www.tandavnews.com
Fact ~ In search of truth

चौडा बन्दैँ बागलुङ बजारका सडक

बागलुङ।

सदरमुकाम बागलुङ बजारका साँघुरा सडक र चोक चौडा पार्ने कामले गति लिएको छ । बागलुङ नगरपालिकाले अघिल्लो वर्ष बजार व्यवस्थापन र चोक सुधारको योजना थालेको थियो ।

बढ्दो आवादी र सवारी चापले अस्तव्यस्त देखिने बजारको स्वरुप बिस्तारै फेरिँदै छ । मुख्य सडक र चोक चौडा हुँदैछन् । समीक्षालय, ट्राफिक, हल्लन, शिवधारा र गोल्डेनगेटचोक सुधारका लागि काम भइरहेको छ ।

भूपि शेरचनचोक–किरानाटोल, धवलागिरि बहमुखी क्याम्पसको पश्चिम गेटदेखि गोल्डेनगेटचोक र वीरेन्द्र–ऐश्वर्य उद्यान आसपासको सडक चौडा पारिने नगरपालिकाले जनाएको छ । ‘मापदण्डभित्र पर्ने संरचना हटाएर सडक विस्तारको काम गरिरहेका छौँ’ नगरपालिकाका इन्जिनीयर गौरव शर्माले भने, “मुख्य सडक १० मिटर र अन्यत्र कतै आठ त कतै सात मिटरसम्म कायम गरिएको छ ।’

समीक्षालय चोकको सडक अहिले १० मिटर फराकिलो भएको उनको भनाइ छ । वीरेन्द्र–ऐश्वर्य उद्यानको पर्खाल तथा ज्ञानोदय भगवती पुस्तकालयको व्यावसायिक भवनलगायत सडक मापदण्डभित्र संरचनालाई नगरपालिकाले हटाएको छ ।

सोही स्थानमा रहेको तत्कालीन जिल्ला विकास समितिको पर्खाल, माइक्रो काउन्टर र सार्वजनिक शौचालयको पेटी फालेर सडक थप चौडा पारिने भएको छ । उद्यानको पर्खाल पछाडि सारेर अहिले नाली निर्माणको काम भइरहेको छ । उद्यानको पूर्व र पश्चिमपट्टिको सडक चौडा भए पनि दक्षिणपट्टिको मुख्य सडक पुरानै स्थितिमा छ । मालपोत, नापी कार्यालय र केही व्यक्तिको जग्गासमेत मापदण्डभित्र पर्ने देखिएपछि उक्त काम रोकिएको छ ।

ट्राफिकचोक सुधारका क्रममा मालपोत कार्यालयको पर्खाल पनि हटाएर पछाडि सारिने ई शर्माले जानकारी दिए । उनका अनुसार भूपिचोकदेखि किरानाटोलसम्म घरका पेटीसहितका संरचना फालेर सडक चौडा पार्ने काम शुरु भएको छ ।

Lama collectio News Middle

उक्त खण्डमा प्रदेश सरकारको लगानीमा नाली निर्माण भइसकेको छ भने यस वर्ष ढलानको योजना छ । ‘तीन-चारवटा चोक सुधारको योजना गत वर्ष नै सक्ने लक्ष्य थियो, बन्दाबन्दीले केही पछाडि धेकेलियो’, वडा नं २ का अध्यक्ष जीवन आचार्यले भने, ‘यो वर्ष सडक विस्तार, खाल्डाखुल्डी पुर्ने, कालोपत्र लगायतका काम गर्छौं ।’

भित्री सडक र नाली निर्माणलाई पनि वडाले प्राथमिकता दिएको उनको भनाइ छ । सदरमुकामको मुख्य बजार क्षेत्र बागलुङ नगरपालिका–२ र ३ मा पर्छ । ‘साँघुरा सडकले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ’, उनले भने, ‘बजार व्यवस्थापन र पूर्वाधार निर्माण त्यही अनुसार गर्नुपर्ने अवस्था छ ।’

नगरपालिकाले सडक चौडा पार्ने र नाली बनाउने क्रममा जग्गा मिचेको भन्दै धवलागिरि बहुमुखी क्याम्पसले विरोधसमेत जनाएको थियो । वीरेन्द्र–ऐश्वर्य उद्यानको पनि जग्गा मासिएकामा कतिपयले आलोचना गरेका थिए ।

नगरप्रमुख जनकराज पौडेलले उद्यानलाई सङ्कुचित पार्न सडक चौडा नगरिएको बताए । ‘शुरुमा नगरपालिकाले उद्यानको जग्गा मिच्यो कि भन्ने जस्तो प¥यो तर त्यस्तो होइन अहिले त झन् उद्यान वरिपरिकै ठाउँ खुला भएको छ’, उनले भने ।

सडक व्यवस्थित हुँदा उद्यानकै सौन्दर्य बढ्ने उनको भनाइ छ । नगरपालिकाले अहिले जीर्ण स्थितिमा पुगेको उद्यानको संरक्षण योजनासमेत अघि सारेको छ । अर्को वर्षभित्रमा सदरमुकामभित्रको नाली व्यवस्थापनमा समेत उल्लेख्य सुधार आउने नगरप्रमुख पौडेलले जानकारी दिए ।

ढलको उचित निकास नहुँदा वर्षायाममा सडक जलमग्न हुने स्थिति छ । संघ सरकारको १२ करोड लगानीमा नाली निर्माणको योजना अगाडि बढेको नगरपालिकाले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop