दिए । सोमबारदेखि घटाइएको शुल्कमा कोरोना परीक्षण गरिने उनले बताए ।

Batas

सरकारले केही सरकारी तथा निजी प्रयोगशालालाई पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको छ । ‘विपद्को समयमा सकिन्छ भने सस्तो मूल्यमा नै परीक्षण गरौँ भन्ने सोचका साथ काम गरेका हौँ’, प्रयोगशाला प्रमुख भण्डारीले भने । कोभिड–१९ को परीक्षणका लागि जनतालाई छिटोछरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको प्रयासमा आफ्नोतर्फबाट यथासम्भव सहकार्य गर्ने र सहयोग पुर्याउने उद्देश्य रहेको विध म्यानेजमेन्टद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले गत मंगलबार सो प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको थियो । प्रयोगशालाबाट दैनिक चार हजार २०० बढी नमूना परीक्षण गर्न सकिने प्रमुख भण्डारीले जानकारी दिए । सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले बिहीबारदेखि औपचारिकरुपमा आरटी–पिसिआर परीक्षण शुरु गरेको थियो ।

ललितपुरको कुपण्डोलमा रहेको सो प्रयोगशालामा पाँच थान पिसिआर मेसिन र पाँच थान अटोमेटिक आरएनए एक्ट्याक्सन मेसिन जडान गरिएको छ । प्रयोगशालाले यसअघि पाँच घण्टामा दिइँदै आएको ‘रिपोर्ट’ अब चार घण्टामा दिने तयारी गरेको पनि उनले बताए । प्रयोगशालाले सरकारले दिएको नमूना तथा स्वेच्छाले परीक्षण गर्न आउने व्यक्तिको कोरोना परीक्षण गर्दै आएको छ ।

देशव्यापीरुपमा कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले परीक्षणको दायरा र संख्यालाई दिन प्रतिदिन बढाउँदै लगेको छ । बन्दाबन्दी अन्त्य भएपछि मुलुकभर कोरोना संक्रमणको जोखिम झन बढेको छ । यसले गर्दा कोरोना परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवश्यकता बढेर गएको जनस्वास्थ्य विज्ञले बताउँदै आएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.