www.tandavnews.com
Fact ~ In search of truth

नेपाली राष्ट्रिय फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौं ।

नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।

खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल पुरुष ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ ।

Batas

खेलाडीसँगै प्रशिक्षक, पदाधिकारी र एन्फा होस्टलका कर्मचारीको पनि कोरोना परीक्षण गरिने राईले बताए । ‘खेलाडीको पीसीआर परीक्षण गर्न दुई दिन लाग्नेछ’, उनले भने । परीक्षणको नतिजा आएपछि प्रशिक्षण अगाडि बढ्नेछ ।

सरकारले आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न सकिने निर्णय गरेपछि एन्फाले प्रशिक्षणको तयारी थालेको हो । फिफा र विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासंघ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेल आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.