www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमणको प्रवृत्ति र अबको बाटो

चिनको वुहानबाट २०१९ डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका २१३ वटा देशहरुमा महामारीको रुपमा फैलिएको छ र यो क्रम अझै बढ्दो छ । नितान्त नयां प्रकारको भाइरस भएको र संक्रमणको गति तिब्र भएको कारण विश्व स्वास्थ्य संगठन ले ३० जनवरी २०२० मा Global Public Health Emergency घोषणा गरेको थियो ।

कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र लगायतका सबै क्षेत्र नराम्रोसंग प्रभावित बनेको छ । यो लेख तयार गर्दा सम्म विश्वभर कुल २ करोड २० लाख ६७ हजार २ सय ८० पुगिसकेको छ भने यस महामारीबाट ७ लाख ७७ हजार ६ सय ७४ जनाको को मृत्यु भैसकेको छ । कुल निको हुनेको संख्या १ करोड ४८ लाख ५ हजार २ सय ९३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६४ लाख ८४ हजार ३ सय १३ रहेको छ । नेपाल संग तीन तिरबाट सिमाना जोडिएको छिमेकी मुलुक भारत हाल कुल संक्रमित तथा मृत्यु हुनेको संख्याको आधारमा विश्वमै तेस्रो स्थानमा रहनु र भारत संगको खुला सिमानाको कारण हुने घुसपैठको कारण नेपाल यस महामारीको उच्च जोखिममा रहेको देखिन्छ ।नेपालमा अधिकांश कोरोना संक्रमित कुनै न कुनै रुपमा भारत संगको कनेक्शन देखिएको छ ।

कुल संक्रमित मध्ये ठुलो हिस्सा भारतमा रोजगारीको लागी गएका र भारतमा तिब्र संक्रमण फैलिएको समयमा नेपाल फर्किएका नेपालीहरु तथा लुकिछिपी नेपाल छिरेका भारतिय नागरिककहरुको कारण रहेको सर्वविदितै छ । पछिल्लो समय भारतबाट हुने घुसपैठ तथा लकडाउन खुकुलो भएसगै नेपालमा रोजगारीको लागी छिरेका ठुलो संख्याका भारतिय नागरिक हरुको कारण पनि जोखिम उच्च हुंदै गएको छ । खुला सिमा व्यवस्थापन अहिलेको महामारीको अवस्थामा अत्यन्त चुनौतीपूर्ण बनेको छ । ज्वलन्त उदारहण को लागी विरगंज महानगरपालिका तथा सिंगो प्रदेश नं २ यस महामारीबाट सबैभन्दा आक्रान्त भएको छ जुन भारत संग प्रत्यक्ष रुपमा सिमा जोडिएको प्रदेश हो ।संक्रमणको अवस्था केहि मत्थर हुंदै गएको अवस्थामा लकडाउन हटेसंगै भारतबाट विना चेकजांच आउने मानिसहरुको कारण विरगंज लगायत तराइ मधेशका भारतिय सिमावर्ति शहरहरुमा महामारी समुदाय स्तरमा नै फैलिन पुग्यो । लकडाउन नखुलेसम्मको अवधीसम्म संक्रमितको संख्या अत्यन्त न्युन रहेको राजधानी काठमाण्डौ समेत पछिल्लो समय कोरोना महामारीको हटस्पट बनिरहेको छ ।

सिंगो उपत्यका नै यसबाट आक्रान्त बनिरहेको छ । दिनहु सयौको संख्यामा संक्रमितहरु थपिने क्रम बढिरहेको छ । समग्र १२० दिनको लकडाउनको अवधीमा संक्रमितको संख्याको तुलनामा लकडाउन खुले संगै संक्रमण तिब्र रुपले बढिरहेको छ । अहिले नेपालका ७७ जिल्ला मध्ये ७२ वटा जिल्ला कोभिड १९ बाट प्रभावित बनेका छन ।आजभन्दा ठिक २ महिना अगाडीको अवस्थालाइ फर्केर हेर्ने हो भने कुल संक्रमित जम्मा ५ हजार ७ सय ६० र मृत्यु हुनेको संख्या १९ रहेको थियो जुन अहिले ३६२ प्रतिशतले बढेर २६ हजार ६ सय ६० पुगेको छ भने मृत्यु हुनेको संख्या मा ४६३ प्रतिशतले बृद्धि भइ १०७ पुगेको छ ।

