www.tandavnews.com
Fact ~ In search of truth

मनसुनको दुई महिना :विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता

काठमाडौँ ।

मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए ।

नेपालमा जेठ ३१ गतेदेखि मनसुन शुरु भएको थियो । साउन ३१ सम्मको दुई महिनामा मात्रै ठूलो मानवीय क्षति हुन पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले साउन ३१ सम्म मनसुन सक्रिय भएपछिको दुई महिनामा मात्रै बाढीपहिरो र चट्याङबाट २३१ को मृत्यु, ७७ बेपत्ता र २०८ जना घाइते भएको जानकारी दिए।

Batas

उक्त अवधिमा पहिरामा परेर मात्रै २०६ को मृत्यु, ६६ बेपत्ता र १६१ घाइते भए । बाढीमा परेर चारको मृत्यु, ११ बेपत्ता र एक जना घाइते छन् । चट्याङबाट २१ को मृत्यु र ४६ जना घाइते भएका छन् ।

यस पटक प्रिमनसुनमै बढी वर्षा भएको थियो । त्यसपछि मनसुनको शुरुआती समयमै धेरै पानी पर्दा जमीन गलेकाले पनि हल्का वर्षा हुँदा नै पहिराका घटना बढी भए । विपद्मैत्री विकास हुन नसक्नु अर्को कारण रह्यो भने भूकम्पलगायत कारणले पनि बढी पहिरो खसेको छ । एकै स्थानमा बढी वर्षा हुँदा भेलपहिराको जोखिम हुन्छ ।

यस पालि मुलुकका ६० भन्दा बढी जिल्ला प्राकृतिक विपत्तिबाट प्रभावित भएका छन् । यद्यपि एक दर्जनभन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति हुने गरी पहिरो खसेको छ । सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकले बेहोर्नुपरेको छ ।

गत असार २५ मा आएको भारी वर्षापछि आएको बाढी र भेल पहिराले बाह्रबीसेको जम्बुबजार र भोटेकोशीमा तीन जनाको मृत्यु भयो भने २० जना बेपत्ता भएका थिए । त्यसको एक महिना पाँच दिनपछि साउन ३० गते जुगल गाउँपालिका –२ लिदीमा पहिरो खस्दा १८ जनाको अकालमा मृत्यु भएको छ भने अन्य २१ जना अझै बेपत्ता छन् ।

दोस्रो ठूलो घटना असार २६ मा म्याग्दीमा भयो । भारी वर्षा हुँदा धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा खसेको पहिरामा २७ जनाको मृत्यु भयो, अझै चार जना बेपत्ता छन् । मनसुन सक्रिय रहेकाले अझै प्राकृतिक विपद्को जोखिम कायम रहेको मौसमविद्को भनाइ छ ।

मनसुन शुरु भएको दिन जेठ ३१ गते पर्वतको दुर्लुङबाट विपद्को घटना शुरु भएको थियो । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट, कास्की, बझाङ, पर्वत, पाल्पा, लमजुङ, गुल्मीलगायत जिल्लामा ठूलो पहिराबाट जनधनको क्षति भएको छ ।

वैशाख यता २६६ को मृत्यु

गएको वैशाखयताको तथ्यांक हेर्दा सबैभन्दा बढी पहिराबाट मानवीय क्षति भएको छ । त्यसपछि चट्याङबाट बढी मानवीय क्षति भयो । उक्त अवधिमा मनसुनजन्य विपद्बाट २६६ को मृत्यु, ७८ बेपत्ता र ३३० जना घाइते भएका छन् ।

उक्त अवधिमा पहिरामा मात्रै २०८ जनाले ज्यान गुमाए, ६६ जना बेपत्ता छन् । बाढीबाट सातको मृत्यु र १२ बेपत्ता छन् । चट्याङबाट ५१ को मृत्यु र १६५ घाइते छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.