www.tandavnews.com
Fact ~ In search of truth

२०० बढी सक्रिय संक्रमित भएका स्थानमा जोरबिजोर प्रणाली लागू

काठमाडौं ।

मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।

जोर गते जोर नम्बरका गाडी सञ्चालन गर्ने र बिजोर गतेमा बिजोर नम्बरका गाडी सञ्चालन गर्ने गरी आजदेखि उक्त व्यवस्था लागू भएको छ । आज बिहानैदेखि जोरबिजोर प्रणाली कार्यान्वयनमा प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आज जोर नम्बरका मात्रै गाडी चलाउन पाइन्छ ।

Batas

गृह मन्त्रालयले बेलुका ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाउने गरेको निर्णय कार्यान्वयनमा थप कडाइ गर्नसमेत स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाका शहरी इलाकामा आजदेखि लागू हुने गरी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाइका साथ पालनाका लागि कडाइका साथ प्रस्तुत हुन पनि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । मापदण्ड नमान्नेलाई दण्ड जरिवाना गर्ने र उल्लंघन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमानाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने तथा होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको छ ।

कोभिड–१९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने र थप परीक्षणको व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ । काठमाडौँ जिल्ला प्रशासनले भने मानिसहरुले स्वास्थ्य मापदण्ड नअपनाएकाले त्यसको अनुगमनमा कडाइ गरी कारवाही थालेको जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.