माथीको तथ्यांक विष्लेषण गर्दा नेपाल सरकारले लकडाउन को अन्त्य गर्ने समयताका दैनिक संक्रमित को संख्या भन्दा निको हुनेको संख्या बढि थियो तर अहिले अवस्था ठिक उल्टो देखिएको छ । लक्षण विनाका विरामीको संख्या अधिक रहेको चरणबाट लक्षण सहितका संक्रमण बढिरहेको चरणमा प्रवेश गरेसंगै जोखिम अझ थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार कुल ५लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परिक्षण गरिएकोमा २७ हजार २ सय ४१ जनाको कोरोना पोजिटिभ देखिएको छ जुन कुल परिक्षण संख्याको ५.१४प्रतिशत हुन आउंछ । साथै भाद्र १ गतेको एक दिनको तथ्यांकलाइ हेर्ने हो भने कुल ११ हजार ५ सय २० पिसिआर परिक्षण गरिएकोमा ५८१ जनामा संक्रमण पुष्टी भयो जुन कुल परिक्षणको ५.०४ प्रतिशत हुन्छ । यसले संक्रमणको बढ्दो अवस्थातर्फ संकेत गर्दछ ।परिक्षणको दर र दायरा जति बृद्धि गर्यो त्यति नै संक्रमित थपिदै जाने निश्चित जस्तै देखिन्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको Attack Rate अथवा Transmissibility (Ro) १।४ देखि २।५ सम्म हुने अनुमान गरेको थियो भने केहि स्वतन्त्र अध्यनहरुले १।५ देखि ३।५ सम्म भएको अनुमान गरेका छन । जुन सामान्य फ्लुमा १.२ र सार्समा २ रहेको छ । यो तथ्यले के पनि देखाउंछ भने अन्य फ्लुको तुलनामा कोरोना भाइरस अत्यन्त छिटो गतिमा फैलिन्छ जुन विश्वभर यसको फैलावतबाटै अनुमान गर्न सकिन्छ । Bloomberg Healthiest Index 2019 को सुचीमा सबैभन्दा माथिल्लो स्थानमा सुचिकृत स्पेन इटाली संयुक्त राज्य अमेरिका जस्ता उच्च प्रविधियुक्त र सुविधासम्पन्न स्वास्थ्य पूर्वाधार भएका राष्ट्रहरुले त कोरोना भाइरसको बढदो संक्रमणलाइ थेग्न सकेनन र कयौ मानिसहरु अस्पतालमा भर्ना नपाएर मर्ने स्थिति सृजना भयो भने हाम्रो जस्तो कमजोर स्वास्थ्य पूर्वाधार भएको देशमा भोली संक्रमितको संख्या अधिक हुन पुग्यो भने कसरी व्यवस्थापन गर्न सकिएला रु यो यक्ष प्रश्नको रुपमा उभिएको छ अहिले ।

