www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि विदेशमा अलपत्र नेपालीको लागि पाँचौँ चरणको उद्धार उडान

काठमाडौं ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगष्ट १७ देखि उद्धार चार्टर्ड उडान गर्न लागेका हुन् ।

नेपाल एयरलाइन्सले यही भदौ १५ सम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले भदौ १४ सम्मको उद्धार उडान तालिका सार्वजनि गरेका छन् । सरकारले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्ररुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ । विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछ ।

Batas

सरकारले अबको उद्धार उडानमा दैनिक ५०० जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैँले टिकट काटेर आउनेछन् । स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को विवरणअनुसार साउन ३० गतेसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५१ हजार ४४१ रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाबाट तथा फ्लाई दुबईले दुबईबाट नेपालीको उद्धार उडान गरी स्वदेश फर्काउने तालिका छ ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.