www.tandavnews.com
Fact ~ In search of truth

अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

काठमाडौं ।

प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन प¥यो भनी उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको जानकारी दिए।

Batas

‘पक्राउ कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक पीडित महिलासँग थप २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो’, प्रवक्ता कार्कीले भने । पक्राउ व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ । खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताए । पक्राउ व्यक्ति विसं २०७६ फागुनमा नेपाल आएको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिसँग नेपाली तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ ।

पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.