www.tandavnews.com
Fact ~ In search of truth

विश्वभरी संक्रमितको संख्या दुई करोड नाघ्यो,भारतमा एकै दिन ६७ हजार संक्रमित

काठमाडौं ।

कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ ।

भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ जना नयाँ संक्रमित भेटिएका हुन् ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ४७ हजार ३३ पुगेको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २३ लाख ९६ हजार ६३८ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये छ लाख ५३ हजार ६२२ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९८२ जना संक्रमणमुक्त भएका छन् ।

अधिकारीहरुका अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८२० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार ४२५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।यसैबीच कोरोना भाइरसका कारण विश्वभरी संक्रमित भएकाहरुको संख्या दुई करोडभन्दा बढी पुगेको छ । पछिल्लो विवरण अनुसार विश्वभरी दुई करोड एक लाख ६२ हजार ४७४ जना संक्रमित भएका हुन् ।

कुल संक्रमितमध्ये दुई लाख १४ हजार ९८५ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका जनाइएको छ । त्यसैगरी चार हजार ८३५ जनाको सोही अवधिमा मृत्यु भएको छ ।योसँगै विश्वभरी कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ३७ हजार ४१७ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । यसैबीच नेपालमा हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनकारी अनुसार कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.