www.tandavnews.com
Fact ~ In search of truth

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना संकलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना संकलनको काम शुरुआत भएको जानकारी दिनभयो । हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमूना संकलन गर्न थालिएको छ ।

Batas

हात्ती प्रजनन केन्द्र खोरसोरमा २० र सौराहामा आठ हात्ती छन् । ती हात्तीको नमूना संकलन गर्न चारदेखि पाँच दिन लाग्ने उनले बताए । यसपछि पोष्टमा रहेका हात्तीको नमूना संकलन गरी परीक्षणका लागि पठाइने छ ।

काठमाडौँको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमूना पठाइने छ । अहिले क्षयरोगको मात्र परीक्षण गरिने उनले जानकारी दिए । सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएका छन् । सो अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्यांक छ ।

जिल्लाका हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो । सो संक्रमण सन् २०१६ सम्म जारी नै रह्यो । त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो । त्यसपछिका केही वर्ष संक्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ ।

चिकित्सक श्रेष्ठका अनुसार पछिल्लो पटक गत साउन १९ गते मरेको दीपेन्द्रगजमा क्षयरोगको संक्रमण थियो । यसअघि मरेका तीन हात्तीको पोष्टमार्टमका क्रममा फोक्सोमा समस्या देखिएकाले क्षयरोगको संक्रमण भएको अनुमान गरिएको उनको भनाइ छ ।

यस क्षेत्रमा निजी होटलका पनि ५७ हात्ती छन् । उनी हात्तीमा दोस्रो चरणमा क्षयरोग देखा परेको अनुमान गर्नुहुन्छ । समयमा नै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने जनाउँदै उनले उपचारको कामलाई तीव्रता दिन लागिएको बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल शुरु गर्न लागिएको जानकारी दिए ।

क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उनको भनाइ छ । निकुञ्जका हात्ती विभिन्न पोष्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलले प्रयोग गर्दै आएका छन् ।

निकुञ्ज हात्ती सफारीका लागि अन्तरराष्ट्रिय रुपमा प्रख्यात छ । यहाँ सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् । हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने र खर्चिलो हुने चिकित्सक बताउँछन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.