www.tandavnews.com
Fact ~ In search of truth

कविशिरोमणि लेखनाथ पौड्याल संग्राहालय सरसफाइमा जुटे युवा

पोखरा ।

पोखरा महानगरपालिका­ २७ अर्घौं अर्चलेस्थित कविशिरोमणि लेखनाथ पौड्याल संग्राहालय परिसरमा सिर्जनशील युवा क्लबमा आबद्ध युवाले सरसफाइ गरेका छन् ।

लामो समयको बन्दाबन्दीका कारण सरसफाइ हुन नसक्दा कविशिरोमणिको जन्मघरको छानामा झार पलाएको तस्वीर सार्वजनिक भएको थियो । तस्वीर अनलाइन तथा पत्रपत्रिकामा प्रकाशन भएपछि यसको सरसफाइमा चासो र चर्चा बढेको थियो ।

Batas

सिर्जनशील युवा क्लबका पदाधिकारीसहितको टोलीले सोमबार कविशिरोमणिको जन्मघरसहित सङ्ग्रहालय परिसरमा सरसफाइ गरेको सिर्जनशील युवा क्लबका अध्यक्ष नीरज लामिछानेले बताए ।

‘लामो समयको बन्दाबन्दीका कारण छानामा झार पलाएको कविशिरोमणिको जन्मघरको फोटो विभिन्न सञ्चारमाध्यममा देखेसँगै तत्काल क्लबका पदाधिकारी स्वतःस्फूर्त त्यहाँ पुगी सरससफाइ गरेका हौं,’ उनले भने ।

कविशिरोमणिको जन्मस्थल अर्घौंं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै जन्मघरको संरक्षणका साथै सङ्ग्रहालय, तरुण तपसी उद्यान निर्माणलगायत कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

समितिले कविशिरोमणिको जन्मघरलाई पुरानै स्वरुपमा निर्माण गरेको छ । उनको बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी संग्रालय निर्माण गरिएको छ ।

कविशिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायत संरचना तथा उद्यान निर्माण गरिएका छन् । पृथ्वी राजमार्गको अर्घौंचोकस्थित कविशिरोमणिको शालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँठाउँमा उनले रचना गरेका उत्कृष्ट कविताका श्लोक सिंगमर्मरमा कुँदेर राखिएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.