www.tandavnews.com
Fact ~ In search of truth

कान्तिपुरका सह –सम्पादक बानियाँ मृत फेला : बल्खुस्थित खोलामा चिप्लिएर लडेका थिए

काठमाडौं ।

दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ ।

भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

Batas

हिजो(मङ्गलबार) बिहानै शव फेला परेको थियो । पानी परिरहेको र जालीमा अड्किएकाले प्रहरीलाई शव निकाल्न समेत निकै मुश्किल भएको थियो । साँझ मात्रै शव निकालेर राति परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । आज मात्रै शवको सनाखत भएकोे बताइएको छ ।

पत्रकार बानियाँ पहिले लामो समय ‘कान्तिपुर‘ दैनिकमा काम गरी बीचमा ‘नागरिक’ दैनिकमा केही समय गएका थिए । त्यसपछि पुनः फर्किएर कान्तिपुरमा कार्यरत रहेका थिए ।

एसएसपी थापाका अनुसार यही साउन २६ गते बल्खुस्थित खोलामा चिप्लिएर लडेपछि उनी बेपत्ता भएका थिए । पानीको बहाब बढी भएकाले उद्धार प्रयास सफल हुन सकेन । तत्कालीन समयमा उनको पहिचान हुन सकेको थिएन ।

प्रहरीमा प्राप्त विवरणअनुसार सोमबार अपराह्न ३ बजे पत्रकार बानियाँ बल्खुमा हिँडिरहेका अवस्थामा देखिएका थिए । सोमबार ३ः२३ बजेको सिसी क्यामेरा फुटेजमा उनी हल्लिएर हिँड्दै गरेको देखिएको प्रहरीले जनाएको छ ।

कोभिड–१९ को जोखिमका समयमा मास्क नलगाई हिँडेको देखेपछि त्यसबेला प्रहरीले कहाँ जान लागेको भनेर सोधखोजसमेत गरेको थियो । पत्रकार बानियाँले तीनकुनेस्थित घर जान लागेको भनी जवाफ फर्काए। प्रहरीले राम्ररी सुरक्षित भएर घर जानसमेत सुझाएका थिए तर उनी माथि लाग्नुपर्नेमा खोलातिर लागेको स्थानीयवासीको भनाइ उद्धत गर्दै प्रहरीले जनाएको छ ।

‘स्थानीयवासीले खोला छ, तल नजानुहोस् भन्दाभन्दै उनी थाहा छ भन्दै खोलातर्फ जानु भएछ’, महाशाखा प्रमुख थापाले भने, जाँदाजाँदै चिप्लिएर लड्नुभएछ ।’ उक्त घटना सोमबार अपराह्न १५ः४५ बजेतिरको हो । त्यसपछि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले समेत खोजी गर्दा फेला पार्न सकेनन् । घटनास्थलमा जुत्ता भने फेला परेको थियो ।

खोला किनारमा भेटिएको जुत्ता भने छोरीले पहिचान गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । छोरी सुस्मिताले सिसी टिभी फुटेज हेरेपछि बानियाँलाई नदीले बगाएको पहिचान खुलेको थियो ।

पत्रकार बानियाँ घरबाट भने साउन २५ गते नै निस्किएका महाशाखाले जनाएको छ । । त्यस दिन उहाँ काठमाडौँको ढुङ्गेअड्डास्थित तीनथानामा रहेको आफन्तकहाँ बसेको खुलेको छ । त्यहाँबाट भोलिपल्ट अपराह्न साढे १२ बजे उनी हिँड्नुेका थिए । त्यसदिन अपराह्न १ बजे कलङ्कीबाट मोबाइल अफ भएको पाइएको छ ।

मङ्गलबार परिवारबाट महाशाखामा खोजतलासका लागि निवेदन परेपछि मात्रै महाशाखाले उनलाई नै वाग्मतीले बगाएको भन्ने यकिन गरेको थियो । खोला किनारमा पुगेपछि जुत्ता अड्किएको र मान्छे खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । तत्कालै स्थानीय तथा प्रहरीले उद्धार प्रयास गरे पनि सफल हुन सकेन ।

मकवानपुर– भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित माण्डु हाइड्रोपावरको बाँधमा अल्झिएको अवस्थामा फेला परेको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अपराध अनुसन्धान महाशाखा काठमाडौँले बानियाँको परिवारलाई तस्वीर देखाएपछि परिवारले शव पुष्टि गरेका थिए । सोही आधारमा आफूहरुले शवको सनाखत गरेको प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

दुई दिनदेखि घर नफर्र्किएपछि परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको थियो । विसं २०२७ जेठ १५ गते तनहुँ जिल्लाको भानु नगरपालिकामा जन्मिएका बानियाँ काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ सुविधानगरमा बस्दै आएका थिए । बानियाँ नेपाल पत्रकार महासंघका पूर्वसचिवसमेत रहेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.