www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं ।

राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल निर्विरोध भएका हुन्।

सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई तत् समितिको आजको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेको थियो । नवनिर्वाचित सभापति मेघी गुरुङको प्रस्ताव देवेन्द्र दाहाल र समर्थक तारामान स्वाँर तथा सभापति बिडारीको प्रस्तावक राधेश्याम अधिकारी र समर्थकमा शेरबहादुर कुँवर थिए।

Lama collectio News Middle

नवसभापति भट्टको उम्मेदवारको प्रस्तावक दीनानाथ शर्मा र समर्थकमा रमेशजङ्ग रायमाझी तथा सभापति रावलको प्रस्ताव खिमलाल भट्टराई र समर्थकमा अनिता देवकोटा थिए। चारै जना सभापति यसअघिकै तत् समितिका सभापति रहेका छन् ।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुई÷दुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना छन् । पुनः निर्वाचित सभापति बिडारी भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सांसद रहेका छन् । स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १८ जना सदस्यको निर्वाचन गत माघमा भएको थियो । प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने राष्ट्रियसभाबाट राष्ट्रिय राजनीति र महत्वपूर्ण मुद्दामा सुझबुझपूर्ण भूमिका निर्वाह हुने विश्वास गरिन्छ ।

निर्वाचित चारमध्ये दुई पुरुष र दुई महिला सभापति हुनुहुन्छ । भूगोल र लैङ्गिक पक्षबाट समेत समावेशी चरित्र रहेको राष्ट्रियसभाले खेलेको भूमिका, अघि बढाएको एकता, सहमति र सहकार्यको मूल्य मान्यता गौरव गर्न लायक रहेको भनी प्रशंसा हुँदै आएको छ । नवनिर्वाचित सभापति अनुभवी रहेको हुनाले जनता र राष्ट्रको हितको विषयमा प्रखर रूपमा उत्रन सुझाव दिँदै सदस्यहरुले सफल कार्यकालका लागि शुभकामना र बधाई ज्ञापन गरे। नवनिर्वाचित सभापतिले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आइतबार सपथ लिएपछि पदभार ग्रहण गर्नेछन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery