www.tandavnews.com
Fact ~ In search of truth

घुम्टे चढ्न नयाँ पदमार्ग बन्दै

बागलुङ ।

पर्यटकीय लेक घुम्टे चढ्न नयाँ पदमार्ग निर्माणको काम भइरहेको छ । गलकोट नगरपालिका–७ मल्मस्थित भीमसेन ढुङ्गादेखि नाच्नेडाँडा–राम्चेढुङ्गा हुँदै घुम्टेसम्म पदमार्ग जोडिनेछ ।

यसको दूरी झण्डै १० किमी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २० लाख बजेटबाट डेढ वर्षअघि निर्माणको काम थालिएको थियो । गत आवमा संघ सरकारको समेत १० लाख बजेट पदमार्गमा खर्च भएको छ ।

Batas

पदमार्ग निर्माणलाई दुई खण्डमा बाँडिएको छ । पहिलो भीमसेन ढुङ्गाबाट राम्चेढुङ्गासम्म छ । राम्चेढुङ्गाबाट तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । पहिलो वर्ष दुवै खण्डमा १०/१० लाख बराबरको काम भएको थियो ।

गत आर्थिक वर्षमा भने दोस्रो खण्डलाई मात्र बजेट आयो । पर्यटन मन्त्रालयबाट प्राप्त १० लाखबाट ७०० मिटर पदमार्ग विस्तार गरिएको छ । ‘१०४ मिटर रेलिङ पनि लगाइएको छ’, निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले भने, ‘दैनिक ४५/५० जना खटेर महिना दिन लगालग काम ग¥र्यौँ ।’

स्थानीयवासीले ११ प्रतिशत श्रमदानसमेत गरेका थिए । अध्यक्ष थापाका अनुसार अघिल्लो वर्ष अजिराखर्कबाट गोठाल्नेसम्म ४०० मिटर पदमार्ग बनाइएको थियो । यो वर्ष गोठाल्नेबाट ठूलोसम्ममा पदमार्ग जोडिएको छ । ठूलोसम्मबाट तल्लो घुम्टेको देउराली जोड्न अब करिब दुई किमी दूरी बाँकी छ । देउराली पुगेपछि भने अर्को पदमार्ग भेटिन्छ । ‘जङ्गल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेका छौँ’, अध्यक्ष थापाले भने ।

तल्लो खण्डमा भने गत वर्ष आँगाखेतबाट तल्लो सिरबारेसम्म ५०० मिटर पदमार्ग निर्माण भएको छ । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । आगामी दुई वर्षभित्र पदमार्ग बनाइसक्ने लक्ष्य लिइएको वडाध्यक्ष टीकाबहादुर थापाले बताए । ‘प्रदेश सरकारबाट गत वर्ष बजेट आउन सकेन, संघबाट छुट्टिएको १० लाखले थप काम भएको छ’, उनले भने, ‘वडाले मात्र गर्न सक्ने योजना नभएकाले माथिबाटै बजेट ल्याउन पहल भइरहेको छ ।’ पदमार्गमा एक करोड खर्च हुने अनुमान छ ।

पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ । पदमार्गले घुम्टेसहित आसपासका गन्तव्यस्थलको प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । ग्रामीण पर्यटनको उत्थानमा पदमार्गले सहयोग पु¥याउने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे जिल्लाकै उदाउँदो पर्यटकीय गन्तव्यमा पर्छ ।

गण्डकी प्रदेशका १०० पर्यटकीय गन्तव्यको सूचीमा पनि घुम्टे समावेश छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकलाई घुम्टेले लोभ्याउने गर्छ । दश हजार ३९३ फिट उचाइमा अवस्थित घुम्टेको लेक प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिन्छ । घुम्टेको चुचुरोमा सिद्ध र भैरवको मन्दिर छ । बर्सेनि वैशाखे पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्छ । सिद्ध र भैरव मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । विगत आठ वर्षदेखि नयाँ वर्षको अवसर पारेर घुम्टेमा ‘गुराँस उत्सव’ पनि हुँदै आएको छ ।

प्राकृतिक सुन्दरता, हिमाली पृष्ठभूमिमा सूर्योदय, सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घना जङ्गल आदि घुम्टेका सौन्दर्य हुन् । यसअघि गलकोट नगरपालिका–५ हरिचौर, १० पाण्डवखानीबाट घुम्टे जोड्ने पदमार्ग बनिसकेको छ । यस्तै ताराखोला गाउँपालिका–३ हिलबाट पनि सजिलै घुम्टे चढ्न सकिन्छ । गलकोट नगरपालिका–७ मल्मबाट जोडिन लागेको पदमार्ग सबैभन्दा छोटो हुने जनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.