www.tandavnews.com
Fact ~ In search of truth

अछाम बाढीः १२ को शव फेला, ५ को खोजी

अछाम ।

गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

उनले भने,‘सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना बगाएको छ, खोजीमा खटिएको टोलीले निकै टाढा शव भेटाएको छ, खोलामा अहिलेसम्म पनि ठूलो बाढी आएका कारण खोजीमा निकै समस्या हुँदै आएको छ ।’

Batas

नेपाली सेनाको एआइ १७ हेलिकप्टर बाढीले बगाएकाहरुको खोजीका लागि परिचालन भएको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले जानकारी दिए ।

उक्त खोजीमा अछामका प्रजिअ उपाध्याय, भवानी बक्सका गणपति लोचन कार्की तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ६ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा १२ जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए।

उनका अनुसार भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण अहिलेसम्म पहिचान हुन सकेको छैन । गए राति ठूलो वर्षात्का कारण उक्त खोलामा बाढी आएका कारण आआफ्ना पसलमा सुतेका स्थानीयवासीलाई बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीले बगाएर बेपत्ता भएकाको खोजीका लागि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदले बताए । उनले भने, ‘बाढीले बगाएर बेपत्ता भएकाहरुको खोजीका लागि बिहानैदेखि टोली खटिएको छ, ठूलो जनधनको क्षति भएको छ, खोजी गर्दै छौँ ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.