माथी उल्लेखित तथ्यांक अनुसार सार्क राष्ट्रहरुमध्ये नेपालमा संक्रमणको अवस्था भुटान तथा श्रीलंका पछिको कम देखिन्छ भने मृत्यु प्रतिदशलाखमा भारत तथा आफगानिस्तानको हाराहारीमा रहेको छ । परिक्षण प्रतिदशलाखमा पनि नेपालको अवस्था भारत पाकिस्तान श्रीलंका तथा बंगलादेशको भन्दा उच्च रहेको छ ।निको भएर जानेको संख्याको दृष्टिकोणबाट छैठौं स्थानमा रहेको छ । यसबाट न्यूनत्तम स्वास्थ्य पूर्वाधारका वावजुद पनि कोरोना भाइरसको संक्रमण रोकथामको लागी नेपालमा भएको प्रयास तुलनात्मक रुपमा सन्तोषजनक नै देखिएको छ यद्यपी पछिल्लो समय कुल संक्रमणको अनुपातमा निको भएर जानेको संख्यामा केहि कमि आउन थालेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभरका अस्पतालमा कुल १ हजार ८ सय आइसियू तथा १ हजार ७० वटा भेन्टिलेटर मात्र उपलब्ध छन जुन अत्यन्त न्युन संख्या हो । संक्रमितको संख्या यहि गतिमा बढिरहेमा यो संख्या नपुग हुने सुनिश्चित छ ।अहिले नै १०० जना संक्रमित आइसियु मा तथा ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उपरचार भइरहेका संक्रमितहरुलाइ कुनै पनि बेला आइसियु तथा भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ  । कुनै पनि बेला ठुलो संख्यामा बिरामीहरुको अवस्था नाजुक भएको अवस्थामा उपलब्ध आइसियु तथा भेन्टिलेटर नपुग भै मृत्यु हुनेको संख्या बढन सक्ने तर्फ हाम्रो ध्यान अहिले नै जानु अत्यावश्यक छ । अहिलेको ताजा अवस्था अनुसार मृत्युदर ३.४ प्रति १० लाख रहेको छ ।कुल संक्रमितको ६४ प्रतिशत  उपचार पछि निको भइ फर्किसकेका छन भने हालसम्म कुल ९हजार ६ सय ३९ सक्रिय संक्रमितहरु आइसोलेशनमा उपचारका क्रममा रहेका छन  । असारको अन्तिम हप्ता तिर आइपुग्दा दैनिक निको हुनेको संख्या दैनिक संक्रमित भन्दा उच्च थियो ।

मिति दैनिक संक्रमितको संख्या दैनिक निको हुनेको संख्या
असार १७ ४८२ १४६२
असार २२ २०४ ६८८
असार २७ ७० ४३१
असार ३१ ११६ ६९७
श्रावण १५ ३१५ ९३
श्रावण २५ ३८० ४०
श्रावण ३२ ६४१ १३४

तथ्यांक श्रोत : Ministry of Health & Population , Government of Nepal

माथीको तथ्यांकले पछिल्लो समय संक्रमित हुनेको संख्याको तुलनामा दैनिक निको हुनेको दर कम हुदै गइरहेको देखाउंछ ।  जुन हाम्रो लागी खतराको घण्टी पनि हो ।  कोभिड अस्पतालहरुमा बेडको अभावमा  ४९७ जना संक्रमित होम आइसोलेशनमा रहेको बाट हाम्रो स्वास्थ्य संरचनाको विद्यमान क्षमतालाइ इंगित गर्दछ । कोरोना संक्रमणको विद्यमान प्रवृतीको वैज्ञानिक विष्लेषण गरि सोही अनुसारको  निति अख्तियार  गर्नु पर्दछ अन्यथा  हाम्रो लागी प्रत्युपादक हुनसक्छ । त्यसैले प्रदेश तथा स्थानिय सरकारले संघिय सरकार संगको समन्वयमा समयको सहि सदुपयोग गर्दै विज्ञहरुको राय सल्लाह एवं सुझावहरुलाइ मनन गर्दै पूर्वतयारीहरुलाइ चुस्त रुपले व्यवस्थापन गर्दै जानु पर्ने देखिन्छ ।

विश्वभर डडेलोझै फैलिरहेको कोभिड १९ को संक्रमणबाट पर्यटकिय नगरी पोखरा पनि अछुटो रहन सक्ने कुरै भएन । पछिल्लो तथ्यांक अनुसार कास्की जिल्ला मा कुल संक्रमितको संख्या २२५ पुगेको छ भने त्यसमध्ये पोखरा महानगरपालिकामा मात्र २२ जना सक्रमित रहेकोमा फेरी १५ जना थपिएका छन साथै २ जनाको मृत्यु समेत भैसकेको छ ।पोखरामा पनि पछिल्लो समय समुदाय स्तरमै कोरोना भाइरस फैलिएको अनुमान गरिएको छ । पर्यटकिय गतिविधि शुन्य भएपनि लकडाउन खुलेसंगै पछिल्लो समय पोखराको सडकहरुमा ट्राफिक चाप बढेको तथा बजारमा मानिसहरुको गतिबिधि पनि बाक्लै भएको देखियो जुन कोरोना भाइरस संक्रमणको दृष्टिले महंगो सावित हुने निश्चित छ । नेपाल सरकार तथा प्रदेश सरकार एवं पोखरा महानगरपालिकाले दिएका निर्देशनहरुको अवज्ञा एवं तोकिएका सुरक्षा मापदण्डहरुको पालनामा लापर्वाही भएको देखिन्छ ।

