www.tandavnews.com
Fact ~ In search of truth

चितवनका पाँच डक्टर र नर्समा कोरोना

चितवन ।

कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा .भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा .श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ ।

Batas

आकस्मिक कक्षका एक चिकित्सक र एक स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । सोही अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरेर शनिबार मात्र काठमाडौँ फर्किएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ ।

काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसूति विभागका प्रमुखलाई कोरोना संक्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मी र बिरामीको कन्ट्याक्ट टे«सिङ गरिँदै छ ।

तीन दिनअघि गरिएको परीक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको भए पनि अस्पतालको नियमित उपचारमा भने कुनै असर नहुने बताएका छन् । उनले भने ‘यो संकटको घडीमा जे–जति हामी चिकित्सक, स्वास्थ्यकर्मी स्वस्थ छौँ, उपचारकार्यमा निरन्तर खट्नेछौँ ।’

जिल्लामा रहेका दुई मेडिकल कलेज र निजी अस्पतालसँग समन्वय गरेर कोरोना संक्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उनले बताए । अस्पतालका संक्रमणमा परेका चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था खतरामुक्त रहेको अधिकारीले जानकारी दिएका छन् ।

गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगाले र उनकी श्रीमती भरतपुर अस्पतालमा नै कार्यरत चिकित्सकमा पनि कोरोना संक्रमण देखिएपछि हाल घरकै आइसोलेसनमा बसिरहेका छन् ।

भरतपुर क्षेत्रमा रोगको संक्रमण निकै बढेपछि शुक्रबार राति १२ बजेदेखि एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लोपटक शनिबार राति आएको नतिजामा २८ जनामा कोरोना पुष्टि भएकामा २७ चितवनका हुन् । तीमध्ये २१ भरतपुर महानगरपालिकाभित्रका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको संख्या १९९ पुगेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.