www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको भानु नगरपालिका एक साता बन्द

तनहुँ ।

तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका एक साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा एक साताका लागि बन्द गरेको हो ।

नगरवासीलाई कोरोना सङ्क्रमणको जोखिमबाट बचाउन नगरपालिका र सम्पूर्ण वडा कार्यालय आजदेखि आगामी भदौ २ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए । उनका अनुसार नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रुपमा गरिएको परीक्षणमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको र कार्यालयहरुमा सेवाग्राहीको भीडभाड बढेकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

‘कार्यालयमा सेवाग्राहीको भीड बढेकाले जोखिम भएको तथा जिल्लाका अन्य स्थानमा पनि संक्रमितहरु भेटिएको हुँदा नगरपालिकाको कार्यालय र यसअन्तगर्तका सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ’, उनले भने ।

नगरपालिकाभित्र रहेका सार्वजनिक सेवा प्रवाह गर्ने संघसंस्था, वित्तीय संस्थाको कार्यालय पनि बन्द हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी नगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन तथा अत्यावश्यक सेवाका वस्तु तथा सेवाहरु बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

Lama collectio News Middle

यस अवधिमा स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा तथा कार्य र कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण कार्य तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यहरु भने सञ्चालन हुनेछ । स्वास्थ्यसम्बन्धी यी सेवाहरु प्राप्त गर्न पनि व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने नगरपालिकाले जनाएको छ ।

सोमबार कोरोना पुष्टि भएका ती व्यक्तिलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको छ । ती व्यक्तिको सम्पर्कमा आएका सबैको कन्ट्याक ट्रेसिङका आधारमा र परिवारका अन्य सदस्यहरुको पनि स्वाब परीक्षणका लागि पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

यसैगरी बन्दीपुर गाउँपालिकाले वडा नं ५ का एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त ठाउँको आँधीखोलादेखि गोहोरे चौतारा थुम्का र मस्र्याङ्दी नदीसम्मको क्षेत्रमा अत्यावश्यक कार्यबाहेक अन्य कुनै पनि काम नगर्न-नगराउन अनुरोध गरेको छ । कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ सहज गर्नका लागि सोमबारदेखि बिहीबारसम्म उक्त ठाउँहरुमा काम गर्न बन्द गरिएको गाउँपालिकाका प्रवक्ता धु्रवप्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएकाले समुदायमा थप सङ्क्रमण फैलिने जोखिम उच्च रहेकाले सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop