www.tandavnews.com
Fact ~ In search of truth

छोटो म्युजिक भिडियोमा सिंगो कथा

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।

गायक तथा मोडल सुरेन्द्र लामिछाने र नायिका नम्रता सापकोटा अभिनित लोक दोहोरी गीत ‘पानीको छल्काले’ यही बिहीबार मात्रै सार्वजानिक भएको छ । झन्डै १० मिनेट लामो उक्त म्युजिक भिडियोले साइकलमा पत्रिका बेच्ने बितरक (हकर) र चिया पसल गरेकी एक युवतीको प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् । गीतमा समीक्षा अधिकारी र प्रसाद लामिछानेको स्वर रहेको छ । ‘केही फरक र नयाँ शैलीमा प्रस्तुत गर्न खोजेका हौं,’ लामिछाने भन्छन्, ‘कथामा आधारित भएर भिडियो मेकिङ लोक दोहोरीमा प्राय कम नै भेटिन्छ । त्यसैले पनि मौलिकता जोगाउँदै कन्सेप्ट र प्रस्तुतिमा ध्यान दिएर यो भिडियो तयार पारेका हौैं ।’

Batas

पछिल्लो समयमा बजारमा आएका केही गीतका भिडियोले कथा बोल्छन् । पाँच/दश मिनेटको गीतमा भाव अनुसार सिंगो कथा प्रस्तुत हुन थालेको छ । डान्सिङ गीत भन्दा पनि सेन्टिमेन्टल जनराका गीतहरुमा कथालाई बढी महत्व दिएको पाइन्छ ।

पहिला–पहिला गायक तथा निर्देशक नारायण रायमाझीले अडियो मै कथा भन्थे । सामाजिक घटनालाई गीतमा बुन्न सिपालु रायमाझीले ‘कार्गिलको युद्ध’ लगायत त्यो बेला बजारमा आएका अडियो गीतमा कथा भन्ने गर्थे । त्यही अडियोलाई क्यासेटमा सुनेर कति रुन्थे पनि । किनकी उनको गीत र कथामा समाजभित्रको कथा हुन्थ्यो । तर अहिले समय परिवर्तन भएको छ । अडियो रेकर्ड हुने बित्तिकै भिडियो बनाउनै पर्छ । भिडियो नबनाए गीत नै नचल्ने अवस्था छ । त्यसैले पनि भिडियोबाट गीतको भाव झल्काउने गरिन्छ ।

अहिले म्युजिक भिडियोमा कथा बढी नै खोजिन थालिएको छ । गीतको भाव अनुसार भिडियो तयार गर्नुपर्छ भन्दै केही कलाकारहरुले फिल्ममा प्रस्तुत गरिने कथालाई भिडियोमा उतारेका छन् । कथाप्रधान भिडियो कलाकारले रोज्न थालेपछि यसको आकर्षण बढेको निर्देशकहरु बताउँछन् । स्टोरी बेसका भिडियोले पनि लगानी उठाउने हुँदा यसमा लगानी गर्न कम्पनी र निर्माताहरु पनि रुचि देखिन्छन् ।

गीतको भिडियोमा मनोरञ्जनसँगै कथा भन्न खप्पिस मानिन्छन् लोक दोहोरी गायक, मोडल तथा निर्देशक प्रकाश सपुत । उनले ‘चरर बरर’, ‘बोल माया’ मा बैदेशिक रोजगारीको कथा र ‘बदला बरिलै’मा बलात्कारको कथा प्रस्तुत गरेका छन् । समाजमा छोरीलाई हेर्ने दृष्टिकोण र सत्ता, शक्ति र सम्पतिको पहुँचमा गरिने बलात्कारको विषयलाई तीजको लयमा बदला बरिलै गीत सार्वजानिक गरेका थिए । गीतलाई देवि घर्तिले गाएकी हुन भने केकी अधिकारीको अभिनयले पीडित चेलीको प्रतिनिधित्व गरेको छ ।

त्यस्तै म्युजिक भिडियो कम देखिने नायक विपिन कार्की अभिनित ‘डर छैन’ बोलको गीतले पनि भरियाको कथालाई समेटिएको छ । चलचित्रमा जुनसुकै भुमिकालाई जिवन्त राख्ने कार्की अभिनित म्युजिक भिडियो र उनको अभिनयको तारिख खुबै भयो । भिडियोमा विपिनले दिनभर काम गरेर छाक टार्ने र पैसा नहुँदा चामलै खाएर रात बिताउने एक भरियाको जीवन र आँखै अगाडि सहकर्मीको ज्यान जाँदा पनि अन्तिम संस्कारमा सहभागी हुन नसकेको पीडालाई देखाएको छ । उनको अभिनय हेर्दा २ घन्टाको चलचित्रलाई पर्दामा हेरे जस्तो अनुभुति हुन्छ । निकेश खड्काले भिडियोलाई निर्देशन गरेका हुन् ।

अभिनेता मुकुन भुसाल र अभिनेत्री सुरविना कार्की अभिनय रहेको ‘के माया लाग्छ र’ गीतको भिडियो पनि विशेष छ । मौलिक पहिरन र ग्रामीण भेगको जनजीवनमा आधारित प्रेमकथा समेटिएको भिडियोलाई औधी रुचाइयो । केही समय पहिले आएको ‘परानै दिन्छु’ ले पनि राम्रो प्रतिक्रिया पाएको थियो । दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित भिडियोमा प्रस्तुत गरिएको कथालाई रुचाइएको थियो । त्यस्तै, ‘जेल पनि सहुँला’, जाउँला रेलैमा, देखेर तिमीलाई’ लगायत गीतहरुमा मौलिकता भेटिएको भएरै आम दर्शकश्रोताको रोजाइ र रुचीमा छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.