www.tandavnews.com
Fact ~ In search of truth

विदेशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी

काठमाडौं ।

कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ ।

विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघबीचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६ हजार ३१२ जना नेपाल फर्किएका छन् । नेपाल फर्किएका सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५०१ जना रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

Batas

यसैगरी साउदी अरेबियाबाट छ हजार ९९७, मलेसियाबाट छ हजार ७९४, कुवेतबाट छ हजार ३२९ र कतारबाट पाँच हजार २५१ जना नेपाल फर्किसकेको संघले जानकारी दिएको छ ।

संघका अनुसार अफगानिस्तानबाट ३३, ओमानबाट ६३६, बर्माबाट २६, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ७२०, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, सिङ्गापुरबाट २९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ११० जना स्वदेश फर्किएका छन् ।

फिलिपिन्सबाट २०१, स्विट्जरल्यान्डबाट १०, इराकबाट ३९, दक्षिण सुडानबाट २५०, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, श्रीलंकाबाट पाँच, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । संघले उल्लेख गरेको तथ्यांकमा स्थलमार्ग हुँद नेपाल आएकाहरूको तथ्यांक भने समेटिएको छैन ।

यसैबीच विभिन्न देशमा मृत्यु भएका २४६ जना नेपालीको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ को मृत्यु भएको देशमै अत्येष्टिका लागि परिवारबाट सहमति प्राप्त भएको पनि बताइएको छ । अब ७६ शव नेपाल ल्याउन बाँकी रहेको बताइएको छ । यस्तै गैरआवासीय नेपाली संघले जनाएअनुसार संक्रमणका कारण विदेशमा मात्र १९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा गत साता थप दुई जनाको कोरोनाका कारणले निधन भएको छ ।

शनिबार साँझसम्म नेपालसहित विश्वभर २६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीहरुमा थप नयाँ संकमण देखिएको छ ।

संघको स्वास्थ्य समितिलाई उद्धृत गर्दै संघको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायत देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ ।

समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्वर्गमा करीब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन् । विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.