www.tandavnews.com
Fact ~ In search of truth

चितवनबासीले आजदेखि निजी खर्चमा पिसिआर परीक्षण गर्न पाउने

चितवन ।

सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस संक्रमणको परीक्षण गर्न पाउने भएका छन् । यहाँको चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पिसिआर परीक्षण गर्न शुरु गरेको छ ।

कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन आज अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नमूना जाँच शुरु गरिएको छ भने अन्य सर्वसाधारणको पनि आजदेखि नै परीक्षण गर्न शुरु गरिने छ । यहाँ गरिएको पहिलो परीक्षणको नतिजा पुनः परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पठाइने उनले जानकारी दिए ।

Batas

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको पाँच हजार ५०० मा १० प्रतिशत थप गरी शुल्क लिइनेछ । नमूना परीक्षणका लागि छ हजार ५० लिइने उनले जानकारी दिए ।

कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको हो । छ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्नसक्ने आठ जना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० को स्वाब परीक्षण गर्न सकिनेछ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो ।

प्रयोगशाला निर्माणमा पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिकाबाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजी स्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् ।

जिल्लामा दैनिक कोरोना संक्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा संकलन भएको नमूनाको संख्या थपिँदै गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । ठूला संघसंस्था, बहुर्राष्ट्रिय कम्पनीले कर्मचारी र मजदूरको नमूना परीक्षणका लागि कुराकानी गरिरहेको उनले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.