भेटघाट गोष्ठी जस्ता मानिसहरुको जमघट हुने कार्यक्रमहरु यथावत अवस्था झै गरिन थालेको अनुभुती भएको छ । विनाकाम अझ विना मास्क घरबाट निस्कने मानिसहरुको संख्या दिनानुदिन बढ्दो छ जुन पोखराका सडकहरुमा देखिने सवारी साधनको उपस्थितिबाट प्रष्ट हुन्छ । मानिसहरुले आफ्नो स्वास्थ्य सुरक्षा त गर्न सकिरहेका छैनन नै समुदायलाइ पनि जोखिम तर्फ धकेलेका छन । सांझ विहान तरकारी लगायतका घरायसी सामान किन्नेको चोकचोकमा भिडभाड देख्न सकिन्छ । पसल हरुमा पनि सुरक्षा सतर्कता अपनाउने गरेको देखिएको छैन । भौतिक दुरी कायम गर्नेतर्फ कोही सचेत देखिदैन । यावत प्रकारका लापर्वाही ले चरम सिमा नाघेको प्रतित भइरहेको छ पछिल्लो दिनहरुमा । यसले हामीहरुलाइ कहां पुर्याउछ त्यो प्रष्ट नै छ । हामी सबैलाइ थाहा नै छ कि आजका दिनसम्म कोरोना भाइरसको कुनै पनि भ्याक्सिन वा अन्य मेडिसिन भनौ भरपर्दो उपचार पद्धति विकास भएको छैन तर हाललाइ यस्को एउटै मात्र उपाय छ त्यो हो व्यक्ति व्यक्ति विच दुरी कायम गर्दै संक्रमणको चेन ब्रेक गर्ने ।

अत्यावश्यक कामबाहेकका व्यक्तिहरु घरमै बस्ने र बाहिर निस्कनै परेको खण्डमा  कम्तिमा भौतिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाउने हो भने पनि संक्रमणको जालोलाइ केहि हदसम्म कम गर्न सकिन्थ्यो तर ठिक उल्टो अवस्था देखिएको छ जनमानसमा । ठेलागाडा ,साइकल वा अन्य साधनमा डुलुवा व्यावसाय,फूटपाथ व्यावसाय , रेष्टुरेण्टहरुमा जमघट , सैलुन संचालन जस्ता नेपाल सरकारले निषेष गरेका क्रियाकलापहरु लुकीछिपी संचालन भइरहेका  देखिन्छन । अझ सार्वजनिक सवारी साधनहरु संचालन गर्दा तोकिएको सुरक्षा सतर्कता को पालना त कहिं कतै भएको देखिदैन ।साना माइक्रोबस समेत संचालन भइरहेका छन जहा भौतिक दुरीको परिकल्पना समेत गर्न सकिदैन ।ठुला नगरबसहरु ले पनि त्यो नियम पालन गरेका छैनन । व्यावसाय संचालन गर्न पाउनु उनिहरुको नैसर्गिक अधिकार होला तर संकटको यो घडिमा अधिकारले मात्र हामीलाइ बचाउनेवाला छैन । भोली जटिल अवस्थाको सृजना भएमा को जवाफदेही हुने ?  नेपाल सरकारले निर्देशन गरे बमोजिम जोर विजोर प्रणालीमा सवारी साधन चल्नुपर्नेमा  यो निर्दर्शनको एकरति पनि पालना भएको देखिएन जस्ले झन संक्रमणको जोखिम थपेको छ । ट्राफिक प्रहरीको चेकपोइन्ट अगाडीबाटै निर्वाध गुडिरहेका हुन्छन सवारी साधनहरु विना सुरक्षा मापदण्ड तथा नेपाल सरकारको निर्दशनको बर्खिलाप गर्दै ।

