www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा माछा मार्न अनुमति पत्रसँगै पोशाक प्रदान

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जले नदी वरपर आश्रित समुदायलाई माछा मार्ने अनुमति पत्रसँगै पोशाक वितरण गरेको छ । निकुञ्जले २८३ जना बोटे, दराई, कुमाल र थारु समुदायका माछा मार्नेलाई अनुमति पत्र र पोशाक वितरण गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले उनीहरुलाई ती सामग्री वितरण गरेका हुन् । राष्ट्रिय निकुञ्ज नियमावली २०३० को पहिलो संशोधनमा माछा मारी जीविको चलाउने समुदायलाई वार्षिक १०० शुल्क तिरि माछा मार्न दिने व्यवस्था छ ।

Batas

निकुञ्जले माछा मार्ने अनुमति पत्र ‘लाइसेन्स’ नवीकरण गरी उनीहरुलाई ज्याकेट पनि वितरण गरेको हो । प्रमुखरुपाखेतीका अनुसार माछा मार्ने लागि अनुमति पत्रका साथमा पोसाकको व्यवस्था पहिलो पटक गरिएको हो । उनले भने, ‘यसो गर्दा निकुञ्ज क्षेत्रमा अनाधिकृत तरिकाले प्रवेश गर्नेलाई रोक्न सक्छ ।’

पोशाक लगाएर माछा मार्ने गरेपछि टाढैबाट पहिचान हुने भएकाले अनुगमन गर्न पनि सजिलो हुने उनको भनाइ छ । पोशाकमा निकुञ्जको लोगो र परिचय राखिएको छ भने पछाडि परिचयपत्र नम्बर राखिएको छ । निकुञ्जबाट लिइएको परिचयपत्रकै अंक पोशाकमा र डुंगामा उल्लेख छ ।

अनुमति पत्र लिएकाले बिहान ६ देखि साँझ ५ बजेसम्म निकुञ्जले तोकेको शर्त र मापदण्डभित्र रहेर माछा मार्न पाउँछन् । वैशाखदेखि असार मसान्तसम्म भने माछाको प्रजनन समय भएकाले माछा मार्न रोक लगाईन्छ । अनुमति पत्र र पोशाक लिन आएकाले पुरानाले मात्र नभएर नयाँलाई पनि माछा मार्न अनुमति दिनुपर्ने माग गरेका थिए ।

सो अवसरमा खैरहनी नगरपालिका–१३ का बुद्धिराम बोटेले आफ्नो परिवार नदीमा आश्रित हुने भएकाले परिवारका अन्य सदस्यलाई पनि अनुमति पत्र दिनुपर्ने बताए । पछिल्ला वर्षहरुमा निकुञ्जले हाते जाल प्रयोग गर्न अनुमति पत्र दिएको छैन । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.