www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौँ उपत्यका कोरोनाको उच्च जोखिममा

काठमाडौँ ।

तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ ।

काठमाडौँमा दैनिकजसो नै संक्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा संक्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा संक्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा संक्रमण ह्वात्तै बढ्यो ।

Batas

विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउछन् । उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ ।

भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।

उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । जसरी संक्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उनीहरुको भनाइ छ । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे संक्रमण देखिएको थियो ।

अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै संक्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ संक्रमण भित्रिएको आशंका गरिएको छ ।

दुई दिनअघि काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उनका परिवारसहित पाँच जनाका संक्रमण देखियो । उनका घरबेटीलाई समेत संक्रमण भएको पाइयो ।

सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा संक्रमण भेटिएको काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउछन । उनका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा संक्रमण देखिइसकेको छ ।

यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले बताए । नेपालमा गत माघ ९ गते पहिलो संक्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ ।

संक्रमण बढेपछि विभिन्न जिल्लार स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.