अझ निन्दनिय त के छ भने मास्क लगाउन आग्रह गर्ने सुरक्षाकर्मी तथा बैंकका सुरक्षा गार्डहरु माथी नै आक्रमण भएका समाचारहरु आइरहेका छन । यो हद सम्मको हेलचेक्रयाइ हुन थालेपछि परिस्थतिलाइ  अझ गम्भिर हुन नदिन स्थानिय प्रशासनले निषेधाज्ञा नै जारी गर्नुपर्ने अवस्थाको सृजना भयो । मानिसहरुको यस्तै लापर्वाही एवं भिडभाडकै कारण कोरोना संकम्रण समुदाय स्तरमा फैलिन सक्ने अवस्थालाइ मध्यनजर गर्दै देशभर स्थानिय तहहरु एवं स्थानिय प्रशासनहरुले कतै कडा लकडाउन त कतै निषेधाज्ञा जारी गरिरहेका छन ।

Lama collectio News Middle

अबको बाटो भनेको प्रशासनले  नियम उल्लंघन गर्नेउपर कडा कार्वाही गर्नुपर्दछ । मुख्य बजारहरुमा मात्र केन्द्रित कारवाहीलाइ विभिन्न चोकहरु तथा भित्री सडकहरु सम्म बिस्तार गर्नु आवश्यक छ । । प्रचलित कानुन तथा निर्देशनहरुले वर्जित गरेका क्रियाकलाप गरेको खण्डमा त्यस उपर शुन्य सहनशिलताको निति अख्तियार गर्नु आवश्यक छ ।विधिको शासनमा कानुनको वर्खिलाप हुनेगरि क्रियाकलाप गर्न कसैलाइ छुट दिइनु हुदैन । गण्डकी प्रदेश , कास्की जिल्ला एवं पोखरा महानगर भित्रिने मुख्य नाका हरुमा सवारी आवागमनमा अत्यन्त कडाइ गरिनु पर्दछ ।

यस तर्फ प्रदेश सरकार र स्थानिय सरकार एवं स्थानिय प्रशासन विच उच्च स्तरको समन्वय हुनु आवश्यक छ । संक्रमित बढि भएका वाहिरी जिल्लाहरुबाट निर्वाध रुपमा गण्डकी प्रदेश एवं पोखरा महानगरभित्र आउने क्रमलाइ पूर्णविराम लगाउनुपर्दछ । यो निषेधाज्ञा पछि पनि परिस्थिति समान्य नभएसम्मको लागी अन्य जिल्लाबाट आउने सवारी साधनलाइ कडाइ गरिरहनुपर्दछ । अत्यावश्यकिय सामान र सेवाका सवारी साधनको दुरुपयोग हुने तर्फ प्रशासन सचेत हुनु आवश्यक छ जुन विगतमा धेरै त्यस्ता क्रियाकलापहरु देशव्यापी रुपमा देखिएका छन । खाद्यान्न बोकेका सवारी साधनमा भारतबाट समेत निर्वाध मानिसहरु पोखरा काठमाण्डौ जस्ता शहर हरु सम्म पुगेका दृष्टान्त देखिए सुनिएकै हुन । अहिले पनि भारतका सिमावर्ती प्रान्तहरुमा लकडाउन कायम रहेपनि त्याहाबाट मानिसहरु रोजगारीको खोजीमा पोखरा काठमाण्डौ जस्ता शहरहरु सम्म आउने क्रम जारी नै छ जुन अहिले देशव्यापी टाउको दुखाइको विषय बनिरहेको छ ।

पोखरा महानगर हुदै पर्वत बाग्लुङ मुस्ताङ तथा म्याग्दी तर्फ जाने मालवाहक सवारी साधनहरुलाइ नो स्टप निति लागु गर्नुपर्दछ ताकी उनीहरुले कुनै पनि प्रकारको पिक एण्ड ड्रप गर्न नपाउन । महामारीको यो घडीमा टोल टोल डुल्दै कवाडी संकलन गर्ने लगायत विभिन्न व्यापार गर्ने भारतिय नागरिकहरु माथी कडाइ गर्नु पर्दछ । एकठाउंमा भएको संक्रमण धेरै ठाउंमा सार्न त्यस प्रकारका क्रियाकलापहरु कारक बन्न सक्छन । संक्रमण अवधीमा  त्यस प्रकारको फिरन्ते व्यावसाय लाइ पूर्ण रुपमा बन्द गर्न ढिला गर्नु हुंदैन । सकिन्छ भने करको दायरामा नआउने त्यस प्रकारका व्यावसायलाइ सधैका लागी बन्देज लगाउनुपर्दछ ।

