www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुपाल्चोक पहिरो अपडेट :पुरिएका ८ सहित १० जनाको मृत्यु

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मेलम्चीमा आएको पहिरोमा परी बेपत्ता भएका ८ जनाकै शव भेटिएको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनाको शव भेटिएको हो ।सोमबार बिहान २ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएका आठै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृत्यु हुनेहरुमा एक जना भारतीय नागरिक, दुई जना पर्सा र ५ जना सिमराका भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ४२ वर्षीय भारतीय नागरिक राजेन्द्र चौरसिया, पर्साको वीरगन्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेका छन् ।

उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ ।पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ ।

आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.