www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द

काठमाडौं ।

काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् ।

पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्को निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

Batas

बन्दाबन्दीपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । उपत्यकामा सङ्क्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकतानुसार सथानीय तहले सिल गरेर सङ्क्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ ।

सरकारी निर्णयअनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले जानकारी दिए ।

मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ ।

अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

उपत्यकाको केही स्थानमा संक्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम उपत्यकामा एक हजार बढी सङ्क्रमण भइरहेको छ । दैनिक ५० देखि १०० को हाराहारिमा उपत्यकामा कोभिड–१९ देखिँदै आएको छ ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.