कोरोना भाइरसको संक्रमण रोकथामको लागी निषेधाज्ञा लकडाउन आदी शतप्रतिशत निदानका उपाय होइनन तर चाडपर्व हरु नजिक आइरहेको सन्दर्भमा हुनसक्ने भिडभाड जमघट लगायका क्रियाकलापलाइ निरुत्साहित गरि संक्रमढलाइ थप फैलिनबाट जोगाउन मद्दत गर्दछ । तर विगतमा जस्तो लकडाउन अवधी मात्र थपिरहने तर बांकी व्यावस्थापकिय  कार्यहरु नगर्ने हो भन्ने त्यस प्रकारको क्रियाकलापले नागरिकमा निराशा मात्र सृजना गर्दैन बरु मक्किएको अर्थतन्त्र थप धराशायी हुन जानेछ ।  संधै निषेधाज्ञा वा लकडाउन गरिरहन देशको आर्थिक सामाजिक लगायत विभिन्न पक्षका दृष्टिले सम्भव अथवा जायज हुंदैन । अहिले गरिएको निषेधाज्ञा वा लकडाउन समाप्त भए पश्चात मानिसहरुका गतिविधि  फेरी पुरानै लयमा फर्किने निश्चित छ ।

त्यसैले यस विचमा तथ्य र तथ्यांकको आधारमा भोली आउनसक्ने परिस्थतिको पूर्वानुमान गर्दै सोही बमोजिमको पूर्वाधार विकास  वा पूर्वतयारी गर्नुपर्दछ ताकी भोलीको दिनमा एकाएक नयां समस्या देखिंदा अलमल एवं समन्वय अभाव नहोस ।त्यसैले निषेधाज्ञाको यो अवधीमा  हाल संक्रमित देखिएका क्षेत्रहरुमा व्यापक मात्रामा ट्रेसिङ एण्ड टेस्टिङ गर्दै समुदायस्तरमा कोरोना संक्रमण रहे नरहेको विषयमा विज्ञहरुको राय एवं सुझाव लिएर सोही बमोजिम निर्णय लिनु पर्दछ । कन्ट्याक्ट ट्रेसिङ को लागी विद्यमान जनशक्ती नपुग भएको अवस्थामा जनस्वास्थ्य वा अन्य सम्बन्धित विषय मा स्नातक वा स्नातकोत्तर डिग्री हासिल गरि पेशागत अनुमति पत्र प्राप्त तर निष्क्रिय रहेको जनशक्तीलाइ केहि समय करारमा लिएर कामकाज गराउने विकल्प हरु पनि प्रयोग गर्न सकिन्छ । यहि क्षेत्रमा रहेका विश्वविद्यालय तथा अस्पतालहरुमा कार्यरत जनस्वास्थ्य ,माइक्रोबायोलोजी, प्याथोलोजी विषयका विज्ञहरुलाइ पनि यस महामारीको प्रवृती अध्यन अनुसन्धान गर्नमा प्रयोग गर्न सकिने अवसरहरु पनि छन हामीसंग । टोल विकास संस्थाहरु, युवा क्लवहरु लगायतका सामाजिक संघ संस्थाहरुलाइ व्यापक रुपमा परिचालन गरि यो महामारी विरुद्धको लडाइमा सरकारको सहयोगीको रुपमा सहकार्य गर्न सकिन्छ ।

सरकार एक्लैको प्रयासमा महामारी रोकथाम सम्भव हुदैन । यस्को लागी आम नागरिकलाइ यस विषयमा शुरुमा सचेतना, चेतावनी अनि आवश्यक परे कारवाही सम्मका प्रक्रिया अवलम्वन गर्न यस प्रकारको सहकार्य गरेमा सरकारलाइ नियम निर्देशन कार्यान्वयन गराउन सहज हुनेछ । अर्कोतिर अहिले व्यापक परिक्षणको विषय जल्दोबल्दो विषयको रुपमा अगाडी आइरहको छ तर परिक्षण मात्र यसको रोकथामको उपाय हुन सक्दैन किनकी परिक्षण उपचार होइन । भर्खर परिक्षण गरेको व्यक्ति पनि यदि समुदायमा संक्रमण छ भने सुरक्षित रहन सक्दैन । परिक्षण गरेर फर्कदा बाटोमा नै संक्रमित हुन सक्छ  यसकारण परिक्षणको दायरा विस्तारको साथसाथै आम मानिसको व्यवहारजन्य क्रियाकलापमा पनि सुधार गर्न अपरिहार्य छ । समुदायस्तरमा फैलिएको वा नफैलिएको विषयमा मास टेस्टिङ गरेर विष्लेषण गर्न सकिने तर्फ विज्ञ हरु संग निरन्तर अन्तरक्रिया गर्नु अत्यावश्यक छ । संक्रमण नरहेको क्षेत्रलाइ अन्य क्षेत्रबाट आइसोलेटेड गरेर उक्त क्षेत्रलाइ खुला गर्ने विकल्पमा जान उक्त समुदायमा कोरोना संक्रमणको जोखिम रहेनरहेको सम्बन्धमा बैज्ञानिक निर्क्यौल हुनुपर्दछ ।यसरी क्षेत्रगत रुपमा परिक्षण गर्दै क्रमश खुला गर्दै जान सकिने विकल्पमा मानिसको अनावश्यक मोविलिटीलाइ रोक्नै पर्दछ ।

बाहिर बाट आउने मानिसलाइ पूर्ण रुपमा रोक्न सकेको खण्डमा थप संक्रमण आयात नहुने र स्थानिय संक्रमणलाइ क्रमश घटाउंदै लैजान  सकिन्छ  । निषेधाज्ञा पश्चात पनि मानिसको खुला आवागमनमा कडाइ गरिनै रहनुपर्दछ । सवारी साधनहरुको व्यवस्थापन पनि चुनौतीको विषय बनिरहेको छ पछिल्लो समय । संक्रमित बढि रहेका जिल्ला बाट पनि विभिन्न बहानामा भित्रिन नदिने तर्फ सोचिनु पर्दछ अहिले नै । अस्पतालहरुको क्षमता विस्तार, परिक्षणको दर तथा दायरा विस्तार पनि अहिलेको आवश्यकता हो । सरकारी अस्पतालहरु वाहेकका निजी अस्पतालहरुलाइ पनि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने ठोस योजना बनाउन सकिएको खण्डमा भविष्यमा हुनसक्ने बेड अभावको समस्यालाइ समाधान गर्न सहयोगी सिद्ध हुनेछ ।कोरोना संक्रमणको आशंकाका कारण अन्य विरामीले समेत सहज उपचार सेवा लिन नपाइरहेको अवस्था सृजना भएको छ ।  अस्पतालहरुमा अन्य रोगको उपचार गराइरहेका विरामीमा समेत कोरोना संक्रमण पुष्टि भइ  अस्पतालहरुमा नियमित स्वास्थ्य सेवा प्रभावित समेत भएका छन  ।

सबै अस्पतालमा सबै प्रकारका विरामी जाने गर्नाले यस प्रकारको समस्या सृजना भएको देखिन्छ । एउटै अस्पतालमा कोरोना संक्रमित र अन्य विरामी राखेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्दछ । यसले चिकित्सक तथा प्यारामेडिकल स्टाफ लगायतका व्यवस्थापनमा समेत सहयोग पुग्नेछ । अस्पतालहरुमा रहेको विशेषज्ञता एवं भौतिक पूर्वाधारको अवस्था हेरी सेवाको विशिष्टिकरण गर्न सकिन्छ । विरामी बोकेर अस्पतालहरुमा भर्नाको लागी  कुदनुपर्ने अवस्था आउन नदिने तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । कोरोना संक्रमणको जोखिम उच्च भएका स्थानमा यस प्रकारको समस्या देखिंदा कतिपय विरामी उपचार नै नपाइ मर्नुपर्ने अवस्था सृजना भएको छ । कम्तिमा एउटै प्रदेशका सबै अस्पतालहरु विच विरामी तथा बेडको विषयमा उचित समन्वय हुनुपर्दछ ।

सकिन्छ भने नियमनकारी निकायले एउटा मोबाइल एप बनाएर अस्पतालहरुको उपलब्ध आइसियु भेन्टिलेटर लगायतका वेड तथा विरामीको संख्याको  लाइभ अवस्था मोबाइलबाट नै जानकारी लिन सक्ने व्यवस्था गर्न सकेमा विरामी बोकेर अस्पताल अस्पताल कुद्नुपर्ने अवस्था आउने थिएन कि । यो समय पूर्वतयारीको सर्वोत्तम समय हो । हामी अझै पनि सहि ट्रयाकमै छौं संक्रमणको अवस्थालाइ हेर्दा र हामी संग अझै पनि केहि मुल्यवान समय छ सहि व्यवस्थापन अनि तयारीको लागी ।

अब आम नागरिकहरु  जुटेर, भेला भएर होइन नागरिक हरु आपसमा छुटेर एवं भौतिक दुरीमा रहेर कोरोना महामारी विरुद्ध ऐक्यवद्ध हुनु जरुरी छ । रोग लागेर उपचारको लागी भौतारिने अवस्थाको सृजना गर्नुभन्दा रोग लाग्नै नदिने विधिहरु अवलम्वन किन नगर्ने ? सरकारी नियमहरुलाइ उल्लंघन गर्नमा बहादुरी संझिने प्रवृतीलाइ आजै छाडौं  आफुले पालन सक्ने न्यूनत्तम नियमहरुको पालन गर्दै नेपाल सरकार प्रदेश सरकार तथा स्थानिय सरकार हरु ले लिएको कोरोना विरुद्धको मिसनमा सहयोग गर्नु एक सच्चा नागरिकको कर्तव्य हो ।

कोरोना रोकथाम केवल सरकारको एकल प्रयासले सम्भव छैन तर तपाइ हाम्रो पूर्ण साथ सहयोग, नियम निर्देशनको अनुशासित तवरले पालना गरेमा सरकारका निकायहरुलाइ काम गर्न सहज वातावरण सृजना हुन सक्छ ।सरकारका काम कारवाही प्रति नागरिकका रिजर्भेसन होलान ति बेग्लै विषय हुन । तिनिहरुलाइ उचित समयमा विधिसम्मत रुपले उठान गर्न सकिने प्रशस्त कानुनी बाटोहरु छन । लोकतन्त्रमा नागरिकको राइट च्वाइस र भ्वाइसलाइ सरकारले सुन्नै पर्दछ अनि सम्मान गर्नै पर्दछ तर अहिलेको समय अधिकारको वकालतको लागी भिडभाड आन्दोलन जमघट गर्ने समय पटक्कै होइन । हाम्रो सानो सुरक्षा सतर्कताले भोलीको भयावह दिन आउनबाट रोक्नेछ । नागरिक सभ्यता र अनुशासन  भएका मुलुकहरुले कोरोना भाइरस विरुद्ध पाएको सफलतालाइ हामीले किन शिक्षाको रुपमा ग्रहण नगर्ने ? बढि नागरिक स्वतन्त्रता भएका मुलुकहरु कसरी कोरोनाको चपेटामा परिरहेका छन त्यो पनि हामीले विश्वजगतबाट सिक्नुपर्दछ ।

हाम्रो सभ्यता अनि प्राचिन मुल्य मान्यताहरुको अनुसरण गर्नुका साथै स्वास्थ्य सतर्कताका मापदण्डहरुको कडाइका साथ पालना गर्न सकेमा मात्र हामीले कोरोना संक्रमणलाइ समुदायमा  फैलिन बाट जोगाउन सक्नेछौं  र आशा गरौं  सबैको साथ सहयोग अनि उचित समन्वयले छिटै हामी यो महामारीबाट बाहिर निस्कन सफल हुनेछौं ।

*उल्लेखित तथ्यांक बुधबार(अगस्त १९)सम्मको हो ।

(बि. आर. पुरी निजामती सेवामा कार्यरत एवं जनप्रशासन स्नातकाेत्तर तहमा अध्यनरत छन् ।)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop